संसदीय समितिको निर्देशनविपरीत ब्रोकर लाइसेन्स बाँडिँदै

तोकिएको अन्तिम मिति सकिन १५ दिन मात्र बाँकी न ब्रोकरको पुँजी बढेको छ, न ब्रोकर कम्पनी पब्लिक लिमिटेड नै भएका छन्, नेप्सेले सबै निर्देशन उपेक्षा गर्दै एकै पटक ठूलो संख्यामा ब्रोकर लाइसेन्स वितरण गर्न कार्यविधि तयार पारेको छ
यज्ञ बञ्जाडे

काठमाडौँ — तोकिएको विशिष्ट पाठ्यक्रमका आधारमा लिखित परीक्षा लिएर मात्र सेयर ब्रोकर लाइसेन्स वितरण गर्नू भन्ने संघीय संसदन्तर्गत अर्थ समितिको निर्देशनविपरीत नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले परीक्षाबिनै नयाँ ब्रोकर थप्ने तयारी गरेको छ । 

संसदीय समितिको निर्देशनविपरीत ब्रोकर लाइसेन्स बाँडिँदै

मुद्राबजार र पुँजीबजारका सम्बन्धमा अध्ययन गरी सुझाब पेस गर्न रामकुमारी झाँक्रीको संयोजकत्वमा गठित उपसमितिको सुझावका आधारमा अर्थ समितिले उक्त निर्देशन दिए पनि त्यसको उपेक्षा गर्दै नेप्सेले लिखित परीक्षाबिनै ब्रोकर लाइसेन्स बाँड्न लागेको हो । समितिले सञ्चालनमा रहेका ब्रोकरहरूको पुँजी वृद्धि गरेर ०७९ असारभित्र न्यूनतम १० करोड पुर्‍याइसक्नुपर्ने र सोही अवधिमा सबै ब्रोकर कम्पनी पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भइसक्नुपर्ने निर्देशन पनि नेप्सेलाई दिएको छ ।

तोकिएको अन्तिम मिति सकिन १५ दिन मात्र बाँकी रहँदासम्म न त ब्रोकरको पुँजी वृद्धि भएको छ, न ब्रोकर कम्पनी पब्लिक लिमिटेड नै भएका छन् । नेप्सेले ती सबै निर्देशन उपेक्षा गर्दै एकै पटक ठूलो संख्यामा ब्रोकर लाइसेन्स वितरण गर्न भन्दै कार्यविधि तयार पारेको छ । कार्यविधिमा परीक्षबिनै कार्ययोजना मूल्यांकनका आधारमा लाइसेन्स वितरण गर्ने भन्ने छ ।

‘धितोपत्र दलाल व्यवसायीहरूलाई समग्र वित्तीय प्रणाली र विशेषगरी धितोपत्र कारोबार सम्बन्धमा तोकिएको विशिष्ट पाठ्यक्रममा आधारित जाँच लिई अनुमतिपत्र दिने व्यवस्था गर्ने’ अर्थ समितिको निर्देशनमा भनिएको छ, ‘हाल न्यूनतम २ करोड चुक्ता पुँजी रहेको धितोपत्र दलाल व्यवसायीहरूको पुँजी वृद्धि गरी ०७९ असारसम्म १० करोड रुपैयाँ पुर्‍याई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गर्ने ।’ नेप्सेले तयार पारेको कार्यविधिमा ब्रोकरको चुक्ता पुँजी पनि न्यूनतम ७ करोड राखिएको छ भने कम्पनी पब्लिक हुनुपर्ने वा नपर्नेबारे केही बोलिएको छैन । यी व्यवस्था पनि स्पष्ट रूपमा अर्थ समितिको निर्देशनविपरीत भएको जानकारहरू बताउँछन् ।

ब्रोकर लाइसेन्सका लागि कार्यविधि तयार भइनसकेकाले अहिलेकै अवस्थामा अर्थ समितिको निर्देशनविपरीत भन्न नमिल्ने नेप्सेका अधिकारीहरूको भनाइ छ । ‘धितोपत्र व्यवसायी (दलाल) छनोटका लागि सिफारिस छनोट विधि ०७९’ ले अन्तिम रूप पाइसकेको छैन । एक पटक सञ्चालक समितिमा छलफल मात्र भएको हो,’ नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले भने, ‘कार्यविधि उपर सञ्चालक समितिमा छलफल जारी रहेकाले अहिलेकै अवस्थामा केही भन्न सकिँदैन । कानुनी व्यवस्थाअनुरूप प्रक्रिया पुर्‍याएर मात्र लाइसेन्स वितरण गर्ने गरिन्छ ।’

