कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

चक्रपथको दोस्रो खण्ड विस्तारमा अझै अलमल

तयारी थालेको तीन वर्ष बित्दा पनि विस्तार अघि बढ्न सकेन
विमल खतिवडा

काठमाडौँ — चक्रपथको दोस्रो खण्ड (कलंकी–नारायणगोपाल चोक) विस्तारबारे अझै अलमल कायमै छ । काम अघि बढाउन भन्दै चिनियाँ प्राविधिक टोली गत मंसिरमा साइट भिजिट गर्न नेपाल आएको थियो । दोस्रो खण्ड क्लियर छ/छैन भनेर चीनको हेनान प्रोभेन्सियल कम्युनिकेसन प्लानिङ सर्भे एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीले पठाएको चार जनाको प्राविधिक टोली साइट भिजिट गरेर फर्किर्एको थियो । तर त्यसपछि यस खण्डको विस्तारमा अहिले थप काम केही हुन सकेको छैन । ‘मंसिरसम्म जे प्रगति थियो, अहिले पनि त्यही छ,’ सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले भने ।

चक्रपथको दोस्रो खण्ड विस्तारमा अझै अलमल

अहिले चीनबाट प्राविधिक टोली आउन सकेका छैनन् । चीनको सांघाईमा कोभिडले गर्दा लकडाउन भएको र त्यही कारणले प्राविधिक टोली आउन ढिलाइ भएको महानिर्देशक थापाको भनाइ छ । अब निर्माण गर्ने भनिएको कुनै पनि खण्डमा समस्या नरहेको उनले प्रस्ट्याए । तर सडक विस्तार क्षेत्रमा पर्ने महाराजगन्ज खण्डका १९ वटा घरबारे टुंगो नलगाएसम्म चिनियाँ प्राविधिक टोलीले नआउने अडान लिएको सडक विभाग स्रोतको भनाइ छ । ‘पहिलो खण्ड निर्माणका क्रममा साइट क्लियर नभई ठेक्कामा जाँदा ढिलाइ भएको टोलीले औंल्याएको थियो,’ विभाग स्रोतले भन्यो, ‘अहिले पनि त्यही समस्या नदोहोरियोस् भनेर टोलीको पहिलो सर्त नै पूर्ण साइट क्लियर होस् भन्ने छ ।’

महानिर्देशक थापा भने घरले कुनै असर नगर्ने र पछि त्यो ठाउँमा परे नेपाल सरकार आफैंले सडक विस्तार गर्ने प्रतिबद्धता चिनियाँ टोलीलाई दिइसकेको बताउँछन् । ‘महाराजगन्ज खण्डमा पर्ने घरहरूबाहेक अन्य समस्या केही छैन,’ थापाले भने, ‘चिनियाँ पक्षबाट काम गर्दागर्दै घर सार्न सकियो भने त्यहाँ काम गर्न समस्या हुनेछैन भनेर जानकारी गराइसकेका छौं ।’ तर यस विषयमा चिनियाँ प्राविधिक टोलीको केही प्रतिक्रिया नआएको उनले जानकारी दिए ।

चक्रपथको दोस्रो खण्ड विस्तारमा नेपाल सरकारको स्रोतबाट बनाउनुपर्ने काम पनि धेरै रहेको महानिर्देशक थापाले बताए । सरकारले काठमाडौं उपत्यकाको सवारी चापलाई व्यवस्थापन गर्न चक्रपथ विस्तार आयोजनाअन्तर्गत कलंकी–नारायणगोपाल चोक खण्डको विस्तार गर्न भन्दै आगामी आर्थिक वर्ष ०७९/८० का लागि १ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । ‘ढल हाल्ने, सर्भिस रोड बनाउनेलगायत काम गर्न यो बजेट व्यवस्थापन गरिएको हो,’ थापाले भने, ‘तर काम गर्न ढिलाइ भइरहेको छ । प्राविधिक टोली आए डिजाइनमा छलफल गरेर प्रक्रिया अघि बढाउन सकिने थियो ।’

डिजाइन र कन्स्ट्रक्सन टोली चीन सरकारले नै पठाउनेछ । पहिलो फेज (कोटेश्वर–कलंकी) को आयोजना कार्यान्वयन गर्दा लामो समय लाग्यो । समयमै साइट क्लियर हुन सकेन । अहिले कलंकीदेखि महाराजगन्जसम्म ८.२ किलोमिटर सडक विस्तार गर्न लागिएको हो । चीन सरकारको अनुदान सहायतामा विस्तार हुन लागेको सडकअन्तर्गत महाराजगन्जको २ सय ४४ मिटर खण्डमा मात्र समस्या छ ।

सुरुमा नेपाल सरकारले चीनसँग कलंकीदेखि–धोबीखोला (गोपीकृष्ण हल नजिकको पुल) सम्म ११.६ किमि सडक विस्तार गर्न आग्रह गरेको थियो । तर चीन सरकारले यसलाई तेस्रो खण्डमा विस्तार गर्ने योजना रहेको बताएको थियो । ‘हामीले कलंकीदेखि धोबीखोलासम्म नै विस्तार गर्न माग गरेका हौं,’ थापाले भने ।

चीन फर्किएको टोलीले थप कुनै जानकारी नदिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रमुख सहसचिव केशवकुमार शर्माको भनाइ छ । ‘अहिलेसम्म यसमा थप प्रगति केही हुन सकेको छैन, जसले गर्दा निर्माणमा ढिलाइ हुने देखिन्छ,’ उनले भने । सडक विस्तारका लागि तयारीको काम थालेको तीन वर्ष बितिसकेको छ । पहिलो खण्ड विस्तार गर्ने बेला सबै साइट क्लियर गरिसकेपछि मात्र चिनियाँ टोलीले काम गर्न आउने सहमतिपत्रमा हस्ताक्षर गरिएको थियो । यसअघि पनि चीनकै अनुदान सहायतामा चक्रपथ पहिलो खण्ड (कोटेश्वर–कलंकी सडक) आठ लेनमा विस्तार भएको थियो ।

प्रकाशित : असार ६, २०७९ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×