१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

चारगुणा बढ्यो क्यूआर कोडमार्फत हुने भुक्तानी

वैशाखमा मात्रै १० अर्ब १९ करोड रूपैयाँ बराबरको भुक्तानी, कारोबार संख्यामा पनि उच्च वृद्धि
साना र खुद्रा कारोबारका लागि आफू रहेकै स्थानबाट पायक पर्ने समयमा भुक्तानी गर्न सकिने भएकाले उपभोक्ताको आकर्षण बढ्दो

काठमाडौँ — विद्युतीय भुक्तानीअन्तर्गत क्यूआर कोड प्रणालीमार्फत गरिने भुक्तानीको संख्या बढेको सरकारी तथ्यांकले देखाएको छ । वित्तीय कारोबारका लागि बैंकसम्म पुग्नु नपर्ने, आफू रहेको स्थानबाट पायक पर्ने समयमा भुक्तानी गर्न सकिनेलगायत कारण पछिल्ला वर्षमा यस्तो भुक्तानी बढेको हो ।

चारगुणा बढ्यो क्यूआर कोडमार्फत हुने भुक्तानी

नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनअनुसार क्यूआर कोडमार्फत गत वैशाख महिनामा मात्रै १० अर्ब १९ करोड १० लाख रुपैयाँ भुक्तानी भएको छ । यो तथ्यांक गत वर्षको यही अवधिको भन्दा करिब ४ गुणा अर्थात् ७ अर्ब ६७ करोड रुपैयाँले बढी हो । गत वर्षको वैशाखमा २ अर्ब ५२ करोड ९० लाख रुपैयाँको मात्रै कारोबार भएको थियो । कारोबार संख्यामा पनि भारी बढोत्तरी देखिएको छ । गत वैशाखमा ३० लाख ७१ हजार ८ सय ४३ वटा कारोबार हुँदा गत वर्षको वैशाखमा ६ लाख ७२ हजार वटा मात्रै कारोबार भएको थियो ।

साना र खुद्रा भुक्तानीका लागि सहज हुने हुँदा क्यूआर कोडमा आधारित भुक्तानीको परिमाण बढ्दै गएको छ । चैतमा ८ अर्ब ९४ करोड २० लाख, फागुनमा ७ अर्ब ७६ करोड २० लाख, माघमा ६ अर्ब ८९ करोड २० लाख, पुसमा ६ अर्ब ५२ करोड ५० लाख र मंसिरमा ६ अर्ब २८ करोड २० लाख भुक्तानी यसै माध्यमबाट भएको राष्ट्र बैंकको तथ्यांक छ । यसैगरी, कात्तिकमा ५ अर्ब ३६ करोड २० लाख, असोजमा ६ अर्ब ९ करोड ७० लाख, भदौमा ५ अर्ब ८५ करोड ७० लाख र साउनमा ५ अर्ब ५ करोड ६० लाख भुक्तानी भएको थियो ।

विद्युतीय भुक्तानीअन्तर्गत वैशाखमा मोबाइल र इन्टरनेट बैंकिङमार्फत हुने भुक्तानी भने घटेको छ । राष्ट्र बैंकको मासिक प्रतिवेदनअनुसार चैतमा मोबाइल बैंकिङमार्फत १ अर्ब १५ अर्ब ३९ करोड ८० लाख रुपैयाँ भुक्तानी भएकोमा वैशाखमा घटेर १ खर्ब १३ अर्ब ६२ करोड २० लाख रुपैयाँ मात्रै भुक्तानी भएको छ । वैशाखमा कारोबार संख्या १ करोड ७७ लाख ९१ हजार र चैतमा १ करोड ६४ लाख ५९ हजार थियो । यसअघि, मोबाइल बैंकिङमार्फत फागुनमा १ खर्ब ७ अर्ब ११ करोड ९० लाख र माघमा ९२ अर्ब ७६ करोड ८० लाख भुक्तानी भएको राष्ट्र बैंकको तथ्यांक छ ।

यसैगरी पुसमा ९४ अर्ब ४० करोड ७० लाख, मंसिरमा ८८ अर्ब ५३ करोड १० लाख, कात्तिकमा ७८ अर्ब १५ करोड ७० लाख, असोजमा ८७ अर्ब ७३ करोड २० लाख, भदौमा ७४ अर्ब ३१ करोड र साउनमा ७२ अर्ब ८७ करोड ३० लाख रुपैयाँ बराबरको भुक्तानी

भएको राष्ट्र बैंकले बताएको छ । उता, वैशाखमा इन्टरनेट बैंकिङमार्फत २ लाख ५२ हजार वटा कारोबार हुँदा ११ अर्ब ९१ करोड ७० लाख रुपैयाँ भुक्तानी भएको छ । चैतमा २ लाख ७४ हजार वटा कारोबारबाट १३ अर्ब ५ करोड ९० लाख रुपैयाँ भुक्तानी भएको थियो । साउनको तुलनामा वैशाखमा कारोबार संख्या र रकममा भारी गिरावट देखिएको छ । साउनमा ३ लाख ४० हजार पटक कारोबार हुँदा १५ अर्ब १७ करोड १० लाख रुपैयाँ भुक्तानी भएको थियो ।

साउनयता कुनै पनि महिनामा १५ अर्बसम्मको भुक्तानी इन्टरनेट बैंकिङमार्फत नभएको राष्ट्र बैंकले जनाएको छ । उसका अनुसार भदौमा १३ अर्ब ५० करोड ४० लाख, असोजमा १३ अर्ब ३४ करोड ४० लाख, कात्तिकमा ११ अर्ब ८३ करोड २० लाख, मंसिरमा १२ अर्ब ७३ करोड ५० लाख, माघमा १२ अर्ब ८९ करोड ९० लाख र पुसमा १३ अर्ब ४९ करोड ६० लाख रुपैयाँ भुक्तानी भएको छ । मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, वालेट, क्यूआर कोड, पीआएस, ई–कमर्सलगायत विद्युतीय भुक्तानीअन्तर्गत पर्छन् ।


प्रकाशित : असार १३, २०७९ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?