कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अध्ययनबिनै ब्रोकरलाई शाखा विस्तारको अनुमति

यज्ञ बञ्जाडे

काठमाडौँ — आवश्यकता र औचित्य पुष्टि नगरी नेपाल धितोपत्र बोर्डले मुलुकभर ब्रोकर कम्पनीलाई शाखा विस्तारको अनुमति दिन थालेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले लिखित परीक्षाबिनै ब्रोकरको नयाँ लाइसेन्स बाँड्न गृहकार्य गरिरहेका बेला बोर्डले ठूलो संख्यामा शाखा विस्तारको अनुमति दिन थालेको हो ।

अध्ययनबिनै ब्रोकरलाई शाखा विस्तारको अनुमति

यसअनुसार थप ४ वटा ब्रोकरले ७ स्थानमा शाखा सञ्चालन अनुमति पाइसकेका छन् । र १० वटा ब्रोकरले १६ स्थानमा शाखा स्थापनाको सैद्धान्तिक सहमति पाइसकेका छन् । २७ वटा ब्रोकरबाट ६५ स्थानमा १ सय ४६ वटा शाखा स्थापनाका लागि आवेदन प्राप्त भएको बोर्डले स्रोतले बताएको छ ।

रोचक त के छ भने, बोर्डले सम्बद्ध स्थानमा ब्रोकरको आवश्यकता, सेयर कारोबारको सम्भावनालगायत केही विषय नहेरी माग आएका सबै ठाउँमा शाखा विस्तारको अनुमति दिने तयारी गरेको छ । अहिले ब्रोकरको शाखा विस्तारलाई सेयर बजारको सुधारका लागि भन्दै आन्दोलन गरिरहेका लगानीकर्ताको मागसँग जोडेर अनुमति दिन थालिएको छ । ‘लगानीकर्ताको माग सम्बोधन गर्न बनेको कार्यान्वयन समिति बैठकले आइतबार ब्रोकरलाई शाखा विस्तारको अनुमति दिने निर्णय गरेको छ,’ बोर्डका कामु कार्यकारी निर्देशक एवं कार्यान्वयन समित संयोजक विनयदेव आचार्यले भने, ‘सोही निर्णयअनुसार मापदण्ड पुगेका आवेदन अध्ययन गरी लाइसेन्स वितरण गर्छौं ।’

ब्रोकरको शाखा विस्तार नयाँ भने होइन । ०७६ सालअघि नेपाल स्टक एक्सचेन्जले आफैं ब्रोकरलाई शाखा विस्तारको अनुमति दिन पाउने व्यवस्था थियो । सोही व्यवस्थाअन्तर्गत नेप्सेले १७ जिल्लामा ४१ वटा शाखा सञ्चालनका लागि अनुमति दिइसकेको थियो । ‘धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, ०६४’ को तेस्रो संशोधन गरेर नेप्सेको अधिकार धितोपत्र बोर्डले आफू मातहत ल्याएको थियो । यसरी ०७६ साल फागुन १ देखि बोर्ड आफैंले ब्रोकरलाई शाखा स्थापनाको अनुमति दिन थालेको छ । सोही व्यवस्थाबमोजिम पूर्वअध्यक्ष रेवतबहादुर कार्कीको पालामा थप ६ वटा शाखा सञ्चालनका लागि बोर्डले अनुमति दिएको थियो । पूर्व अध्यक्ष भिष्मराज ढुंगानाको पालामा १४ वटा ब्राेकरलाई २३ वटा शाखा स्थापनाका लागि प्रक्रिया सुरु गरिएको थियो । जसअनुसार ४ वटा ब्रोकरले ७ स्थानमा शाखा सञ्चालनका लागि अनुमति पाइसकेका छन्  भने १० वटा ब्रोकरलाई १६ वटा शाखा सञ्चालनका लागि बोर्डले सैद्धान्तिक सहमति दिइसकेको छ । हाल १४६ वटा शाखाका लागि आवेदन प्राप्त भएकाे र आवश्यक प्रक्रिया पुर्याएर अनुमति दिने बोर्डको तयारी छ । ‘सेयर बजारका समस्या समाधान गर्न गठित टास्कफोर्स कमिटीको बैठक मंगलबार बस्दै छ । सम्भवतः सोही बैठकले बाँकी ब्रोकरको शाखा विस्तारका लागि बोर्डलाई सिफारिस गर्नेछ,’ स्रोतले भन्यो, ‘सोमबारसम्मको तयारीअनुसार आएका सबै आवेदनलाई शाखा विस्तारको अनुमति दिइनेछ ।’

