नेपाली रैथाने बीउमा भारतीय आकर्षण- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

नेपाली रैथाने बीउमा भारतीय आकर्षण

ठाकुरसिंह थारू

नेपालगन्ज — सीमावर्ती क्षेत्रका नेपाली किसान महँगो मूल्यमा उपलब्ध हुने भारतीय विकासे (हाइब्रिड) धानको बीउप्रति आकर्षण भएका बेला सीमापारिका किसानको रोजाइमा भने यहाँका रैथाने धान पर्ने गरेको पाइएको छ । नेपाली बीउ सस्तोमा पाइने र बाली वैज्ञानिकले प्रमाणित गरेकाले भारतीयको रोजाइमा परेको विज्ञहरू बताउँछन् ।

बाँकेको खजुरास्थित कृषि अनुसन्धान निर्देशनालय (नार्क) ले रैथाने धानको मूल बीउ उत्पादन गरी सहकारी र विभिन्न बीउबिजन कम्पनीलाई उपलब्ध गराउँदै आएको छ । सहकारी र कम्पनीले मूल बीउबाट उत्पादन गरेको बीउ भारतीयमाझ लोकप्रिय बन्दै आएको हो । नार्कले राधा–४, राम धान, साँवा मन्सुरी, सुक्खा–३, राधा–१४, बहुगुणी–२ लगायत रैथाने धानको मूल बीउ उत्पादन गरी प्रतिकिलो ७५ रुपैयाँमा बिक्री गर्दै आएको छ । तर, सहकारी र बीउ उत्पादक कम्पनीले मूल बीउबाट धेरै उत्पादन गरी प्रतिकिलो ६० देखि सय रुपैयाँसम्म बिक्री गर्दै आएका छन् । ‘हामीले मूल बीउ कम्पनी र सहकारीलाई दिन्छौं । उनीहरूले मूल बीउबाट धेरै उत्पादन गरेर हामीसँग प्रमाणित गराउँछन्,’ नार्कका बाली वैज्ञानिक रामदास चौधरीले भने, ‘खासगरी किसानले गुणस्तरीय, सस्तो मूल्यमा र रैथाने बीउ पाऊन् भन्ने हाम्रो उद्देश्य हो । कम्पनीका आफ्नै मूल्य हुन्छन् ।’

नेपाली किसानहरूले धेरै उत्पादन हुने भन्दै नेपालमा खेती गर्न सिफारिस नगरिएका भारतीय धानको बीउ किनेर ल्याउने गरेका छन् । प्रमाणित नगरिएका बीउ लगाउँदा नउम्रिने र फसल नलाग्ने समस्या बाँकेका किसानहरूले झेल्दै आएका छन् । भारतीय धानको मूल्य प्रतिकिलो ५ सयदेखि ८ सय रुपैयाँसम्म पर्ने गरेको छ । नार्कले प्रमाणित गरेका धान सुक्खा र कम पानीमा पनि राम्रो उत्पादन दिने र सस्तोमै पाइने भएकाले पनि भारतीय किसान बीउ किन्न नेपाली बजार आउने गरेका हुन् । बीउ खोज्दै सीमापारिका किसानहरू आउने गरेका खजुरा उढरापुरका हरिराम बर्माले बताए । ‘हामी हाइब्रिड धान खोज्दै भारत जान्छौं तर त्यहाँका किसानहरू बीउ किन्न यता आउने गरेका छन्,’ उनले भने, ‘नेपाली बीउप्रति भारतीय किसान निकै विश्वास गर्छन् ।’

नार्कले यस वर्ष राधा–४, राम धान, साँवा मन्सुली, सुक्खा धान–३, राधा–१४ र बहुगुणी–२ धानको बीउ प्रतिकिलो क्रमशः २००, ९०, ६०, २०, ५० र ४० रुपैयाँका दरले २५ क्विन्टल बिक्री गरेको जनाएको छ । हाइब्रिड धान रोपेको जग्गामा हिउँदे बालीको उत्पादन राम्रो नभएपछि भारतीय किसान राधा–४ धानतर्फ आकर्षण भएको जानकारी पाएको एक कृषि प्राविधकले बताए । तर, त्यसबारे जानकारी नभएका कारण नेपाली किसानले भने हाइब्रिड धान लगाउन छोडेका छन् ।

भारतबाट अवैध रूपमा ल्याएर किसानले बीउ प्रयोग गर्ने परम्परालाई तोड्न क्षेत्रीय कृषि अनुसन्धान केन्द्र खजुराले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको वातावरण अनुकूल हुने गरी धानको बीउ उत्पादन गर्दै आएको छ । कृषि वैज्ञानिक तथा प्राविधिकहरूले कर्णाली तथा सुदूरपश्चिमका किसानका लागि राधा–४, जानकी, मन्सुली, सावित्री र मकवानपुर जातका धानको मूल बीउ सिफारिस गरेका छन् । केन्द्रले किसानलाई सिफारिस गरी बिक्री गरिरहेको धानको बीउको उमार शक्ति ८२–९२ प्रतिशतसम्म रहेको दाबी गरेको छ । बाँकेमा ३५ हजार ५ सय हेक्टर जग्गामा धान खेती हुने गरेको छ ।

