कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विदेशी मुद्रा सञ्चिति बढाउने उपाय खोज्न कार्यदल

योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा गठित कार्यदललाई साताभित्रै सुझावसहितको प्रतिवेदन बुझाउन कार्यादेश

काठमाडौँ — निरन्तर घटिरहेको विदेशी मुद्रा सञ्चिति नियन्त्रणका लागि चाल्नुपर्ने कदमबारे सुझाव दिन अर्थ मन्त्रालयले एक कार्यदल (टास्क फोर्स) गठन गरेको छ । अर्थतन्त्रको पछिल्लो अवस्थाबारे बुधबार अर्थ मन्त्रालयमा भएको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो । बैठकमा अर्थमन्त्री जनार्दन शर्मा, मुख्य सचिव शंकरदास बैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थसचिव मधुकुमार मरासिनी र उद्योग वाणिज्य तथा आपूर्ति सचिव गणेशप्रसाद पाण्डेलगायतको उपस्थिति थियो ।

विदेशी मुद्रा सञ्चिति बढाउने उपाय खोज्न कार्यदल

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पौडेलको संयोजकत्वमा गठित कार्यदलले एक साताभित्र सुझावसहितको प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाउनेछ । कार्यदलको सुझावका आधारमा विदेशी मुद्रा सञ्चितिमा आएको कमीका कारण संकटोन्मुख अवस्थामा रहेको अर्थतन्त्रको सुधारका लागि थप नीतिगत व्यवस्था गरिने अर्थ सचिव मरासिनीले बताए । ‘अर्थतन्त्रमा संकट आइसकेको छैन तर विदेशी मुद्रा सञ्चितिलाई अहिलेको अवस्थाभन्दा थप घट्न नदिन चाल्नुपर्ने उपायबारे सुझाव संकलन गर्न उच्चस्तरीय कार्यदल गठन गरिएको छ,’ उनले भने, ‘वस्तुस्थिति अध्ययन गरी कार्यदलले अर्थतन्त्रको अहिलेको अवस्थामा सुधार ल्याउन चाल्नुपर्ने कदमबारे सुझाव दिनेछ ।’

कार्यदलले औंल्याएका सुझावका आधारमा तत्काल, मध्यमकालीन र दीर्घकालीन रूपमा कुन–कुन निकायले चाल्नुपर्ने कदम निर्क्योल गरिने उनले जनाए । आगामी आर्थिक वर्षको सुरुदेखि नै विदेशी मुद्रा सञ्चितिलाई थप घट्न नदिन चाल्नुपर्ने आवश्यक कदमका लागि कार्यदल गठन गरिएको उनको दाबी छ । ‘केही महिनायता हामीसँग रहेको विदेशी मुद्रा सञ्चितिले ६ महिनासम्मका लागि आयात धान्न पुग्छ,’ उनले भने, ‘सञ्चितिमा थप कमी आउन नदिन र सञ्चिति बढाउने स्रोत खोजी गर्न चाल्नुपर्ने कदमबारे कार्यदलले सुझाउनेछ ।’

कार्यदलका सदस्यहरूमा प्रधानमन्त्री कार्यालयका सचिव, अर्थ सचिव, वाणिज्य सचिव र राष्ट्र बैंकका कार्यकारी निर्देशक सदस्य रहेका छन् । कार्यदलको सदस्य सचिवमा अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यलाई तोकिएको छ ।

चालु आर्थिक वर्षको सुरुदेखि नै उच्च दरले विदेशी मुद्रा सञ्चिति निरन्तर घटिरहेको छ । गत असारको तुलनामा वैशाखसम्म करिब २ खर्ब ५२ अर्ब रुपैयाँले विदेशी मुद्रा सञ्चितिमा कमी आइसकेको छ । वैशाखसम्म कुल ११ खर्ब ४६ अर्ब ८८ करोड रुपैयाँ सञ्चिति छ । गत असारको तुलनामा यो ११ प्रतिशतले घटेको हो । गत असारमा यस्तो सञ्चिति १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ थियो । यस्तै, गएको १० महिनामा अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति करिब २१ प्रतिशतले घटिसकेको छ । ‘२०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड अमेरिकी डलर विदेशी मुद्रा सञ्चिति रहेकामा गत वैशाखसम्म २१.१ प्रतिशतले कमी आई ९ अर्ब २८ करोड डलर कायम भएको छ,’ राष्ट्र बैंकको मासिक प्रतिवेदनमा उल्लेख छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति गत असारको तुलनामा १८.३ प्रतिशतले घटेर १० खर्ब १७ अर्ब २७ करोड रुपैयाँ कायम भएको छ । २०७८ असारमा यस्तो सञ्चिति १२ खर्ब ४४ अर्ब ६३ करोड रुपैयाँ थियो । ‘बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १ खर्ब ५४ अर्ब ३९ करोड रहेकामा २०७९ वैशाखसम्म १६.१ प्रतिशतले घटेर १ खर्ब २९ अर्ब ६१ करोड रुपैयाँ कायम भएको छ,’ प्रतिवेदनमा भनिएको छ । वैशाखसम्म कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५.१ प्रतिशत छ ।

वैशाखसम्म मुलुकमा रहेको विदेशी विनिमय सञ्चितिले ६.५७ महिनालाई वस्तु र सेवा आयात गर्न पुग्ने राष्ट्र बैंकले दाबी गरेको छ । यो राष्ट्र बैंकले तय गरेको वार्षिक लक्ष्यभन्दा थोरै हो । ‘आर्थिक वर्ष ०७८/७९ मा कम्तीमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त विदेशी विनिमय सञ्चिति कायम हुने गरी मौद्रिक तथा बाह्य क्षेत्र व्यवस्थापन गरिनेछ,’ चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भनिएको थियो ।

यस्तै, वैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात २३.६ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो अनुपात ३२.७ प्रतिशत थियो ।

प्रकाशित : असार १६, २०७९ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?