कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निजी क्षेत्रको प्राथमिकतामा नवप्रवर्तन

काठमाडौँ — स्वदेशी उत्पादन प्रवर्द्धन तथा नयाँ र फरक सोचसहितका नवप्रवर्तित योजनालाई निजी क्षेत्रले प्राथमिकता दिन थालेका छन् । निजी क्षेत्रका छाता संगठनहरूले नवप्रवर्तन लक्षित विभिन्न कार्यक्रम सार्वजनिक गरिरहेका छन् ।

निजी क्षेत्रको प्राथमिकतामा नवप्रवर्तन

यसैबीच बिहीबार नेपाल उद्योग वाणिज्य महासंघले अगाडि सारेको ५० बिजनेस/५० लगानीकर्ता कार्यक्रमअन्तर्गत सम्भावित लगानीकर्तासमक्ष २० युवा उद्यमीले नवीनतम उद्यमबारे प्रस्तुति दिएका छन् । महासंघको यस कार्यक्रमअन्तर्गत मुरारका समूहले रासन टेकमा लगानी गर्ने घोषणासमेत गरेको छ ।

मुलुकभित्र नवीनतम सोच भएका नवप्रवर्तक स्टार्टअपलाई सम्भावित लगानीकर्ता जुटाइदिने उद्देश्यअनुरूप महासंघले यो कार्यक्रम सुरु गरेको हो । कार्यक्रममा महासंघका करिब २५ जना सम्भावित लगानीकर्ताको सहभागिता थियो ।

महासंघ आफैंले आवेदनमार्फत छानेका र महासंघको सहकार्यमा व्यावसायिक संघसंस्थाले विभिन्न समयमा गरेका स्टार्टअपसँग सम्बन्धित कार्यक्रममा उत्कृष्ट ठहरिएका स्टार्टअपले पिचिङ सेसनमा भाग लिएका थिए ।

पिचिङ सेसनमा कृषि, उत्पादनमूलक, खानपिन, सूचना प्रविधि, सेवासँग सम्बन्धित बिजनेस योजना प्रस्तुत भएका थिए । महासंघको स्टार्टअप एन्ड इनोभेसन समितिले गत वर्ष चैत ९ मा ५० बिजनेस/५० लगानीकर्ता कार्यक्रम घोषणा गरेको थियो ।

पिचिङ सेसनमा आमा एग्रो प्रालि, रासन टेक प्रालि, नेपाल एग्रो इन्पुट्स मार्केटिङ एन्ड आन्ट्रप्रेनरसिप सर्भिस (नेम्स), अंशु टेक्नोलोजी प्रालि, लुक्ला आउटडोर, पिक एन्ड ड्रप, एक कल होम सोलुसन्स, वेदा, अर्वान्स नेपाल, खानपिन, स्विट फिक्स, बिहे नेपाल, सारङ, कारखाना, ग्लोकल एकेडेमी अफ स्किल, ह्यापी माइन्ड्स, टेका, बोआफ्रेस, ज्वाला कृषि तथा पशुपालन उद्योग, निन्जा इन्फोसिस रहेको महासंघले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

महासंघले पहिलो पटक स्टार्टअप एन्ड इनोभेसन समिति नै गठन गरी यस क्षेत्रको प्रवर्द्धनमा काम गर्दै आएको बताएको छ । महासंघको ‘भिजन पेपर’ले पनि स्पार्टअप व्यवसायलाई मुख्य प्राथमिकतामा राखेको छ । एक वर्षभन्दा बढी समय अघिदेखि सञ्चालनमा रहेका र कम्तीमा पनि एक वर्षको लेखापरीक्षण प्रतिवेदन भएका, कानुनी रुपमा दर्ता भएका स्टार्टअप व्यवसाय योग्य मानिने महासंघको भनाइ छ ।

कार्यक्रमले नवीनतम सोच भएका र लगानीको अभावमा आफूलाई विस्तार गर्न नसकेका स्टार्टअपलाई लगानी जुटाउन सघाउने महासंघका अध्यक्ष शेखर गोल्छाले बताए । महासंघको आर्थिक रूपान्तरण २०३० (भिजन पेपर) ले पनि स्टार्टअप व्यवसायलाई जोड दिएको र सरकारले पनि आफूहरूकै सल्लाहमा यस क्षेत्रलाई प्राथमिकतामा राखेको उनको भनाइ छ ।

महासंघको यस किसिमको प्रयासले मुलुकभित्र स्टार्टअप व्यवसायमा नयाँ आयाम थप्ने स्टार्टअप एन्ड इनोभेसन समितिका सभापति रञ्जित आचार्यको दाबी छ । समितिले स्टार्टअप व्यवसायका क्षेत्रमा नीति निर्माणमा समेत गृहकार्य गरी सरकारलाई पेस गरेको र यस क्षेत्रको भविष्य निकै राम्रो रहेको उनको भनाइ छ । निजी क्षेत्रको अर्को संस्था नेपाल उद्योग परिसंघले पनि यसै साता नवप्रवर्तन लक्षित कार्यक्रम आयोजना गर्दै छ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आगामी यही असार ११ मा नेपाल स्टार्टअप फेस्ट २०२२ आयोजना गर्ने भएको हो । राष्ट्रिय योजना आयोग, युवा तथा साना व्यवसाय स्वरोजगार कोष र नेपालस्थित भारतीय राजदूतावासको समेत सहयोगमा मेला आयोजना गर्न लागिएको बताइएको छ ।

नेपालमा स्टार्टअपलाई अभियानका रूपमा अघि बढाउने र त्यस्ता व्यवसायलाई अर्थतन्त्रको महत्त्वपूर्ण अंगका रूपमा स्थापित गराउन प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको परिसंघले जनाएको छ । स्टार्टअप मेलामा लगानीका लागि परियोजनासहित प्रस्ताव पेस गर्न जेठ २८ सम्मको समय दिइएकामा देशभरबाट ३ सय वटा प्रस्ताव आएको पनि परिसंघको भनाइ छ । त्यसमध्ये नेपाल उद्योग परिसंघ, युवा उद्यमी मञ्च र लगानीकर्ताको टिमबाट छानिएका १० वटा प्रस्तावलाई प्रस्तुति गर्ने अवसर दिइनेछ । पुँजी लगानीको अवसर पनि दिइनेछ । स्टार्टअप फेस्टमार्फत ५० करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता आउने विश्वास गरिएको परिसंघले जनाएको छ ।

प्रकाशित : असार १०, २०७९ ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?