२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

नागढुंगा–सिस्नेखोला सुरुङ निर्माणसँगै नेपाली जनशक्ति तयार

जापानी प्राविधिकसँग काम गरेका नेपाली जनशक्तिले अब अन्य आयोजनामा पनि नेतृत्व लिन सक्ने
विमल खतिवडा

काठमाडौँ — सुरुङ निर्माण जस्तो कठिन एवं चुनौतीपूर्ण कामका लागि नेपालमै जनशक्ति तयार भएका छन् । ०७६ कात्तिकबाट निर्माण सुरु भएको नागढुंगा–सिस्नेखोला सुरुङमा काम गरेर उनीहरू दक्ष भएको आयोजनाले जनाएको छ । अहिलेसम्म डेढ सय जनशक्ति तयार भइसकेको पनि आयोजनाले प्रस्ट्याएको छ ।

नागढुंगा–सिस्नेखोला सुरुङ निर्माणसँगै नेपाली जनशक्ति तयार

‘सुरुङ निर्माण जटिल काम हो,’ आयोजना प्रमुख नरेशमान शाक्यले भने, ‘सडक सुरुङमा यस्ता जनशक्ति थिएनन्, हाइड्रोपावरमा मात्र थिए, अब बन्ने सडक सुरुङमा नेपाली जनशक्ति प्रयोग हुनेछन् ।’ सुरुङसम्बन्धी विषय अध्ययन गरे पनि नेपाली जनशक्तिलाई कसरी ड्रिलिङ गर्ने, ब्लास्ट कसरी गर्ने आदि जानकारी त्यति थिएन । तर अब सुरुङ इन्जिनियर, भूगर्भविद् र सिभिल इन्जिनियर सुरुङ निर्माणमा दक्ष भएको शाक्यले जनाए । ‘उनीहरूले सुरुङभित्र ढलानको काम कसरी गर्न सकिन्छ, निर्माणमा केमिकल कसरी प्रयोग गर्नेलगायत विषयबारे राम्रो जानकारी हासिल गरेका छन्,’ उनले भने ।

नेपालमा यसअघि हाइड्रोपावरमा सुरुङ निर्माण गरिए पनि सडक सुरुङ नबनाइएको उनको दाबी छ । जसले गर्दा त्यति धेरै जनशक्तिको आवश्यकता परेन । अहिले नेपालमा २३ वटा सुरुङ अध्ययनका क्रममा छन् । सिद्धबाबा सुरुङमार्गको ठेक्का सम्झौता भएर निर्माण प्रक्रिया अघि बढाइएको छ । तयार भएका जनशक्तिलाई अब बन्ने सुरुङमा लगाउन सकिने शाक्यको भनाइ छ ।

अहिले नेपालमा सुरुङसम्बन्धी पढाइ हुन थालेको छ । पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पोखरामा गत वर्षबाट यसको मास्टर्स तहको पढाइ सुरु गरिएको छ । आगामी वर्षबाट काठमाडौं विश्वविद्यालयले पनि यो विषय पढाउने जनाइएको । ‘मैले सिभिल इन्जिनियरिङमा बीई र जियो टेक्निकलमा मास्टर्स गरेको हुँ,’ शाक्यले भने, ‘पहिला सुरुङसम्बन्धी पढेको हुँ । तर प्रयोगात्मक अभ्यास गरेको थिइनँ । अहिले सुरुङ निर्माणबारे धेरै कुरा थाहा पाएँ । तालिम तथा गोष्ठीमा सुरुङ निर्माणबारे जानकारी दिन मलाई निम्तो आउन थालेको छ ।’

