कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चार वाणिज्य बैंकलाई मर्जरको सैद्धान्तिक सहमति

काठमाडौँ — नेपाल राष्ट्र बैंकले चार वटा वाणिज्य बैंकलाई मर्जरका लागि सैद्धान्तिक सहमति (लेटर अफ इन्टेन्ट–एलओआई) प्रदान गरेको छ । बुधबार बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू तथा  नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो ।

चार वाणिज्य बैंकलाई मर्जरको सैद्धान्तिक सहमति

राष्ट्र बैंकको निर्णय अनुसार यी बैंकले सैद्धान्तिक सहमति पाएको तीन महिना भित्र मर्जरको सबै प्रक्रिया पूरा गरी अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंकमा आवेदन दिनुपर्ने छ । मनासिब कारणले तीन महिना भित्र मर्जरको प्रक्रिया पूरा नभए समय थप गर्नका लागि राष्ट्र बैंकमा आग्रह गर्न सक्ने प्रावधान छ ।

इन्भेष्टमेन्ट र मेगा बैंकले गत जेठ २७ मा तथा ग्लोबलआईएमई र बैंक अफ काठमाण्डूले यही असार २ मा मर्जरका लागि आपसमा समझदारी पत्रमा हस्ताक्षर (एमओयू) गरेका थिए । इन्भेष्टमेन्ट बैंकले मेगा बैंकलाई १०० : ९० को अनुपात (मेगा बैंकको एक सय कित्ता सेयर बराबर इन्भेष्टमेन्ट बैंकको ९० कित्ता सेयर) मा गाभ्न लागेको हो । यी बैंकको मर्जर पूरा भएपछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी करिब ३२ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ ।

यस्तै, ग्लोबल आईएमई र बैंक अफ काठमाण्डू समान अनुपात १:१ को अनुपात (ग्लोबलको १ सय कित्ता सेयर बराबर बैंक अफ काठमाण्डूको १ सय कित्ता सेयर) अनुपातमा गाभिन लागेका हुन् । यी बैंकको मर्जरपछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी करिब ३५ अर्ब रुपैयाँ पुग्नेछ ।

प्रकाशित : असार १६, २०७९ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?