कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिमा कम्पनीमा पहिलो मर्जर, एभरेस्ट र हिमालयन गाभिए

साउन १ देखि एकीकृत कारोबार सुरु हुने

काठमाडौँ — एभरेस्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीबीच मर्जर प्रक्रिया पूरा भएको छ । मंगलबार बिमा समितिले ती कम्पनीलाई मर्जरको अन्तिम स्वीकृति दिने निर्णय गरेपछि प्रक्रिया पूरा भएको हो । कम्पनीको सबै कागजातका आधारमा मंगलबारको निर्णय अनुसार दुई कम्पनीलाई मर्जरपछिको एकीकृत कारोबार सञ्चालनका लागि अन्तिम स्वीकृति प्रदान गरिएको बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए । प्रक्रिया पूरा भएसँगै यो मर्जर बिमा क्षेत्रकै पहिलो हो ।

बिमा कम्पनीमा पहिलो मर्जर, एभरेस्ट र हिमालयन गाभिए

एभरेस्ट इन्स्योरेन्सको १ सय कित्ता सेयर बजार हिमालयन जनरल इस्योरेन्सको ८५ कित्ता (१:८५) अनुपातमा गाभिएका हुन् । मर्जरपछि बन्ने नयाँ कम्पनी ‘हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड’को नाममा सञ्चालनमा आउने छ । कम्पनीले नयाँ आर्थिक वर्षको सुरु (साउन १ गते) देखि एकीकृत कारोबार सुरु गर्ने बताएको छ ।

मर्जरपछि नयाँ कम्पनीको सञ्चालक समिति अध्यक्षमा हिमालयन जनरल इस्योरेन्सको तर्फबाट हुने सहमति भएको छ । तीन जना सञ्चालक हिमालयबाट र तीन जना एभरेष्ट बैंकबाट प्रतिनिधित्व गर्नेछन् । यस्तै, प्रमुख कार्यकारी अधिकृतमा विजयबहादुर शाह र वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृतमा कमल गौतम रहनेछन् । शाह अहिले हिमालयन जनरल इन्स्योरेन्स र गौतम एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन् ।

मर्जरपछिको कम्पनीको पुँजी करिब २ अर्ब २३ करोड पुग्नेछ । बिमा समितिले एक वर्षभित्र कम्तीमा साढे २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउन निर्देशन दिएको छ । बाँकी पुँजी तोकिएको समयभित्र पुर्‍याउने कम्पनीको दाबी छ । हाल एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब २५ करोड र हिमालयनको १ अर्ब १७ करोड रुपैयाँ छ । मर्जरपछि ७५ वटा शाखामार्फत कम्पनीले बिमा सेवा प्रदान गर्नेछ ।

प्रकाशित : असार ७, २०७९ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?