कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिर्तामोडमा आन्दोलनरत ११ व्यवसायी पक्राउ

अर्जुन राजवंशी

बिर्तामोड — विद्युत मिटर माग राख्दै आन्दोलनरत व्यवसायीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिर्तामोड नगरपालिकास्थित ५ कृषिथोक बजार नजिकको बुधबारे हटियाका व्यापारीलाई विद्युत मिटर उपलब्ध गराउनुपर्ने माग राख्दै उद्योग वाणिज्य संघ बिर्तामोडको नेतृत्वमा चार दिनदेखि आन्दोलन जारी छ ।

बिर्तामोडमा आन्दोलनरत ११ व्यवसायी पक्राउ

बुधबार जारी प्रदर्शनको क्रममा ११ जना प्रदर्शनकारी व्यापारीहरूलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार मध्याह्न नगरपालिका अगाडि धर्ना दिने क्रममा आन्दोलनरत व्यापारी र प्रहरीबीच घम्साघम्सी भएको थियो । यस क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी रुगमबहादुर कुंवरले जानकारी दिए ।

पक्राउ पर्नेमा वाणिज्य संघका अध्यक्ष प्रकाश सिवाकोटी, वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, सहकोषाध्यक्ष राधिका चुडालसहित ११ जना छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

नगरपालिकाको स्वामित्वमा रहेको जग्गामा व्यापार व्यवसाय गर्दै आएका करिब ७० जना व्यापारीलाई बिजुली बाल्न पाउने वातावरण बनाइदिने गरी मिटरको सिफारिस दिनुपर्ने वाणिज्य संघको माग छ ।

उक्त जग्गामा नगरपालिकासँग अनुमति नै नलिई व्यापार व्यवसाय गर्दै गरेका व्यापारीलाई विद्युत मिटर उपलब्ध गराउन नसकिने नगरपालिकाको भनाइ छ । समस्या समाधानका लागि नगरपालिकाले उपमेयर नगेन्द्र संग्रौलाको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

प्रकाशित : असार ८, २०७९ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?