कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुढीगण्डकीको मुआब्जामा पौने ५ अर्ब निकासा

प्रभावितको खातामा पुगेको रकम बैंकले ‘होल्ड’ गरेको गुनासो
गोरखा

काठमाडौँ — बुढीगण्डकी डुवान प्रभावितलाई दुई चरणमा ४ अर्ब ७० करोड रकम निकासा भएको छ । बुढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा, वातावरण, पुनर्बास तथा पुनःस्थापना इकाइले डुबान क्षेत्रमा पर्ने घर, गोठ, संरचना र बोटविरुवाको मुआब्जा रकम वितरण गरेको हो । हालसम्म ३ हजार ४ सय ६८ जनाको खातामा रकम निकासा भएको इकाइका प्रमुख जगतकुमार श्रेष्ठले जानकारी दिए ।

बुढीगण्डकीको मुआब्जामा पौने ५ अर्ब निकासा

दुई चरणमा गोरखा र धादिङका प्रभावितको खातामा इकाइले रकम निकासा गरेको छ । मुआब्जाका लागि अझै करिब २ हजार प्रभावितले निवेदन दिएको श्रेष्ठले बताए । चालु आर्थिक वर्षमा ६ करोड रकम मुआब्जा वितरण गर्ने लक्ष्य रहेको उनको भनाइ छ । ‘जग्गाको पनि केही मुआब्जा बाँकी छ । तर यो वर्ष हामी घर, गोठ, फलफूल र बोटबिरुवाको मुआब्जा वितरणमा केन्द्रित छौं,’ उनले भने ।

बुढीगण्डकी डुवान प्रभावितलाई संरचना र बोटबिरुवाको मुआब्जा वितरणका क्रममा खातामा गएको रकम बैंकले विभिन्न बहाना बनाएर रोक्ने गरेको बुढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिले जनाएको छ । सोमबार विज्ञप्ति जारी गर्दै समितिले मुआब्जा रकम बैंकमा दाखिला भएको १५ दिनभन्दा बढी हुँदा पनि बैंकले प्रयोग गर्न नदिएको बताएको हो । विभिन्न बैंकको खातामा डुवान प्रभावितलाई दिएको मुआब्जा रकम सम्बद्ध बैंकले विभिन्न बहानामा प्रयोग गर्न रोक लगाएको सरोकार समितिका संयोजक हरेराम ढकालले गुनासो गरे ।

‘बैंकमा पैसा होल्ड भएको छ, दाखिला भएको १५ दिनभन्दा बढी हुँदा पनि बैंकले प्रयोग गर्न नदिनुमा आयोजना कार्यालयका जिम्मेवार अधिकारी र बैंकका कर्मचारीको मिलेमतोमा कमिसनको खेल भएको त होइन भन्ने शंका उत्पन्न भएको छ,’ ढकालले भने, ‘आफ्नो खातामा आएको रकम प्रयोग गर्न दिनबाट वञ्चित गर्ने बैंकको यो रबैया भर्त्सनायोग्य छ ।’ मुआब्जा खातामा आएको रकम सम्बन्धित व्यक्तिको चाहनाअनुसार प्रयोग गर्न दिन सम्बन्धित बैंकलाई समितिले आग्रहसमेत गरेको छ ।

प्रकाशित : असार ७, २०७९ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?