कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीनसँगको व्यापार सहजिकरण गर्न राजदूत श्रेष्ठलाई चेम्बरको आग्रह

काठमाडौँ — नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीले चीनका लागि नवनियुक्त राजदूत विष्णु पुकार श्रेष्ठसँग भेटवार्ता गरेका छन् । राजदूत श्रेष्ठसँग चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले दुई मुलुकबीच भन्सार सहजिकरणमार्फत नेपालको निर्यात बढाउनुपर्ने बताएका थिए ।

चीनसँगको व्यापार सहजिकरण गर्न राजदूत श्रेष्ठलाई चेम्बरको आग्रह

नेपालबाट कृषि, हस्तकलाका सामान, मुर्तिजन्य वस्तुहरूको निर्यात प्रवद्र्धनका लागि भन्सारमा उच्चस्तरीय प्रयोगशाला निर्माण गर्नुपर्ने मल्लको भनाइ थियो । ग्वाङझाउ तथा ल्हासास्थित महावाणिज्य दुतावासलाई नेपाल-चीन व्यापार सहजिकरणको लागि कृयाशील बनाउनुपर्नेमा पनि उनले जोड दिएका थिए । नेपाल-चीनबीच केरुङ भएर हुने व्यापारमा आयातकर्ताले अतिरिक्त खर्च बेहोर्नुपरेकोले व्यावसायिक लागत अत्यधिक बढ्ने गरेको मल्लको भनाइ थियो ।

नेपालको पूर्वाधार विकासमा चिनियाँ लगानी भित्र्याउन पहल गर्नसमेत अध्यक्ष मल्लले राजदूत श्रेष्ठलाई आग्रह गरेका थिए । नेपालको कृषि उत्पादकत्व वृद्धि गर्न प्रविधि हस्तान्तरणको लागि पहल गर्नसमेत अध्यक्ष मल्लले जोड दिएको विज्ञप्तीमा उल्लेख छ । राजदूत श्रेष्ठले आफ्नो कार्यकालमा दुई मलुकबीचको आर्थिक र कुटनीतिक सम्बन्धलाई उच्चस्तरमा पुर्‍याउन आफूले अधिकतम पहल गर्ने बताएका थिए । भन्सारमा व्यापार सहजिकरण गरी नेपालमा उत्पादित वस्तुहरूको निर्यातका लागि पहल गर्ने श्रेष्ठको भनाइ छ ।

प्रकाशित : असार १८, २०७९ १३:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?