कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्टार्टअप व्यवसायका लागि साढे २४ करोडको लगानी सम्झौता

काठमाडौँ — स्टार्टअप व्यवसायका लागि साढे २४ करोडको लगानी सम्झौता भएको छ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको, नबिल बैंकद्वारा प्रस्तुत सीएनआईवाईईएफ नेपाल स्टार्टअप फेस्टमा सो लगानीको सम्झौता भएको हो । लगानीकर्ताले ती परियोजनामा इक्वीटी लगानी गर्न प्रारम्भिक सम्झौता गरेका हुन् ।  

स्टार्टअप व्यवसायका लागि साढे २४ करोडको लगानी सम्झौता

नेपाल स्टार्टअप फेस्टिभलको अन्तिम प्रतिस्पर्धामा पुग्न सफल स्टार्टअपसँग प्रारम्भिक लगानीको सम्झौता भएको हो । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले स्टार्टअप फेस्टमा सहभागी हुन परियोजनासहित लगानी प्रस्ताव आह्वान गरेको थियो । मेलामा देशभरबाट ३०० बढी परियोजना प्रस्ताव आएको थियो । त्यसमध्ये अन्तिम छनाोटमा परेका परियोजनाहरुलाई प्रस्तुतीकरणको अवसर दिइएको थियो ।

स्वपुँजी लगानी सम्बन्धी प्रारम्भिक सम्झौता भएका स्टार्टअपहरुमा भक्सक्रो, स्किल सेवा प्राइभेट लिमिटेड, टिम बेदा, खेती, डार्कम्याटर गेम प्रडक्सन, डिजिटल एज नेपाल, डक्टर्स अन कल रहेका छन् । यी स्टार्टअपमा टिम भेन्चर्स, ग्लोबल इक्वीटी फण्ड, अध्यान्ता फण्ड म्यानेजमेन्ट, हिमालयन क्यापिटल र टेलिभेन्चर पार्टनरले प्रारम्भिक लगानी सम्झौता गरेका हुन् । स्टार्टअप फेस्टको समापन समारोहमा अर्थमन्त्री जनार्दन शर्माले अन्तिम छनोटमा परेका परियोजनाहरुलाई अवार्ड प्रदान गरे ।

यसअघि शनिबार बिहान उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले स्टार्टअप फेस्टको उद्घाटन गरेका थिए । सो क्रममा उनले आर्थिक सम्मृद्धिका लागि निजी क्षेत्रसँगको सहकार्यलाई सरकारले उच्च प्राथमिकता दिएको बताए । नेपाल उद्योग परिसंंघका अध्यक्ष विष्णुकुमार अग्रवालले स्टार्टअपहरुलाई सबैभन्दा ठूलो चुनौती लगानी रहेकाले लगानी जुटाउने उद्देश्यले नै मेला आयोजना गरिएको बताए । युवा उद्यमीलाई पुँजीको कारण मात्रै उनीहरुको नविन सोच मर्न दिन नहुनेमा उनले जोड दिए । ‘यहाँ सहभागी प्रत्येक परियोजना अगाडि बढ्ने वातावरण बनोस् भन्ने हामी चाहन्छौं’ उनले भने । उनले राष्ट्रिय योजना आयोगले तयार पारेको स्टार्टअप उद्यम प्रबर्द्धनका लागि अनुदान तथा कर्जा प्रवाह कार्यविधि २०७८ तत्काल पास गरी कार्यान्वयनमा लैजान आग्रह गरे ।

कार्यक्रमका प्रमुख वक्ता उद्यमी तथा सांसद विनोद चौधरीले कार्यान्वयनयोग्य योजना लिएर अगाडि बढ्न युवाहरुलाई आग्रह गरे । विश्वमा धनी भएका व्यक्तिहरु निरन्तरको प्रयासबाट मात्रै सफल भएको भन्दै उनले आफ्नो योजनाको सफल कार्यान्वयनका लागि निरन्तर प्रयास गरिरहन आग्रह गरे । ‘आज तपाईंले गर्ने निरन्तरको प्रयासले भोलिको बिल गेट्स, ज्याक मा, विनोद चौधरी बन्न सक्नुहुन्छ । त्यसका लागि धैर्य, लगाब, योजना र प्रतिबद्धता आवश्यक पर्छ’ उनले भने ।


प्रकाशित : असार १२, २०७९ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?