जहाँ बन्छन् खरायोको ऊनका टोपी- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जहाँ बन्छन् खरायोको ऊनका टोपी

रोकायाबाडाका ४ सयभन्दा बढी घरमध्ये आधामा खरायो पालिएको छ, जसबाट किसानले आम्दानी मात्र गरेका छैनन्, गाउँलाई नमुना पनि बनाएका छन्
डीबी बुढा

जुम्ला — जिल्लाको चन्दननाथ नगरपालिका–८ को रोकायाबाडा गाउँ खरायो पालनका लागि प्रख्यात मानिन्छ । यहाँका किसानले खरायोको ऊनबाट टोपी बुन्छन् । उक्त टोपी रोकायाबाडाको पहिचान बनेको छ । धेरैले त यसलाई खरायोको गाउँका रुपमा चिन्छन् ।

आफूले पालेका खरायोलाई घाँस खुवाउँदै जुम्लाको चन्दननाथ नगरपालिका–८, रोकायाबाडा गाउँका विष्णु रोकाय । तस्बिर : डीबी/कान्तिपुर

हरेक घरमा खरायो पालिएको छ । खरायोको उनबाट टोपी बुन्ने काम पनि भइरहन्छ । ३७ वर्षीय विष्णु रोकायाले खरायो पाल्न थालेको २७ वर्ष बित्यो । उनले ६० वटा खरायो पालेका छन् । चारवटा खरायोको ऊनबाट एउटा टोपी बुन्छन् । त्यसलाई बजार लगेर ३ हजार रुपैयाँमा बेच्छन् । एउटा टोपी तयार हुन दुई दिन लाग्छ । विष्णु गाउँमै एक नमुना खरायो पालक किसान हुन् ।

विष्णुका बुबा तुलराज रोकाया भेडापालक किसान थिए । उनले नै सबैभन्दा पहिले खरायो भित्र्याएका हुन् । भेडाको ऊनबाट राडीपाखीलगायत कपडा बुन्दै आएका तुलराजले पहिलो पटक खरायोको ऊनबाट टोपी बुने । त्यो टोपी दुई सय रुपैयाँमा विक्री भएको थियो । पहिलो पटक खरायोको टोपी बजारमा लैजान पाउँदा खुसी भएका उनले दोस्रो पटक मफ्लर बुने । त्यो मफ्लर ५ हजार रुपैयाँमा बिक्न थाल्यो । अनि व्यावसायिक रूपमा खरायोपालनमा लागेको विष्णुको भनाइ छ ।

विष्णुको आम्दानीको स्रोत नै खरायोको टोपी हो । एक महिनामा ८ वटा टोपी तयार पार्छन् । यसबाट महिनामा न्यूनतम २५ हजार रुपैयाँ कमाउँछन् । रोकायाबाडामा ४ सयभन्दा बढी घर छन् । तीमध्ये आधा घरधुरीमा खरायो पालिएको छ । सबैको घरमा १० देखि ८० वटासम्म खरायो पालिएको छ । गाउँमा हुने शुभकार्यदेखि सदरमुकाम खलंगामा हुने बिदाइ तथा सम्मानमा पनि खरायोको टोपीको प्रयोग भइरहेको छ । अतिथिका रुपमा जुम्ला पुग्ने सेनाका उच्च अधिकारीदेखि सरकारी स्तरका माथिल्लो तहका सबैलाई खरायोको टोपीले स्वागत गरिन्छ । जुम्लामा बुनेको टोली नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासम्म पुगिसकेको छ ।

प्रत्येक तीन महिनामा खरायोको ऊन निकालिन्छ । टोपीका लागि कालो र सेतो ऊन भएको खरायो पालिन्छ । खरायोपालनमा लागेपछि किसानको प्रगति भइरहेको छ । विष्णुले मात्र खरायोको टोपी बेचेर पाँच लाख रुपैयाँ बचत गरेका छन् । नुन, तेल र बच्चाबच्चीको स्कुल खर्च पनि त्यही रकमले चल्छ । ‘अर्काको चाकरी गरेर ऋण माग्नुपरेको छैन । गाउँमा सबैले खरायो पालेपछि व्यावसायिक रूपमा लागेको छु । खरायोको टोपी बेचेर १५ लाख रुपैयाँ कमाएको चन्दननाथ बहुउद्देश्यीय सहकारीले यस वर्ष ३० लाख रुपैयाँको टोपी बेचिसकिएको बताएको छ । सबै टोपी रोकायाबाडाबाटै आएका हुन् ।

किसानबाट ३ हजारमा टोपी किनेर ३ हजार ५ सयमा बेच्ने गरिएको सहकारीका कार्यकारी प्रबन्धक ऋषिराम पाण्डेले जनाए । ‘टोपीको माग सबैतिर छ । तर मागअनुसार पठाउन सकिएको छैन । खरायोको टोपी जुम्ली किसानको पहिचान बनिसकेको छ,’ उनले भने । सबैभन्दा बढी काठमाडौं, भैरहवा र नेपालगन्जमा खरायोको टोपीको माग छ । विदेशी पर्यटकले पनि यो टोपी लैजाने गरेका छन् । प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रधानसेनापति, प्रहरी महानिरीक्षकदेखि मन्त्रीसम्म खरायोको टोपी पुगेको पाण्डेको भनाइ छ ।