प्रमुख कार्यकारी अधिकृत कार्कीले कार्यविधि निर्माणको चरणमा रहेको बताए पनि ब्रोकर छनोटका लागि ‘धितोपत्र व्यवसायी (दलाल) छनोटका लागि सिफारिस छनोट विधि ०७९’ तयार भइसकेको र त्यसउपर अर्थ मन्त्रालयको परामर्श लिइसकेको स्रोतले बताएको छ । स्रोतका अनुसार परीक्षाबिनै एकै पटक ठूलो संख्यामा ब्रोकर थप्ने आशयको कार्यविधिका सम्बन्धमा अर्थ मन्त्रालयका राजस्व सचिव कृष्णहरि पुष्करले नेप्सेका अधिकारीहरूलाई हकारेका थिए । यहीबीचमा नेप्सेका अधिकारी भारत भ्रमणमा गएकाले एक सातायता ब्रोकरलाई लाइसेन्स वितरणका सम्बन्धमा काम अघि बढ्न नपाएको स्रोतको दाबी छ ।

पुँजी बजारको समस्या समाधान गर्न भन्दै अर्थ समितिले गठन गरेको उपसमितिले ०७७ असारमा प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनको आधारमा अर्थ समितिले पुँजीबजार सुधारका लागि भन्दै विभिन्न निर्देशन जारी गरेको थियो । अर्थमन्त्री जनार्दन शर्माको ठाडो निर्देशनमा नेप्सेले ठूलो संख्यामा सेयर ब्रोकर थप्ने तयारी भने अन्तिम चरणमा पुर्‍याएको छ ।

नेप्सेले विज्ञमार्फत गराएको अध्ययन प्रतिवेदनमा नेपालभर (सातवटै प्रदेशमा) १ सय ७८ ब्रोकर थप्न सकिने सुझाव छ । हरेक प्रदेशमा रहेको जनसंख्याका आधारमा उल्लिखित संख्यामा ब्रोकर थप्न सकिने सुझाव प्रतिवेदनले दिएको हो । प्रदेश १ मा ३०, मधेस प्रदेशमा ३३, वाग्मतीमा ४५, गण्डकीमा २०, लुम्बिनीमा २५, कर्णालीमा १० र सुदूरपश्चिममा १५ गरी १ सय ७८ वटा ब्रोकर संख्या थप्न प्रतिवेदनबाट सुझाव प्राप्त भएको स्रोतले बताएको छ ।

‘अहिले धितोपत्र ब्रोकरले प्रतिव्यवसायी औसतमा करिब २५ हजार ग्राहकको कारोबार खाता खोली सञ्चालन गरेको देखिन्छ । उक्त संख्या बढेर अबको एक दशकमा प्रतिव्यवसायी ५० हजार हुने देखिन्छ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘यसरी हेर्दा करिब १ सय ७८ ब्रोकर आवश्यक पर्ने देखिन्छ । अहिले ५० वटा सञ्चालनमा रहेका आधारमा थप १ सय २८ जति धितोपत्र दलाल तथा डिलरको आवश्यकता छ । प्रत्येक प्रदेशमा न्यूनतम १० र अधिकतम ४५ वटा धितोपत्र दलाल व्यवसायी आवश्यक देखिन्छ ।’

यद्यपि उल्लिखित अध्ययन प्रतिवेदन अहिलेको नभई पूर्वकार्यकारी अधिकृत चन्द्रसिंह साउदको पालाको रहेको र लाइसेन्स वितरणका लागि नेप्सेले तयार पारेको छनोट कार्यविधिसँग उक्त अध्ययन प्रतिवेदनको कुनै तालमेल नरहेको नेप्से स्रोतकै दाबी छ ।

‘अहिले नेप्सेले ब्रोकर छनोट कार्यविधि मात्र बनाएको हो । कार्यविधि नेप्सेको सञ्चालक समितिमा पनि छलफल भइसकेको छ । कार्यविधिमा के–कति संख्यामा ब्रोकर थप्ने भन्ने केही उल्लेख छैन,’ स्रोतले भन्यो, ‘संख्याबारे माथिबाटै निर्देशन भएर आउने होला ।’

नेप्सेले तयार पारेको ‘धितोपत्र व्यवसायी (दलाल) छनोटका लागि सिफारिस छनोट विधि ०७९’ मा धितोपत्र व्यवसायी छनोटका लागि न्यूनतम योग्यताका कागजात पेस गरेको निवेदकलाई छनोटका लागि प्रतिस्पर्धामा समावेश गराइने उल्लेख छ । थप अंकका लागि न्यूनतम योग्यताभन्दा माथिको शैक्षिक योग्यता, पब्लिक कम्पनी, २० करोड रुपैयाँभन्दा बढीको चुक्ता तथा स्थिर पुँजी र मामिला सम्बन्धमा तयार गरेको प्रतिवेदन तोकिएको छ ।

प्रकाशित : असार १५, २०७९ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?