कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘नानो युरिया’ ले किसानलाई राहत

पाँच सय एमएलको बोतलमा पाइने झोल नानो युरियाले एक बोरा दाना युरियाको काम गर्ने
विनोद भण्डारी

विराटनगर — रासायनिक मलको चरम अभाव भइरहेका बेला दाना युरिया मलको विकल्पमा नानो युरिया (झोल) पाइन थालेपछि किसानलाई राहत पुगेको छ । इन्डियन फार्मर्स एन्ड फर्टिलाइजर कोअपरेटिभ कम्पनी (इफको) ले उत्पादन गरेको उक्त युरिया झोल नेपाली बजारमा उपलब्ध हुन थालेको हो ।

‘नानो युरिया’ ले किसानलाई राहत

पाँच सय एमएलको बोतलमा पाइने झोल नानो युरियाले एक बोरा दाना युरियाको काम गर्ने बताइएको छ । यो झोल युरियाको गुणस्तरबारे नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले परीक्षण गरेर सरकारलाई प्रतिवेदन बुझाएपछि तीन महिनाअघि सरकारले आयात अनुमति दिएको हो ।

विराटनगरको व्यावसायिक साझेदार नेपाल मल्टी ट्रेड सेन्टरले नानोको आयात सुरु गरेको छ । एक बोरा अनुदानको युरिया मललाई किसानले कम्तीमा ९ सय तिर्दै आएका छन् । चार सयमा पाइने ५ सय एमएलको झोल नानोले एक बोरा दाना युरियाको काम गर्छ । यस पटक मुलुकभर धान खेतमा यसको परीक्षण गराइने आयातकर्ता राकेश सुरानाले जनाए । यसअघि भने चोरी तस्करीबाट किसानले नानो आयात गर्ने गरेको बताइन्छ ।

विराटनगर रानीको बञ्जरा एग्रो फार्मले किसानको खेतमा शुक्रबार यसको प्रयोग गर्‍यो । ‘विगतमा सीमापारिबाट ल्याएर खेतमा प्रयोग गर्दा बालीमा राम्रो परिणाम आएको थियो,’ फार्म सञ्चालक किसान खेम पौडेलले भने, ‘यसपालि आफ्नै पसलमा आइपुगेको झोल युरिया यहाँका सबै किसानले धान खेतमा प्रयोग गर्दै छन् ।’ उक्त झोल विश्वका धेरैजसो मुलुकमा पहिलादेखि नै प्रयोग हुँदै आएको सफल मल हो । अरू मुलुकमा डीएपी मलको पनि झोल पाइन्छ, त्यसलाई पनि आयात गर्ने प्रबन्ध मिलाउने हो भने किसानलाई मलको झन्झट नहुने पूर्ववरिष्ठ कृषि प्रसार अधिकृत राजेन्द्र उप्रेतीले जनाए । युरियाको झोल उत्पादन गर्ने इफको भारतको सहकारी संस्था हो । उक्त सहकारीमा भारतका ४ करोड १२ लाख किसान सदस्य रहेको आयातकर्ता सुरानाको दाबी छ । पाँच वर्षसम्म गरिएको गुणस्तर परीक्षणपछि भारतले यसलाई विश्व बजारमा पठाउन सुरु गरेको सुराना बताउँछन् ।

एक लिटर पानीमा पाँच एमएल नानो झोल युरिया मिसाएर बालीमा स्प्रे गर्नुपर्छ । धान रोपेको ३० दिन र फूल लाग्नुअघि दोस्रो पटक स्प्रे गर्दा उब्जनी राम्रो भएको भारतीय अध्ययनले देखाएपछि नेपालका लागि पनि आयात सुरु गरिएको सुरानाले जनाए । पहिलो लटमा ३० हजार बोतल आयात भएको थियो । ‘माग बढ्दो छ,’ उनले भने, ‘भारतीय किसानले पाउने मूल्यमा यहाँका किसानलाई पनि नानो उपलब्ध गराइएको छ ।’

प्रकाशित : असार २७, २०७९ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?