अहिले सम्बद्ध स्थानको आवश्यकता, सेयर कारोबारको सम्भावनालगायत पक्ष नहेरी ब्रोकरको शाखा विस्तारको अनुमति दिन लागिएको धितोपत्र बोर्डका अध्यक्ष हमाल स्विकार्छन् । ‘बोर्डमा जनशक्ति कम छ । यसकारण अहिले यस विषयमा अध्ययन गराउन सकिएको छैन । अहिलेलाई भौगोलिक रुपमा सेयर कारोबार नपुगेका स्थानलाई प्राथमिकता दिएर शाखा विस्तारको अनुमति दिएका छौं,’ उनले भने, ‘१० वटा ब्रोकरलाई १६ स्थानमा शाखा सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार गर्न सैद्धान्तिक सहमति दिइसकेका छौं । ती स्थानमा ब्रोकरले लगानी गरिसकेकाले उनीहरूले अनुमति पाउँछन् । बाँकी आवेदनको हकमा अध्ययन समिति गठन गरेर आवश्यकता र औचित्य पुष्टि हुने गरी मापदण्ड बनाएर मात्र अनुमति दिइन्छ ।’

प्राप्त सबै आवेदनलाई अनुमति दिने तयारीमा आफू नरहेको पनि उनको दाबी छ । ‘एकै स्थानमा धेरै ब्रोकरलाई शाखा खोल्न दिँदा विकृति आउँछ । त्यो कुरा बुझेका छौं,’ उनले भने, ‘त्यो समस्या आउन नदिन अहिले प्राप्त आवेदनमध्ये शाखा नभएका स्थानलाई पहिलो प्राथमिकता दिएका छौं ।’ शाखा नभएका स्थानमा मात्र शाखा विस्तारका लागि अनुमति दिइने बोर्डका अध्यक्ष हमालले बताए पनि हाल प्राप्त आवेदनमध्ये धेरैजसो एकै स्थानका छन् । ‘केही स्थानमा १० देखि १५ वटा शाखाका लागि आवेदन परेका छन्,’ स्रोतले भन्यो, ‘ब्रोकर नै नभएका स्थानका लागि धेरै कम मात्र आवेदन प्राप्त भएका छन् ।’ वस्तुस्थिति अध्ययन नगरी हचुवाका भरमा ब्रोकर लाइसेन्स र शाखा विस्तारको अनुमति दिने प्रवृत्ति गलत भएको र यसले दीर्घकालमा यो क्षेत्रमै विकृति ल्याउने जानकारहरू बताउँछन् । ‘सेयर कारोबार बैंकिङ जस्तो अत्यावश्यक र सबैको पहुँचमा पुर्‍याउने भन्ने होइन । यसकारण आवश्यकता र औचित्य नहेरी शाखा विस्तार गरिनुहुन्न,’ पुँजी बजारका विज्ञ एवं राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक गोपाल भट्टले भने, ‘कारोबारको अवस्था, ब्रोकरको क्षमतालगायत सबै पक्ष हेरेर मात्र यस्ता निर्णय गरिनुपर्छ । मनपरी अनुमति दिइँदा दीर्घकालमा समस्या आउँछ । यसबारे नियामक निकाय सचेत हुनुपर्छ ।’

