कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

वाग्मती प्रदेश डिजिटल प्रदेश

काठमाडौँ — स्वास्थ्य, शिक्षा, इन्टरनेट र यातायात लगायतका आधारभूत पूर्वाधारमा अग्रणी स्थानमा रहेकोले वाग्मती प्रदेशलाई डिजिटल प्रदेशको रूपमा विकास गर्न सकिने सम्भावना रहेको राष्ट्र बैंकको एक प्रतिवेदनमा औंल्याइएको छ  । मंगलबार सार्वजनिक गरिएको 'आर्थिक गतिविधि अध्ययन–२०७८/७९’ अर्ध–वार्षिक प्रतिवेदनमा वाग्मती प्रदेशलाई डिजिटल प्रदेश बनाउन सकिने भनिएको हो । यहाँ अनलाइन व्यापार, फुड डेलिभरी, राइड सेरिङ लगायतका सेवामूलक व्यापारमा उच्च सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ ।

वाग्मती प्रदेश डिजिटल प्रदेश

डिजिटल प्रविधिको उच्चतम प्रयोग गरी औद्योगिक उत्पादनको बजार विस्तार गर्न तथा नयाँ उत्पादनको रिसर्च गर्न सकिने सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ । ‘प्रविधिको उच्चतम प्रयोग गरी पेपरलेस अफिस सञ्चालन गर्न सकिने सम्भवना छ,’ प्रतिवेदनमा भनिएको छ, ‘सरकारी कार्यालय, सामुदायिक अस्पताल तथा सामुदायिक विद्यालयमा सुपथ मूल्यमा हाई स्पिड इन्टरनेट प्रदान गरी सेवाको गुणस्तर वृद्धि गर्न सकिन्छ ।’

वाग्मती प्रदेशमा बैंकिङ सेवा, सञ्चार माध्यम, इन्टरनेट, मोबाइल लगायतमा युवाहरूको आकर्षण र पहुँच राम्रो रहेकोले एप्लिकेसन डेभेलपमेन्ट, ई–लर्निङ, ई–कन्सल्टेन्सी, ई–लाइब्रेरी लगायतका प्रविधिमैत्री सेवाको विस्तार हुने राष्ट्र बैंकको अध्ययन प्रतिवेदनमा छ ।

प्रतिवेदनले औंल्याएका चुनौतीमा भने क्रिप्टोकरेन्सी र अनौपचारिक अर्थतन्त्रका कुरा समेटिएका छन् । ‘बढ्दै गरेको डिजिटल तथा अनलाइन प्लेटफर्मका माध्यमबाट अदृष्य रूपमा क्रिप्टोकरेन्सीमा लगानी बढ्न सक्ने तथा अनौपचारिक अर्थतन्त्रको हिस्सा बढ्न सक्ने भएकोले सो कारोबारलाई नियन्त्रणमा राख्नु यस प्रदेशका चुनौती हुन्,’ प्रतिवेदनमा भनिएको छ, ‘यातायात, मालपोत, राहदानी विभाग लगायत सेवाग्राहीको चाप बढी रहने कार्यालयहरूमा इन्टरनेट, सफ्टवेयर, कम्प्युटर तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि गरी छिटो छरितो सेवा प्रवाह गर्नु अर्को चुनौती हो ।’

प्रकाशित : जेष्ठ ३१, २०७९ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?