कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

२०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने सरकारको तयारी 

१ महिनाभित्रै पर्यटकीय स्थलहरुमा राष्ट्रिय सरसफाइ एवम् रङ्ग, रोगन अभियान चलाइने

काठमाडौँ — सरकारले सन्  २०२३ देखि २०३३ सम्म नेपाल भ्रमण दशक घोषणा गर्ने तयारी गरेको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो । पर्यटनमन्त्री जीवनराम श्रेष्ठले कार्यभार सम्हाल्ने क्रममा पर्यटन क्षेत्रको  ‘रिकोभरी प्लान’ ल्याउने निर्णय अनुसार आइतबार कार्ययोजना सार्वजनिक गरे ।

२०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने सरकारको तयारी 

७३ बुँदे कार्ययोजना प्रस्तुत गर्दै उनले भने ‘विगतमा नेपालले भ्रमण वर्ष भनेर पर्यटन प्रवर्द्धनको काम गर्ने गरेको थियो । तर यो वर्षबाट हामीले दशकलाई नै पर्यटन वर्ष मनाउनेगरी पर्यटन दशक भनेर मनाउने सोच अगाडि बढाएका छौं । यो पर्यटन प्रवर्द्धन, पर्यटन विकासको अभियान हो । एक दिनमा वा एक वर्षमा कार्य सम्पन्न हुने कुरा होइन । निरन्तर रुपमा हामीले लैजानुपर्छ ।’ मन्त्री श्रेष्ठले सरकारले नेपाललाई विश्वको एक पर्यटन आगमनको केन्द्र बनाउनेगरी काम गर्ने तयारी गरेको बताए । नेपाल भ्रमण दशक घोषणा मन्त्रालयको मात्रै नभई सरकारको कार्ययोजना भएको उनले बताए । भ्रमण दशकबारे प्रधानमन्त्री शेरबहादुर देउवासमेत सकारात्मक रहेको उनको भनाइ छ ।

मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलले सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक तीन महिनाभित्र घोषणा गरिसक्ने गरी तयारी गरिएको बताए । उनले पर्यटन क्षेत्रमा अनवरत योगदान गर्ने व्यक्तिहरुलाई सम्मानस्वरुप परिचय पत्र दिने कार्ययोजना बनाएको पनि बताए । सहसचिव लुइँटेलले नेपालमा विदेशी चलचित्र छायाङ्कनको लागि विदेशी चलचित्र निर्माता र कलाकारहरुलाई आकर्षण गर्ने विभिन्न सहुलियतहरुको व्यवस्था गरिने बताए ।

मन्त्रालयले कोरोना महामारीबाट सिथिल बनेको पर्यटन क्षेत्र पुनरुत्थानको लागि गैरआवासीय नेपाली संघको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ अभियान’ समेत चलाउने घोषणा गरेको छ । मन्त्रालयले हिमाल आरोहणको लागि ५ हजार ८ सय मिटरदेखि ८ हजार मिटरसम्मका थप हिमचुलीहरुको आरोहण ६ महिना भित्र खुला गर्ने तयारी गरेको छ । प्रयोगमा नआएका विमानस्थललाई वैकल्पिक प्रयोगमा ल्याइने घोषणा समेत मन्त्रालयले गरेको छ । काठमाडौं उपत्यकाभित्र रात्रिकालीन पर्यटनको प्रारम्भ र प्रवर्द्धन गर्न रात्रिकालीन सम्पदा यात्रा आगामी दुई वर्षभित्र सञ्चालन गर्ने तयारी रहेको मन्त्रालयले जनाएको छ । क्लिन नेपाल, ग्रिन नेपालको अवधारणा अन्तर्गत प्रदेश, स्थानीय सरकार, नागरिक समाज र निजी क्षेत्रसँग सहकार्य गरी महत्त्वपूर्ण पर्यटकीय स्थलहरुमा राष्ट्रिय सरसफाइ एवम् रङ्ग, रोगन अभियान एक महिनामै चलाउने घोषणा गरेको छ ।

प्रकाशित : श्रावण ८, २०७९ १४:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×