कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इम्बोस्ड नम्बर प्लेट दुई प्रदेशमा मात्रै 

काठमाडौँ — पाँच वटा प्रदेशमा इम्बोस्ड नम्बर प्लेट लागू गर्ने भनिएपनि सबैमा तयारी नपुग्दा हाललाई दुई वटा प्रदेशमा मात्र लागू हुने भएको छ । गत कात्तिक २२ गते राजपत्रमा सूचना प्रकाशित गरेर नाम टुंगिएका प्रदेशमा लागू गर्ने भनिएपनि तयारी नहुँदा दुई वटा प्रदेशमा मात्रै लागू हुने भएको हो । यातायात व्यवस्था विभागका अनुसार वाग्मती र गण्डकी प्रदेशमा तयारी पूरा भएकाले साउन १ गतेबाट इम्बोस्ड नम्बर प्लेट लागू हुने छ । 

इम्बोस्ड नम्बर प्लेट दुई प्रदेशमा मात्रै 


राजपत्रमा प्रकाशित सूचनामा २०७८ मंसिरबाट नयाँ सवारी दर्ता, फागुन १ बाट नामसारी र जेठ १ बाट नवीकरण गर्ने सवारीले इम्बोस्ड नम्बर प्लेट अनिवार्य लिनुपर्ने उल्लेख छ । तर यो नियम पूर्ण रुपमा कार्यान्वयन नहुनुको प्रमुख कारण तयारी पूरा नहुनु हो । ‘काठमाडौं बाहिर गण्डकीको पोखरा र लुम्बिनीको बुटवलमा जनशक्ति व्यवस्थापन गरिसकिएको छ,’ यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले भने ‘गण्डकीमा तयारी भएपनि लुम्बिनीको यातायात व्यवस्था कार्यालयले तयारी गरिनसकेको हुँदा अहिले यो नियम लागू हुन सकेको छैन ।’ हेटौंडाका लागि जनशक्ति तयार गरेपनि त्यहाँ ठाउँ नदिएकाले समस्या भएको महानिर्देशक घिमिरेको भनाइ छ ।

‘सुदुरपश्चिम प्रदेशको इम्बोस्ड नम्बर प्लेटमा राख्ने नाम टुंगिन समय लागेकाले नम्बर प्लेट उत्पादन भएको छैन,’ महानिर्देशक घिमिरेले भने, ‘मधेश प्रदेशको नाम नम्बर प्लेटका लागि टुंग्याएर दिइएपनि प्लेट तयार भएको छैन ।’ उनका अनुसार वाग्मती, गण्डकी र कर्णाली प्रदेशका लागि मात्र नम्बर प्लेट तयार भएको छ । अबको १६ महिनामा २४ लाख ७५ हजार नम्बर प्लेट उत्पादन गरी सक्नुपर्ने छ । यो योजना सुरु भएको ६ वर्षमा बल्ल २५ हजार सवारीमा मात्र इम्बोस्ड नम्बर प्लेट जडान भएको छ । ‘नयाँ सवारी दर्ता गराउँदा इम्बोस्ड नम्बर प्लेट अनिवार्य रुपमै लिनु पर्छ,’ महानिर्देशक घिमिरेले भने, ‘अन्य सवारीको हकमा क्रमश: इम्बोस्ड नम्बर लिँदै जानु पर्ने छ ।’ उनका अनुसार काठमाडौंको एकान्तकुनामा चारपांग्रे सवारी र गुर्जुधारामा दुई पांग्रे सवारीकालागि इम्बोस्ड नम्बर प्लेट जडान गर्ने व्यवस्था गरिएको छ । त्यस्तै यातायात व्यवस्था विभागमा भने सरकारी सवारी साधनकालागि जडान गर्ने व्यवस्था गरिएको महानिर्देशक घिमिरेले बताए ।

कसरी गर्ने जडान ?

विभागको वेबसाइटमा गएर इम्बोस्ड नम्बर प्लेटकालागि अनलाईन निवेदन दिन सकिने छ । यसरी जम्मा भएको जानकारी यातायात कार्यालयको ढड्डामा अनलाइन आवेदनमा भएको विवरण ठिक छ छैन भनेर कार्यालयले चेकजाँच गर्ने छ । ढड्डा अनुसार ठिक भएको पुष्टि भएमा नम्बर प्लेट दिइने छ । प्लेटमा सवारी धनीको बायोमेट्रिक जानकारी राखेपछि सवारीमा प्लेट जडान गरिने छ । प्लेट जडान गर्नकालागि आवश्यक पर्ने राजश्व यातायात व्यवस्था कार्यालयमै तिर्नु पर्ने छ । राजश्व तिर्नेबित्तिकै तोकिएको ठाउँमा गएर नम्बर प्लेट जडान गर्नु पर्ने छ ।


प्रकाशित : असार १०, २०७९ १४:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?