हाल सञ्चालनमा रहेका ब्रोकरका शाखा कार्यालयको सञ्चालन विधिमा व्यापक परिमार्जन नगरी थप शाखा विस्तारका लागि अनुमति दिन नहुने अर्का एक जानकार बताउँछन् । ‘हाल सञ्चालनमा रहेका ब्रोकरका धेरै शाखा केन्द्रीय कार्यालयसँग आबद्ध त भएका छन् । तर तिनको व्यवस्थापन केन्द्रभन्दा छुट्टै हुने गरेको छ । यो एक प्रकारको ठेक्का जस्तै हो । त्यो पक्ष नियामक निकायले हेर्न सकेका छैनन्,’ ती अधिकारीले भने, ‘शाखा सञ्चालन गर्दा अहिले देखिएका उल्लिखित विकृति सुधार नगरी आएका जति सबैलाई अनुमति दिने बोर्डको तयारी शंकास्पद छ ।’ हाल सञ्चालनमा रहेका सबै ब्रोकर व्यक्तिगत लगानीका छन् ।

यसकारण अपेक्षित रूपमा संस्थागत क्षमता अभिवृद्धि हुन नसकेको, पुँजीगत क्षमता, सेवाको गुणस्तर, सुशासनलगायतमा अपेक्षित सुधार हुन नसकेको आरोप ब्रोकरहरूलाई लाग्दै आएको छ । यही कारण वाणिज्य बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन राष्ट्र बैंक, धितोपत्र बोर्डलगायतले आवश्यक नीतिगत व्यवस्था गरिसकेका छन् । यसअघि राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित अध्ययन समितिको प्रतिवेदन र संसद्को अर्थसमितिले रामकुमारी झाँक्रीको संयोजकत्वमा गठित अध्ययन समितिको प्रतिवेदनले पनि पुँजी बजारको विकासका लागि संस्थालाई ब्रोकर लाइसेन्स दिनुपर्ने सुझाएका छन् । बैंकको सहायक कम्पनीलाई लाइसेन्स वितरण गर्नकै लागि यसअघि नेप्सेले आवेदन आह्वानसमेत गरिसकेको छ । यसमा एक दर्जन वाणिज्य बैंकका सहायक कम्पनीले आवेदन दिएका छन् । त्यति बेला छनोट प्रक्रिया सुरु नहुँदै संसद्को अर्थ समितिको निर्देशनमा लाइसेन्स वितरण प्रक्रिया रोकिएको थियो, जुन अझै सुरु भएको छैन ।

यस्तो अवस्थामा संस्थागत लगानीमा ब्रोकर भित्र्याउनेतर्फ कुनै पहल नगरी नियामक निकाय धितोपत्र बोर्डले प्राप्त सबै आवेदनलाई शाखा विस्तारको अनुमति दिने तयारी गरेको छ । साथै ‘फ्रन्टलाइन रेगुलेटर’ नेप्सेले हालसम्म चल्दै आएको प्रचलन र कानुनी व्यवस्थाविपरीत परीक्षाबिनै ब्रोकर लाइसेन्स वितरणको तयारी गरेको छ । यसअनुसार संघ र प्रदेशमा छुट्टाछुट्टै ब्रोकर थप्ने नेप्सेको तयारी छ । यसरी राष्ट्रियस्तरको ब्रोकरका लागि न्यूनतम ७ करोड रुपैयाँ र प्रदेशका स्तरको ब्रोकरका लागि न्यूनतम ३ करोड रुपैयाँ चुक्ता पुँजी तोकिएको छ । हाल ब्रोकरको पुँजी न्यूनतम २ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था छ ।

अर्थमन्त्री जनार्दन शर्माको ठाडो निर्देशनमा नेप्सेले ठूलो संख्यामा सेयर ब्रोकर थप्ने तयारी गरेको स्रोतले बताएको छ । ब्रोकरको संस्थागत क्षमता, पुँजीगत आधार, सुशासनलगायत पक्ष अभिवृद्धि गर्नुको साटो सेयर ब्रोकर थप्ने नेप्सेको तयारीलाई सर्वत्र चासो र आशंकाका रूपमा हेरिएको छ ।

प्रकाशित : असार १४, २०७९ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?