कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘लगानी वातावरण बनोस्, परियोजना ल्याउँछौं’

बैंकबाट ऋण निकासी सहज नहुँदा व्यवसाय धरापमा परेको गुनासो
गण्डकीले गौरव गर्न सक्ने ‘मेगा प्रोजेक्ट’ ल्याइदिन लगानीकर्तालाई मुख्यमन्त्रीको आग्रह
दीपक परियार

पोखरा — तीनवटै तहका सरकारले सहयोग गर्ने नीति ल्याउने हो भने गण्डकी प्रदेशमा ठूलो परियोजनामा लगानी गर्ने व्यवसायीले बताएका छन् । प्रदेशको पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले शनिबार लुम्लेमा गरेको उद्यमी लगानीकर्ता सम्मेलनमा लगानीका लागि अनुकूल वातावरण तयार गरिदिन व्यवसायीले आग्रह गरे । नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकीको समन्वयमा भएको सम्मेलनमा सरकारले सहायता गर्ने नीति ल्याए ठूला लगानीकर्तासँग परियोजना बैंक तयार रहेको बताए ।

‘लगानी वातावरण बनोस्, परियोजना ल्याउँछौं’

गण्डकीसहित विभिन्न प्रदेशका उद्यमी लगानीकर्ता सहभागी सम्मेलनमा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीका थुप्रै क्षेत्र व्यवसायीले देखिरहेको दाबी गरे । ‘प्रत्यक्ष वैदेशिक लगानी वा आन्तरिक लगानीलाई राज्यका तर्फबाट हरेक हिसाबले सहजीकरण गर्ने वातावरण बन्नुपर्छ,’ उनले भने, ‘छोटो समयमा धेरै लगानी आकर्षित गर्न सकिन्छ । धेरै परियोजना गण्डकीमा ल्याउन सकिन्छ ।’

मलेसियामा निजी क्षेत्रले गरेको लगानीलाई सरकारले आफ्नै ठानेर सहयोग गर्दा त्यहाँको अर्थतन्त्रले फड्को मारेको अनुभव उनले सुनाए । सार्वजनिक–निजी साझेदारीअन्तर्गत स्थानीय तहसँगको सहकार्यमा साना, मझौला घरेलु उद्योग सञ्चालन गर्न सकिने महासंघका पूर्वअध्यक्ष एवं सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष चण्डीराज ढकालको भनाइ छ । कृषिको व्यवसायीकरण, पूर्वाधार विकास र पर्यटनमा समेत सरकार र निजी क्षेत्रबीच साझेदारी हुन सके स्थानीय आर्थिक विकासमा टेवा पुग्ने उनी बताउँछन् । ‘गण्डकी प्रदेशमा तुलनात्मक रूपमा युवाको जनसंख्या धेरै छ,’ उनले भने, ‘युवाशक्ति नै यहाँका प्रमुख कच्चापदार्थ हुन् ।’

व्यवसायी अरुणराज सुमार्गीले पनि गण्डकीमा कृषिमा धेरै सम्भावना देखेको बताए । ‘सुकिलामुकिला कृषिमा हाम नफाल्दासम्म कृषिमा व्यवसायिकीकरण हुँदैन,’ उनले भने, ‘त्यसका लागि सरकारले सहुलियत ऋण उपलब्ध गराउनुपर्छ ।’ कृषि क्षेत्रमा परियोजना झोलामा बोक्नेलाई अनुदान दिँदा उत्पादन नबढेको, सीमा पारिबाट सस्तोमा कृषि उत्पादन आएको र स्वदेशी उत्पादनले बजार नपाउँदा व्यापार घाटा चुलिएको उनको दाबी छ । सातै प्रदेशमा अर्गानिक मल बनाउने कारखाना खोल्न सके रासायनिक मलको आयात प्रतिस्थापन गर्न सकिने उनको भनाइ छ ।

सम्मेलनमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकीले गौरव गर्न सक्ने ‘मेगा प्रोजेक्ट’ ल्याइदिन लगानीकर्तालाई आग्रह गरे । ‘लगानीका लागि गण्डकी सम्भावना बोकेको प्रदेश हो,’ उनले भने, ‘लगानीकर्ताको प्राथमिकतामा हाम्रो प्रदेश पर्छ, यो हाम्रो पुँजी हो ।’ गैरआवासीय नेपालीले लगानी गर्न खोजे पनि जग्गाको समस्या रहेको भने उनले स्विकारे । गण्डकीका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले पनि प्रदेशले प्राथमिकतामा राखेका क्षेत्रमा लगानी गर्न आग्रह गरे । औद्योगिकीकरणमार्फत रोजगारी सिर्जना हुने किसिमका योजना ल्याए प्रदेश सरकारले सहजीकरण गर्ने उनको प्रतिबद्धता छ ।

