कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निरन्तरको उडानले भैरहवामा बढायो चहलपहल

जुलाईदेखि एक उडान थप्ने र सेप्टेम्बरपछि दैनिक उडानको तयारीमा जजिरा
केही महिनाभित्रै युरोपको विज एयरले पनि भैरहवा–दुबई सीधा उडान गर्ने
सन्जु पौडेल

लुम्बिनी — भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा निरन्तरको उडानले चहलपहल बढेको छ । अन्तर्राष्ट्रिय उडान भइरहँदा विमानस्थलबाहिरका व्यावसायिक प्रतिष्ठानमा समेत यात्रुको भीडभाड देखिन्छ । दसैंअघिसम्म थप विमान कम्पनीले समेत सेवा दिन सुरु गर्ने गरी तयारी गरिरहेकाले व्यावसायिक तथा पर्यटकीय चहलपहलमा बढोत्तरी हुने अपेक्षा गरिएको छ ।

निरन्तरको उडानले भैरहवामा बढायो चहलपहल

गत जेठ २ मा प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थलको उद्घाटन गरेका थिए । उद्घाटनका दिनदेखि नै जजिरा एयरवेजले व्यावसायिक उडान गरिरहेको छ । जजिराले सातामा ३ दिन कुवेत–भैरहवा सीधा उडान गर्दै आएको छ । जजिराको ‘एयर बस ३२० निओ’ विमानले सोमबार, बुधबार र शुक्रबार सेवा दिने गरेको छ । विशेषगरी कुवेतलगायत खाडी मुलुक आउनेजाने नेपाली श्रमिकहरू भैरहवामा सीधा उडान सुरु भएसँगै लाभान्वित भएका छन् । अहिले अन्य विमान कम्पनीले समेत भैरहवामा उडान भर्ने इच्छा देखाइरहेकाले उडान संख्या थपिने र सेवा थप विस्तार हुने विमानस्थल कार्यालयले जनाएको छ ।

नेपालदेखि विदेश जाने यात्रुमध्ये २५ प्रतिशत लुम्बिनी प्रदेशका हुने गरेका विमानस्थलका प्रवक्ता श्यामकिशोर शाहले बताए । आफ्नै क्षेत्रबाट उडान भर्न पाएको भन्दै यात्रुमा छुट्टै उत्साह देखिने गरेको उनको भनाइ छ । ‘जुलाईदेखि एक उडान थप्ने तयारीमा जजिरा छ,’ उनले भने, ‘सेप्टेम्बरपछि दैनिक उडान भर्ने गरी उसले तयारी गरिरहेको छ ।’ १/२ महिनापछि युरोपको विज एयरले पनि भैरहवाबाट दुबईका लागि सीधा उडान भर्ने तयारी थालेको उनले जानकारी दिए । ‘विजले पनि दैनिक १ उडान भर्ने जनाएको छ,’ उनले भने, ‘यसबाहेक दुबईलाई केन्द्र बनाई अन्य वायुसेवा कम्पनीले पनि दसैंअघि नै दिनहुँ उडान भर्ने गरी विमान ल्याउने बताइरहेका छन् ।’

विमानस्थल सञ्चालन भएको छोटो समयमै वायु सेवा कम्पनीले सेवा विस्तारका लागि चासो दिनुलाई राम्रो प्रतिफल मान्नुपर्ने उनको भनाइ छ । ‘वैदेशिक रोजगारीका लागि पूर्वका जनकपुर, सिरहादेखि पश्चिमका सुर्खेत, धनगढीसम्मबाट यात्रुहरू यहाँ आउने गरेका छन्,’ उनले भने, ‘यसले हामी कर्मचारी, यहाँका व्यापारिक प्रतिष्ठानलाई समेत खुसी दिलाएको छ । श्रम स्वीकृत कार्यालय, म्यानपावर तथा ठूला ट्राभल एजेन्सीका शाखा खुल्दै जाँदा चहलपहल थप बढ्ने निश्चित छ ।’

०७१ माघ १ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले विमानस्थलको शिलान्यास गरेका थिए । ३ वर्षमा निर्माण सम्पन्न भइसक्नुपर्ने सम्झौता भए पनि आयोजनाको मुख्य ठेकेदार र सहठेकेदार कम्पनीबीच विवाद, मधेस आन्दोलन, भारतीय नाकाबन्दी, निर्माण सामग्रीको आपूर्तिमा असहजता र कोरोना महामारीका कारण काममा विलम्ब भएको थियो । कार्गो भवन निर्माणसहित आयोजना सम्पन्न गर्न १० अर्ब र जग्गा अधिग्रहण (मुआब्जा) का लागि २२ अर्ब ४७ करोड रुपैयाँ खर्चेर विमानस्थल सञ्चालनमा आएको आयोजनाका प्रमुख प्रवेश अधिकारीले बताए ।

प्रकाशित : असार १८, २०७९ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?