कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

भारत निर्यात हुन थाल्यो तानसेन सिमेन्ट

पाल्पा — पाल्पा सिमेन्ट इण्डष्ट्रिजबाट उत्पादन भएको तानसेन ब्राण्डको तयारी सिमेन्ट शुक्रबारदेखि भारत निर्यात हुन थालेको छ । पहिलो पटक ३ हजार बोरा तयारी सिमेन्ट भारत पठाइएको छ । दैनिक कम्तीमा ५ हजार बोरा पठाउन सकिने पाल्पा सिमेन्ट उद्योगले जनाएको छ । बजेटमार्फत सरकारले निकासीको वातावरण बनाएपछि पाल्पा सिमेन्ट उद्योगले आफ्नो उत्पादन भारत निकासी सुरु गरेको हो । 

भारत निर्यात हुन थाल्यो तानसेन सिमेन्ट


नवलपरासी पश्चिमस्थित सुनवल नगरपालिकाकी नगरप्रमुख विमला अर्याल, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, उद्योगका निर्देशक शेखर अग्रवाल, प्रमुख कार्यकारी अधिकृत अतुल डाल्मिया, जनसम्पर्क प्रमुख जीवन निरौलाले तयारी सिमेन्ट भारत निकासीको सुरुवात गरे । उद्योगको सिमेन्ट उत्पादन क्षमता दैनिक ३ हजार टन छ । यस्तै यहाँबाट क्लिङकर दैनिक कम्तीमा १ हजार ८ सय टन उत्पादन हुन्छ । प्रमुख कार्यकारी अधिकृत डाल्मियाले दैनिक २ सय ५० टन (५ हजार बोरा) तयारी सिमेन्ट भारत निकासी हुने बताए ।

‘हामीले त्यहाँबाट आउने माग अनुसार भारत निकासी गर्ने छौं,’ उनले भने, ‘अहिले जुन सुरुवात भएको छ यसले मुलुकलाई फाइदा नै गर्नेछ ।’ दैनिक ३ हजार टन सिमेन्ट उत्पादन क्षमता भएपनि बजारको माग अनुसार २ हजारदेखि २ हजार २ सय टनसम्म उद्योगमा सिमेन्ट उत्पादन भइरहेको जनसम्पर्क अधिकृत निरौलाले जानकारी दिए । उद्योग पाँच वर्ष पहिला स्थापना भएको हो । तीन वर्ष पहिलाबाट तानसेन ब्राण्डमा सिमेन्ट बजारमा छ । यसले ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको उनले बताए । ‘उत्पादन सुरु गरेर बजारमा जानासाथ विश्वव्यापी कोरोनाको चपेटाले सुरुमा केही अड्चन आए पनि उक्त समयमा समेत उद्योगले माग बमोजिम धेरैजसो जिल्लामा सिमेन्ट पठाउन सफल भएको थियो,’ प्रमुख कार्यकारी अधिकृत डाल्मियाले भने। उद्योगको पाल्पास्थित माथागढी गाउँपालिका–७, रहबासमा आफ्नै चुनढुङा खानी छ । उद्योगले हरेक समस्याका बाबजुद गुण्स्तरीय सिमेन्ट उत्पादन गर्दै बजारमा उल्लेख्य उपस्थिति राख्न सफल भएको दाबी उनले गरे । उत्पादनको छोटो अवधिमै पाल्पा सिमेन्टले आफ्नो उत्पादनलाई भारत निकासी गर्न सफल भएको प्रमुख कार्यकारी अधिकृत डाल्मियाले बताए ।

‘सरकारी सहयोग, उपभोक्ताको विश्वास र उत्पादनको गुणस्तर नै सफलताको प्रमुख कारण हो,’ उनले भने । गुण्स्तरमा कुनै सम्झौता नगर्ने र जनता माझ अहिलेसम्मको विश्वासलाई जोगाएर निरन्तर अगाडि बढने कम्पनीका निर्देशक अग्रवालले बताए । उद्योगका लागि धेरै समस्या भने अहिले पनि रहेको उनले बताए । भरपर्दो पर्याप्त विद्युतको अभाव, कच्चा पदार्थको समस्या, विभिन्न अल्पकालीन नीति नियम, आर्थिक समस्या रहेको उनले बताए । दक्ष प्राविधिकको अभाव, अप्रत्यक्ष कर र रोयल्टी, उच्च उत्पादन लागत जस्ता अनेकन औद्योगिक समस्या रहेको उनले बताए ।

सिमेन्ट उद्योगले आफ्नै मुलुकको चुनढुंगा प्रयोग गरेर गुणस्तरमा सम्झौता नगरी निर्यातको अवस्थामा आइपुगेको उनले बताए । ‘यसले नेपाली सिमेन्ट मात्र नभई समग्र अर्थतन्त्रलाई चलायमान बनाउनेछ,’ उनले भने, ‘नेपाली सिमेन्ट पनि अन्तर्राष्ट्रिय बजारमा स्थान लिन योग्य छन् भन्ने सन्देश दिनेछ ।’ उनले सिमेन्टको सम्भाव्यतालाई सदुपयोग गर्ने हो भने विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत बन्ने बताए । साथै रोजगारी सृजना गर्न र विकासलाई गति दिनका लागि निर्यातयोग्य वस्तुहरूको लामो खडेरी अन्त्य गर्न सक्छ भन्ने विश्वास रहेको उनले बताए । मुलुकमा ५० भन्दा धेरै सिमेन्ट उद्योग सञ्चालनमा छन् । तीमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिंकर दुवै उत्पादन गर्दै आएका छन । यी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता झण्डै २ करोड २० लाख टन रहेको अनुमान छ ।

उत्पादनको मात्रा अहिलेको आन्तरिक मागभन्दा बढी छ । सरकारले २०७२ को भूकम्पपछि पुनर्निर्माणका कामलाई तीव्रता दिँदा पछिल्ला केही वर्षमा सिमेन्ट उद्योगले तीव्र व्यापार गरेको उनले बताए । विगत सात वर्षमा भूकम्पबाट क्षति भएका ५ लाखभन्दा बढी निजी घर र हजारौं विद्यालय भवन, सम्पदा स्थल, स्वास्थ्य चौकी र अन्य संरचनाको पुनर्निर्माण गरिएको छ । यी पुनर्निर्माण गतिविधिहरूले सिमेन्टको मागलाई गति दिएको उनले बताए । सिमेन्ट उद्योगहरूले आफ्नो क्षमता बढाएर मागको वृद्धिलाई सम्बोधन गर्ने कोसिस गरेको उनले दाबी गरे । ‘निर्यात सम्भावना बोकेको सिमेन्टलाई नजिकको छिमेकी बजार भारत निकासीका लागी सरकारले प्रवद्र्धन गर्नुपर्छ,’ उनले भने ।


प्रकाशित : असार २४, २०७९ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?