प्रकाशित : असार ५, २०७९ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्

जुम्लाका बारीभरि फुजी स्याउ

‘केही बगैंचामा हल्का रोगकिराको संक्रमण देखिए पनि समग्रमा जिल्लाभरि फुजी स्याउको उत्पादन राम्रो देखियो’
डीबी बुढा

जुम्ला — जिल्लाका गाउँ–गाउँमा फुजी स्याउको उत्पादन सुरु भएको छ । परीक्षणका लागि रोपिएको फुजी स्याउले उत्पादन दिन थालेको हो । नयाँ जातको स्याउ उत्पादनपछि बगैंचा हेर्नेको घुइँचो पनि लागेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ स्याउ सुपरजोनले जिल्लामा ३७ वटा बगैचामा फुजी स्याउका बेर्ना वितरण गरेको थियो । ती बगैंचामा न्यूनतम ५ सयदेखि ३ हजारसम्म फुजी स्याउका बिरुवा रोपिएका छन् । चन्दननाथ–भैरवनाथ मन्दिरको जग्गा पनि फुजी स्याउ रोपिएको छ । त्यहाँ फलेको स्याउ हेर्न आउनको संख्या दिनदिनै बढिरहेको स्थानीय कमल देवकोटाले बताए । उनका अनुसार अहिले फुजी स्याउका बारेमा अध्ययन गर्ने र बजारको अवस्था बुझने काम भइरहेको छ । ‘सुरुमा बिरुवा रोप्दा जुम्ली हावापानी उपयुक्त हुँदैन कि जस्तो लागेको थियो,’ उनले भने, ‘स्याउले त राम्रै उत्पादन दिन थाल्यो, कलरदेखि गुणस्तरमा कुनै कमी छैन ।’

गत वर्ष जुम्लाका किसानले प्रतिकिलो २ सय ५० रुपैयाँमा फुजी स्याउ बिक्री गरेका थिए । स्याउ किसान अलि मनियारले स्याउमा चिनीको मात्रा र कलर पनि राम्रो रहेको बताए । उनका अनुसार केही किसानले आफैं ग्राफ्टिङ गरेर बिरुवा उत्पादन सुरु गरेका छन् । बारीमा स्याउको बोटमुनि विभिन्न कोषेबाली रोपिएको उनले बताए । उनले अघिल्लो वर्ष झन्डै १ हजार बिरुवा रोपेका थिए । यो वर्ष पनि थप १ हजार बिरुवा रोप्ने उनको तयारी छ । उनको बगैंचामा स्याउका विज्ञहरू पनि आउजाउ गर्छन् । उनीहरूले बगैंचामा देखिएको रोगकिराको प्रकोपका बारेमा पनि अध्ययन अनुसन्धान गरिरहेका छन् ।

एक साताअघि भारत उत्तराञ्चल प्रदेशस्थित हरि अर्गानिक मिनियर लिमिटेडका विज्ञहरूले जुम्लाका स्याउ बगैंचाको अध्ययन गरेका थिए । फुजी स्याउको व्यावसायिक खेतीका लागि किसानलाई खेती गर्ने तरिका, मलखाद व्यवस्थापन, बगैंचा काँटछाँटलगायतमा सहयोग गरिरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जनाएको छ । ‘केही बगैंचामा हल्का रोगकिराको संक्रमण देखिए पनि समग्रमा जिल्लाभरि फुजी स्याउको उत्पादन राम्रो देखियो,’ स्याउ सुपरजोन प्रमुख गंगाकुमारी पोखरेलले भनिन्, ‘स्याउमा भविष्य देखेका फुजी स्याउको व्यावसायिक खेतीमा लागेका छन् ।’

स्याउ सुपरजोनले पहिलो पटक भारतको कास्मिरबाट फुजी स्याउ निकालेको थियो । प्रतिबिरुवा १२ सय रुपैयाँमा १ हजार ३ सय बिरुवा जुम्ला पुर्‍याइएको आयोजनाले जनाएको छ । जुम्लामा स्थानीय जातको स्याउ रोप्दा फल पाउन झन्डै ३ देखि ५ वर्ष कुर्नुपर्छ तर फुजी स्याउले रोपेको ६ महिनामै फल दिने भएकाले योप्रति किसानको आकर्षण बढेको छ । केही किसानले भने व्यक्तिगत लगानीमै फुजी स्याउका बिरुवा मगाएर लगाइरहेका छन् । फुजी स्याउको एउटा बिरुवाले १५ वर्षसम्म फल दिने प्रमुख पोखरेलले बताइन् ।

प्रकाशित : जेष्ठ ३१, २०७९ १०:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×