कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मर्स्याङ्दी-काठमाडौं प्रसारण लाइन आयाेजना सम्पन्न

काठमाडौं उपत्यकामा विद्युत् प्रवाहका लागि लाइफ लाइन आयोजना : प्राधिकरण 

काठमाडौँ — मर्स्याङ्दी  नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौ उपत्यकामा ल्याउन निर्माण गरिएको मर्स्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन सम्पन्न भएको छ । तनहुँको आँबुखैरनी गाउँपालिकाको मार्कीचोकबाट काठमाडौंको मातातीर्थसम्मको ८२ किलोमिटर प्रसारण लाइनलाई बिहीबारबाट १३२ केभीमा विद्युत प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको छ । 

मर्स्याङ्दी-काठमाडौं प्रसारण लाइन आयाेजना सम्पन्न

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लाइन निर्माण सम्पन्न भएसँगै काठमाडौं उपत्यकामा थप विद्युत् प्रवाहका लागि विश्वसनीय प्रसारण सञ्जाल तयार भएको बताए । ‘हाल चालु रहेको मर्स्याङ्दी–स्यूचाटार १३२ केभी सिंगल सर्किट मात्रै थियो, जुन लाइनबाट करिब एक सय मेगावाटभन्दा बढी विद्युत् प्रवाह हुन सक्दैन थियो । मर्स्याङ्दी–काठमाडौंलाई तत्कालका लागि १३२ केभीमा सञ्चालन ल्याएसँगै अब थप करिब २ सय मेगावाटसम्म विद्युत् काठमाडौं उपत्यकामा प्रवाह हुन सक्छ’, कार्यकारी निर्देशक घिसिङले भने । भरतपुर–हेटौंडा १३२ केभी सिंगल सर्किट मात्रै भएकोले त्यहाा पनि विद्युत प्रवाहका लागि समस्या थियो । ‘कुलेखानी नचलेको बेलामा मर्स्याङ्दी–काठमाडौं प्रसारण लाइनमार्फत विद्युतलाई काठमाडौं हुँदै हेटौंडातर्फ र हेटौंडाबाट काठमाडौंतर्फ थप विद्युत् प्रवाह गराउन सकिन्छ, यो लाइन काठमाडौं उपत्यकामा विद्युत् प्रवाहका लागि लाइफलाइन हो’ उनले भने ।

मर्स्याङ्दी–काठमाडौं प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी टाटा प्रोजेक्टसँग १६ असारमा १ करोड ३ लाख अमेरिकी डलर र ७६ करोड ६३ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । आयोजना निर्माण २०७३ भदौबाट सुरु भएको थियो । तनहुँ, गोरखा, चितवन, धादिङ र काठमाडौं जिल्लामा पर्ने प्रसारण लाइनमा २३३ टावर रहेका छन् । प्रसारण लाइनको परामर्शदाता सेवा पावर ग्रिड कर्पोरेसन अफ इन्डिया र नेपालको जेड कन्सल्टले दिएका थिए ।

प्रसारण लाइनको रुटको विभिन्न ठाउँमा स्थानीयको अवरोधका कारण निर्माणमा केही ढिलाइ भएको हो । आयोजना अन्तर्गत काठमाडौंको मातातीर्थ र तनहुँको मार्किचोकमा २२०/१३२/३३ केभी, ३२० एमभीए क्षमताको सबस्टेसनहरु निर्माणाधीन छन् । सबस्टेसनहरुको निर्माण सम्पन्न भएपछि प्रसारण लाइन २२० केभीमा सञ्चालनमा ल्याइने छ । नेपाल सरकारको लगानी र नर्वे सरकार तथा एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा आयोजना निर्माण गरिएको हो ।

प्रकाशित : असार ३, २०७९ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?