कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खर्कमा ‘भुटानी ज्वाइँ’

एउटै परिवारका भाले लगाउँदा सन्तान नफस्टाउने भएकाले बाहिरबाट ल्याएर नश्ल सुधार प्रयास
लक्ष्मी गौतम

पाँचथर — छुम्बाक फेदी समुन्द्री सतहबाट ५ हजार मिटर उचाइमा पर्छ । जहाँ किसानले ५० वटा निक्खर चौंरी (डी) भेला पारेका छन् । त्यो बगालका चौंरीलाई दुई वटा याक जतिबेला पनि पछ्याइरहन्छन् । यो खर्कमा रैथाने याक प्रवेश गर्न निषेध छ । चौंरीले संकेत नगरेसम्म याक अगाडि बढ्दैन तर जिस्क्याउन र पछ्याउन भने दुवैमा प्रतिस्पर्धा भइरहन्छ ।

खर्कमा ‘भुटानी ज्वाइँ’

कुनै डीले शारीरिक सम्पर्क राख्ने संकेत गरेमा दुईवटा याकको स्वार्थ बाझिन्छ, अनि बेस्सरी जुध्न थाल्छन् । यसरी जुध्दा छुट्याउन मान्छेकै आवश्यकता पर्छ, नत्र हार्ने भाग्छ, जित्नेले पूर्ववत् रुपमा तयार डीसँग यौनक्रीडा गर्छ । ठूलाे बथानसँग डुलिरहने याक नश्ल सुधारका लागि भुटानबाट ल्याइएका हुन् । रैथाने भाले लगाउँदा गोठका चौंरी फस्टाउन छाडेपछि यी याक नश्ल सुधारका लागि ३ वर्षअघि भुटान सरकारले उपहारमा दिएको हो ।

भुटानबाट ल्याइएकाले यिनलाई ग्वालाहरुले ‘भुटानी ज्वाइँ’ भनेर नामकरण गरिदिएका छन् । ०७७ फागुनमा ल्याइएका यी भाले याक वयस्क भएसँगै यहाँका चौरीपालक किसानमा उत्साह छ । फालेलुङका ३० जनाले 'फालेलुङ चौरी कृषक समूह' गठन गर्दै सामूहिक चौंरी पाल्न थालेका छन् । उनीहरू पछिल्लो समय सिक्किम, ताप्लेजुङ र पाँचथरका गोठबाट भेला पारेका डीसँग ‘भुटानी ज्वाइँ’ हरुको सहवास गराएर असली चौंरीका सन्तान बढाउने ध्याउन्नमा छन् ।

छुम्बाक फेदी ताप्लेजुङको सिरिजंगा–८ मा पर्छ । ‘ज्वाइँहरु गत वर्ष सक्रिय भएपछि तिनको संसर्गबाट जन्मेका १० वटा बाच्छाबाच्छी हुर्किंदै छन्, यो सिजन ५० वटा डीमा मिसाउने योजना छ । यहाँ भेला पारिएका डीसँग रैथाने याकको सहवास नहोस् भनेर एकान्त ठाँउमा ल्याइएको हो,’ फालेलुङ चौंरीपालक किसान समूहका अध्यक्ष थर्कमान गुरुङले भने । त्यही भएर छुम्बाक फेदी खर्कमा रैथाने याकलाई प्रवेश निषेध गरिएको उनी बताउँछन् ।

यहाँका सबै पोथी याकले गर्भधारण गरेपछि ‘भुटानी ज्वाइँ’ लाई अन्य गोठ र खर्कका चौंरीसँग मिसाएर राखिने छ । बाच्छाबाच्छी बढ्दै गएपछि पुनः बिउ याक प्रतिस्थापन गर्ने उनीहरुको योजना छ । ‘भुटानी ज्वाइँसँग अहिलेको पुस्ताका डीसँग मिसाएर उनीहरुका सन्तानमा पुनः लसपस हुन दिइएन भने नश्ल सुधार पक्का छ,’ चौरीपालक कृषक महासंघका सचिवसमेत रहेका स्थानीय अगुवा चौंरीपालक चन्द्रलाल नेपाल भन्छन्, ‘यसरी जन्मेका बाच्छाबाच्छी देशभरका खर्कमा पुर्‍याउने लक्ष्य छ ।’

मुलुकका उच्च पहाडी र हिमाली क्षेत्रबाट चौंरीपालन व्यवसाय लोप हुन थालेपछि प्रवर्द्धनका लागि पाँचथरको फालेलुङ–४ चाररातेमा गाउँपालिकाले आयोजना गरेको पहिलो अन्तर्राष्ट्रिय चौंरी महोत्सव ०७४ मा भुटानबाट आएका प्राविधिकले नश्ल सुधारको आवश्यकता औंल्याएका थिए । उनीहरुले नेपाललाई बिउ याक उपहार दिने इच्छा व्यक्त गरेसँगै ‘भुटानी ज्वाइँ’ ल्याउने प्रक्रिया सुरु भएको थियो ।

गाउँपालिकाको प्रस्ताव, नेपाल सरकार कृषि तथा पशुपन्छी मन्त्रालय मातहतको पशु सेवा विभाग र कञ्चनजंघा भू–परिधि विकास पहलको सहजीकरणमा २०७७ फागुनमा ती याक नेपाल ल्याइएको हो । भुटानको हाइल्यान्डबाट भारतको दार्जिलिङ हुँदै पिकअपमार्फत फालेलुङ ल्याउन ३ दिन लागेको थियो । त्यतिबेला करिब डेढ वर्ष उमेरका ती याकले वयस्क भएसँगै गत वर्षदेखि चौंरीसँग संसर्ग गर्न थालेका हुन् । चौंरीको खास प्रजातिलाई ‘डी’ भनिन्छ । यिनको मूल्य एक लाख रुपैयाँसम्म पर्छ । भुटानी ज्वाइँसँग सहवास गराइएका डीबाट जन्मेका बाच्छाबाच्छीमा नश्ल सुधार भई दूध र आम्दानी दुवै बढ्ने पशु चिकित्सकहरुले बताएका छन् ।

प्रकाशित : असार २६, २०७९ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?