व्यापार व्यवसाय गर्छु भन्नेका लागि कतिपय सरकारी प्रक्रिया झन्झटिलो भएकाले तिनलाई नीतिगत रूपमै सुधार गर्दै लैजानुपर्ने पोखरा महानगरका मेयर धनराज आचार्यले बताए । महानगरले पर्यटनलाई मुख्य प्राथमिकतामा राखेको र कृषिमार्फत ५ वर्षभित्र आयात प्रतिस्थापन गर्ने महत्त्वाकांक्षी योजना रहेको उनले सुनाए । ‘हामीले महानगरमा यो–यो सम्भावना छ भनेर ढोका खोल्छौं,’ लगानीकर्तालाई उनले भने, ‘इच्छा राख्नुस्, रेड कार्पेट ओछ×्याएर स्वागत गर्न तयार छौं ।’

कार्यक्रममा पर्यटनविज्ञ टीकाराम सापकोटाले ‘पर्यटन र उद्यमशीलता’, लक्की कार्की क्षत्रीले ‘लघुउद्यम र महिला उद्यमशीलता विकास’, योगराज कँडेलले ‘उद्योग वाणिज्य क्षेत्रमा लगानीका सम्भावना’ र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठले ‘उत्पादन क्षेत्र र उद्यमशीलता’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । सहभागीले कार्यपत्रमाथि खुला छलफल र टिप्पणी गरेका थिए । आकर्षक लगानीको क्षेत्र पहिचान गर्ने, लगानीका लागि आवश्यक स्रोत र पुँजी कसरी जुटाउने भन्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेलले जनाए । प्रदेशले गर्ने ‘बृहत् लगानी सम्मेलन’ को तयारीस्वरूप हाल उक्त कार्यक्रम गरिएको उनले उल्लेख गरे ।

पहुँचवालालाई मात्रै ऋण !

यसैबीच गण्डकीका व्यवसायीले बैंकबाट ऋण निकासी सहज नहुँदा व्यवसाय नै धरापमा परेको गुनासो गरेका छन् । लुम्लेमा शुक्रबार र शनिबार भएको नेपाल उद्योग वाणिज्य संघ, गण्डकीको पाँचौं प्रदेशसभामा पहुँचवालाको मात्रै ऋण स्वीकृत हुने गरेको उनीहरूले दाबी गरे । बैंकले ऋण नदिँदा अहिले उद्योग व्यवसाय खोल्नेभन्दा बन्द गर्ने बढी रहेको नवलपुर उद्योग वाणिज्य संघका सदस्य राजेन्द्र पाण्डेले बताए । ‘बैंकबाट पहुँचवालाले भित्रभित्रै ऋण स्वीकृत गरिरहेका छन् । साना लगानीकर्ता मर्कामा छन्,’ उनले भने ।

लघु उद्यमीलाई सरकारले सहयोग नगर्दा डुब्ने स्थिति भएको महिला उद्यमी रामकली खड्काले गुनासो गरिन् । ‘हस्तकला व्यवसाय सबै ऋणमा छन्,’ उनले भनिन्, ‘स्थानीय कच्चा पदार्थको प्रयोग गरेका सामग्री बिक्ने अवस्था छैनन् । बजारीकरणमा सहयोग पुर्‍याउनुपर्छ ।’ व्यवसायीलाई परेका समस्याबारे महासंघले अध्ययन गर्नुपर्ने महासंघ गण्डकीका एसोसिएट सदस्य रामचन्द्र रेग्मीले बताए । कम्पनी रजिस्ट्रारको कार्यालय प्रदेशमा ल्याउन महासंघले पहल गर्नुपर्ने उनको आग्रह छ । ‘उद्योगमा पस्न सजिलो, निस्कन गाह्रो छ,’ उनले भने, ‘एउटा व्यवसाय सुरु गर्छु भनेर जग हाल्न खोल्दा लगानी जति प्रक्रिया पुर्‍याउँदा सकिन्छ ।’

पहिला संघको सिफारिसमा अस्थायी पान दिने गरेको भए पनि स्थानीय तह आएपछि हटेको भीमाद उद्योग वाणिज्य संघका अध्यक्ष हस्तबहादुर खड्काको भनाइ छ । बिनाधितो न्यूनतम ब्याजदरमा बैंकले ऋण दिने भनेर झुक्याएको उनको आरोप छ । कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्षद्वय दिनेश श्रेष्ठ र अञ्जन श्रेष्ठ एवं गण्डकीका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले आगामी दिनमा व्यवसायीका गुनासा सम्बोधन हुने गरी काम गर्ने बताए ।

प्रकाशित : असार २०, २०७९ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?