प्रकाशित : असार १६, २०७९ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्

सहरमा छैनन् सार्वजनिक धारा

ठाकुरसिंह थारू

नेपालगन्ज — एक दशकअघिसम्म नेपालगन्ज उपमहानगरका विभिन्न स्थानमा पिउने पानीका सार्वजनिक धारा थिए । बटुवा, मजदुर र सर्वसाधारण प्यास लागेका बेला तिर्खा मेटाउँथे । सडक चौडा गर्ने क्रममा सार्वजनिक धारा भत्काइएपछि नेपालगन्जमा मजदुर र बटुवालाई प्यास मेटाउन सकस हुने गरेको छ । अहिले चर्को गर्मीमा रिक्सा चालकलगायत मजदुरलाई पिउने पानीको अभाव हुँदा कष्ट झेल्नु परेको छ ।

नेपालगन्ज–१२ बेलासपुरका वंशराम चिडिमार सार्वजनिक धारा नहुँदा पानी किनेर प्यास मेटाउनुपर्ने बाध्यता आइलागेको सुनाउँछन् । मजदुरलाई आराम गर्ने ठाउँ पनि उपमहानगर क्षेत्रमा छैनन् । ‘गर्मीमा बहुत ज्यादा पानी खान मन लाग्छ । अरूको घरभित्र गएर पानी पिउन सम्भव छैन । पहिले ठाउँठाउँमा पिउने पानीको ट्यांकी बनाइएको थियो तर अहिले छैन,’ उनले भने, ‘प्यासले मुख सुक्खा हुन्छ । होटलमा गएर पानी माग्दा किन्नुपर्ने बताउँछन् । त्यसैले किनेर पानी खानुपर्छ ।’

उनीजस्तै नेपालगन्जमा मजदुरी गर्ने सयौं मजदुरलाई अहिलेको प्रचण्ड गर्मीमा पिउने पानीको समस्या झेल्नुपरेको छ । सार्वजनिक स्थानमा पिउने पानीको व्यवस्था नगरिँदा रिक्सा, ठेला, टाँगालगायत चलाएर जीविका चलाइरहेका मजदुर र बाहिरबाट कामका लागि नेपालगन्ज आएका सर्वसाधारणलाई सास्ती खेप्नुपरेको छ । गत वर्ष रिक्सा मजदुरहरू सार्वजनिक स्थानमा पिउने पानी र सार्वजनिक शौचालयको व्यवस्था गर्न माग गर्दै आन्दोलनमा उत्रिएका थिए । तर, उनीहरूका मागलाई उपमहानगरले सम्बोधन गरेन ।

‘गर्मी मानेर पनि के गर्नू ? परिवार पाल्न जस्तोसुकै गर्मीमा पनि काम गर्नैपर्छ । प्यास लाग्छ । पानी पिउने ठाउँ कहींकतै छैन,’ नेपालगन्ज बजारमा ठेला तान्दै आएका अब्बास अलीले भने, ‘सरकारले कम्तीमा गर्मीका बेला पिउने पानीको व्यवस्था गरिदिए धेरै राहत हुन्थ्यो ।’ गर्मी छल्ने छहारी र पानीको सुलभ व्यवस्था नहुँदा सयौं मजदुर गर्मीमा समस्यामा परेको उनले सुनाए । नेपालगन्जमा अहिले दैनिक ३८–४२ डिग्रीसम्म तापक्रम पुग्ने गरेको छ ।

नेपालगन्ज उपमहानगरले जाडोयाममा सर्वसाधारण र मजदुरलाई आगो ताप्न निःशुल्क दाउराको व्यवस्था गर्छ । तर, गर्मीमा भने पिउने पानीको व्यवस्था मिलाउनेतर्फ चासो नै नदिएको स्थानीयले बताए । उपमहानगरका सूचना अधिकारी खिमानन्द आर्यालले सर्वसाधारणका लागि सार्वजनिक स्थलमा पिउने पानीको कार्यक्रम नरहेको जनाए । ‘सम्बन्धित शाखामा पिउने पानीबारे जानकारी माग्दा त्यस्तो खासै केहीे कार्यक्रम हामीसँग छैन भन्ने जवाफ आयो । यसका लागि कार्यक्रम ल्याउन आवश्यक देखियो,’ उनले भने ।

भेरी अञ्चल अस्पतालका फिजिसियन डा. संकेत रिसालले गर्मीमा मानिसको शरीर र बाहिरी तापक्रम बढ्ने भएकाले पानीको मात्रा कम हुँदा बढी तिर्खा लाग्ने गरेको बताए । ‘यस्तो गर्मीमा पानी र झोलिलो खानेकुरा बढी खानुपर्छ,’ उनले भने, ‘सर्वसाधारणका लागि नगरपालिकाले ठाउँठाउँमा पिउने पानीको व्यवस्था मिलाउन सक्ने हो भने धेरै राहत हुनेछ ।’ त्यस्तै, गर्मीका कारण अस्पतालमा झाडापखाला, ज्वरो, बान्ता र कलेजोका बिरामी बढेको उनले बताए ।

प्रकाशित : जेष्ठ ३१, २०७९ ०९:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×