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सबैलाई सिक्ने अबसर भएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापा बताउँछन् । ‘सुरुङ निर्माणसँगै जापानी प्रविधि हस्तान्तरण भएको छ । यसमा प्रत्यक्ष संलग्न भएर नेपाली प्राविधिकले काम गर्ने अबसर पाएका छन्,’ उनले भने, ‘सब कन्ट्र्याक्टरका रुपमा नेपाली निर्माण व्यवसायीले काम गरिरहेका छन् ।’ मेगाटेक कन्स्ट्रक्सन र स्वच्छन्द निर्माण सेवाले जापानी निर्माण कम्पनी हाज्मा एन्डोका प्राविधिकको निगरानीमा काम गरिरहेको थापाले जनाए । ‘सबै कामदार नेपाली छन्, ८ जना नेपाली इन्जिनियरले अहिले पनि काम गरिरहेका छन्,’ उनले भने, ‘नेपाली कामदारका लागि यो सिक्ने अबसर हो ।’ अहिले निर्माणमा ५ सय ४० जना कामदार कार्यरत छन् । जापानी र फिलिपिन्सका प्राविधिक भने २४ जना छन् ।

‘यस सुरुङमा काम गरेपछि नेपाली निर्माण व्यवसायीले विदेशी प्राविधिकको सहयोगबिनै सडक सुरुङ बनाउन सक्छौं भनेका छन्,’ महानिर्देशक थापाले भने, ‘नारायणगढ–मुग्लिङ सडकखण्डमा सुक्खा पहिरो जाने समस्या रहेको दुईवटा ठाउँमा सुरुङ बनाउन सक्छौं भन्दै सडक विभागमा आइडिया लिएर आएका छन् ।’ यसबारे छलफल जारी रहेको उनको भनाइ छ । पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्रोफेसर र विद्यार्थी प्रयोगात्मक अभ्यासका लागि सुरुङमार्गमा आउने गरेको पनि उनले सुनाए । सब कन्ट्र्याक्टर मेगाटेक कन्स्ट्रक्सनले सुरुङमार्गभित्र निर्माणको काम गर्दै आएको छ । फ्लाईओभर, अप्रोच सडकलगायत बाहिरी संरचना निर्माण भने स्वच्छन्दले गरिरहेको छ ।

सुरुङ आयोजना निर्माण समय १० महिना बाँकी छँदा यसको भौतिक प्रगति ३९ प्रतिशत छ । मुख्य र आपत्कालीन सुरुङसहित कुल ५ दशमलव ४९९ किमिमध्ये अहिलेसम्म ३ दशमलव ०७२ किमि खनिसकिएको छ । कोभिडले असर गरेको भन्दै ८६ दिन म्याद थप गरिएको छ । कोभिडकै कारण समस्या भएको भन्दै अन्य आयोजनाले भने १ वर्षको म्याद थप पाएका छन् । जसले एक वर्ष म्याद थप पाएका छन्, तिनमा प्रगति छैन । तर हाज्माले भने काममा असर गरेको दिनको मात्र समय थप पाएको बताएको छ । अहिले निर्माण व्यवसायीको निर्माण होलिडे भइरहँदा यो सुरुङको काम रोकिएको छैन । प्रतिदिन फिल्डमै कामको समीक्षा हुने गरेको र भोलिपल्ट कसरी काम गर्ने भनेर अघिल्लो दिन नै निर्णय हुने गरेको प्रमुख शाक्यले जानकारी दिए । ‘आयोजनाको काम दुई सिफ्टमा भइरहेको छ,’ उनले भने, ‘आगामी वैशाखभित्र सुरुङ खन्ने काम सकिने छ, कुनै समस्या नआए ०८० साउनमा सुरुङबाट गाडी चल्नेछन् ।’ मुआब्जाको सबै समस्या समाधान हुने अवस्थामा रहेको उनको दाबी छ । निर्माणमा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ । ठेक्का भने साढे २२ अर्ब रुपैयाँको हो । यसमा ६ अर्ब रुपैयाँ नेपाल सरकारको छ ।

सुरुङ बनेपछि साढे ७ किमि सडक छोटिँदा नागढुंगा उकालोमा हुने सवारी जामको समस्याबाट यात्रुले छुटकारा पाउनेछन् । सुरुङबाट मोटरसाइकल, पेट्रोलियम पदार्थ बोकेका ट्यांकर, ग्यास बुलेटहरूले भने आवतजावत गर्न पाउने छैनन् ।

प्रकाशित : असार २३, २०७९ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?