कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११८

नेपाली मुद्रा इतिहासकै कमजोर

काठमाडौँ — अमेरिकी डलरको भाउ निरन्तर उकालो लागेपछि नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ । राष्ट्र बैंकका अनुसार शुक्रबार एक अमेरिकी डलरका लागि १२८.११ रुपैयाँ तिर्नुपर्ने भएको छ । यो हालसम्मकै उच्च हो । ०७८ असार मसान्तको तुलनामा ०७९ असार २७ मा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ७ प्रतिशतले अवमूल्यन भएको राष्ट्र बैंकले जनाएको छ ।

नेपाली मुद्रा इतिहासकै कमजोर

पछिल्ला दिनमा हरेक दिन अमेरिकी डलरको विनियम दर बढिरहेकाले नेपाली मुद्राको भाउ घटिरहेको राष्ट्र बैंकको तथ्यांक छ । डलरको भाउ बढिरहेकाले आयात महँगो हुँदै गएको र त्यसको असरले नेपाली बजारमा मूल्यवृद्धि बढाएको राष्ट्र बैंकको निष्कर्ष छ । ‘पछिल्लो समय अमेरिकी डलरसँग भइरहेको नेपाली मुद्राको अवमूल्यनले मुद्रास्फीति नियन्त्रणमा चुनौती थप्ने जोखिम छ,’ गत सोमबार संघीय संसदन्तर्गत अर्थसमितिमा गभर्नर महाप्रसाद अधिकारीले प्रस्तुत गरेको प्रतिवेदनमा यस्तो उल्लेख छ । यस्तै गत असारको तुलनामा गत जेठसम्म अमेरिकी डलरसँग नेपाली रुपैयाँ ४.४३ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ३.२२ प्रतिशतले अधिमूल्यन भएको थियो ।

यसअघि गत बुधबारका लागि राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १ सय २७.३० पैसा तोकेको छ । यो क्रम बढ्दै जाँदा बिहीबार १२७.७२ रुपैयाँ पुगेको विनिमय दर शुक्रबार १२८ रुपैयाँ नाघेको हो । पछिल्ला केही महिनायता विश्व बजारमा अमेरिकी डलरको माग बढ्दा त्यसको असर भारतीय मुद्रा (भारु) हुँदै नेपाली मुद्रासम्म आइपुगेको हो । केही महिनायता अमेरिकी अर्थतन्त्रलाई अनेक कोणबाट विश्लेषण गरिन थालेको छ । त्यहाँ मूल्यवृद्धि पछिल्लो ४ दशकयताकै उच्च बिन्दुमा छ भने ब्याजदर पनि बढिरहेको छ । यही समयमा विश्व बजारमा डलरको भाग बढिरहेको ‘डलर इन्डेक्स’ मा देखिएको सुधारले पुष्टि हुने जानकारहरू बताउँछन् ।

नेरु र भारुबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । अहिले पनि त्यही भएको हो । सोमबार साँझ ७ बजे (नेपाली समय) सम्म एक अमेरिकी डलरको विनिमय दर भारु ७९.८८ पुगेको छ । अमेरिकी डलरको तुलनामा भारु कमजोर भएको यो पनि हालसम्मकै उच्च हो ।

डलर बलियो बन्दा नेपाललाई लाभ पनि हुन्छ । हालको अवस्थामा सबैभन्दा बढी फाइदा रेमिट्यान्स आप्रवाहमा पर्छ । डलर बलियो हुँदा एकातिर

रेमिट्यान्स आप्रवाह (मुलुक भित्रिने रकम) बढ्छ भने अर्कोतिर रेमिट्यान्स पठाउनेको संख्या पनि तीव्र हुन्छ । डलर बढेको समयमा फाइदा पुग्ने भएकाले विदेशमा रहेका नेपालीले ठूलो मात्रामा रेमिट्यान्स पठाउँछन् । डलर बलियो हुँदा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा पनि सकारात्मक प्रभाव पार्छ । यसरी रेमिट्यान्स र एफडीआईमा आएको सुधारले मुलुकको भुक्तानी सन्तुलन बचतमा राख्न ठूलो मद्दत पुग्छ । नेपालले पर्यटन र निर्यातमा राम्रो सुधार गरेर पनि डलर बलियो हुनुको लाभ लिन सक्थ्यो । अहिले तत्काल पर्यटक बढ्ने र निर्यात बढाउने सम्भावना पनि छैन । नेपालका ती सबै क्षेत्र कमजोर छन् । यसकारण डलरको मूल्य बढ्दा पनि नेपालले ती क्षेत्रबाट अपेक्षित रूपमा लाभ लिन सक्ने अवस्था छैन ।

यसकारण नेपाललाई डलरको भाउ बढ्दा नाफाभन्दा बढी नोक्सान भइरहेको छ । विदेशी मुद्रा भित्र्याउने माध्यम अपेक्षित रूपमा सुधार हुन नसक्दा यति बेला मुलुकले ठूलो नोक्सानी बेहोरिरहेको छ । सबैभन्दा बढी नोक्सानी वस्तु तथा सेवाको आयातबापतको भुक्तानीमा हुन्छ ।

आयात बढ्दो गतिमा रहेकाले त्यसबापत भुक्तानी गर्नुपर्ने दायित्व पनि बढिरहेको छ । नेरु कमजोर हुँदा वैदेशिक ऋण लगानी भुक्तानीको दायित्व बढ्छ । विदेशबाट लिएको ऋणको साँवा ब्याज भुक्तानीका लागि पनि धेरै रकम तिर्नुपर्छ । विदेशमा औषधोपचार, अध्ययन, भ्रमणलगायतमा जानेहरूको लागत महँगो पर्छ । निरन्तर नेरु कमजोर बन्दै जाँदा भुक्तानी दायित्व बढ्ने मात्र नभएर स्वदेशी मुद्राप्रतिको विश्वासमा पनि कमी आउँछ । पछिल्ला वर्षहरूमा नेपालको व्यापार घाटा निरन्तर रूपमा बढिरहेकाले डलरको भाउ बढ्दा मुलुकलाई आयात महँगो पर्न गएको छ भने विदेशी ऋणको साँवा र ब्याज भुक्तानीको लागत पनि बढेको छ ।

प्रकाशित : असार ३१, २०७९ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×