कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५३

तनहुँ जलविद्युत्‌को समय धकेलिने जोखिम

सोङ दा–कालिका कन्स्ट्रक्सन जेभीको काममा हेलचेक्य्राइँ
पहुँचमार्ग निर्माणमा ढिलाइ, विस्फोटक पदार्थ अभाव, न्यून र अदक्ष कर्मचारी परिचालनलगायत समस्या
हेमन्त जोशी

काठमाडौँ — तनहुँ हाइड्रोपावर लिमिटेडले बनाइरहेको १ सय ४० मेगावाट उत्पादन क्षमताको तनहुँ जलविद्युत् आयोजनाले तोकिएको समयभित्र निर्माण सम्पन्न गर्न नसक्ने देखिएको छ । ठेकेदार कम्पनीले काममा ढिलासुस्ती गरेपछि आयोजनाको निर्माण सम्पन्न मिति पर धकेलिने भएको हो ।
काम सुस्त भएपछि अघिल्लो साता मात्रै तनहुँ हाइड्रोपावर सञ्चालक समितिले आयोजनाका ठेकेदार, परामर्शदाता तथा इन्जिनियरहरूलाई बोलाएर तोकिएको समयभित्रै काम सक्न निर्देशन दिएको छ ।

तनहुँ जलविद्युत्‌को समय धकेलिने जोखिम

विभिन्न तीन प्याकेजमा बाँडेर काम भइरहेको आयोजनामा अहिले सबैभन्दा बढी प्याकेज–१ मा समस्या देखिएको छ । प्याकेज–१ अन्तर्गत बाँध र जलाशयको काम भियतनामको सोङ दा कर्पोरेसन र नेपालको कालिका कन्स्ट्रक्सनको संयुक्त उपक्रम (जोइन्ट भेन्चर) मा भइरहेको छ । यो ठेकेदार कम्पनीले काममा हेलचेक्य्राइँ गर्न थालेपछि नदीको धार परिवर्तन (रिभर डाइभर्सन), डाइभर्सन टनेल, स्लोप प्रोटेक्सनलगायत काम सुस्त छन् ।

प्याकेज–१ अन्तर्गतका काम प्रभावित हुनुमा डिजाइन परिवर्तन र साइट क्लियरेन्स मुख्य कारण रहेको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठले बताए । सम्झौता भएको ६ महिनापछि मात्र ठेकेदारले काम सुरु गर्नु, पर्याप्त जनशक्ति र मेसिनरी उपकरण परिचालन नगर्नु, विस्फोटक सामग्री अभाव हुनुलगायत समस्याले पनि केही ढिलाइ भएको उनको भनाइ छ । ‘गत वर्ष मार्चमा ठेक्का सम्झौता भए पनि कार्यान्वयनमा भने सेप्टेम्बरबाट मात्र गएको हो । डाइभर्सनमा सुरुको डिजाइन पनि परिवर्तन गर्नुपर्‍यो । डिजाइन परिवर्तन र पहुँचमार्ग समयमा बन्न नसक्नु पनि कारण देखिए,’ श्रेष्ठले भने, ‘प्याकेज–२ ले बाटो बनाइदिनुपर्ने थियो । तर चिनियाँ कम्पनीले पहुँचमार्ग निर्माणमा ढिलाइ गरेका कारण केही ढिलाइ भयो । जनशक्ति र उपकरण परिचालनको पनि समस्या देखिएको छ ।’ ठेकेदार कम्पनी सोङ दा–कालिका जेभीले आयोजनाका लागि निकै कम र अदक्ष जनशक्ति परिचालन गरिरहेको छ । त्यस्तै करिब २ महिनासम्म विस्फोटक पदार्थ नपाएका कारण त्यसले पनि असर गरेको आयोजनाले जनाएको छ ।

आयोजना समयमै सम्पन्न हुनेमा शंका देखिएपछि गत साता मात्रै सञ्चालक समितिले ठेकेदार कम्पनीहरूलाई समेत राखेर समीक्षा बैठक गरेको र तोकिएको समयभित्रै काम सक्न निर्देशन दिइएको श्रेष्ठले पुष्टि गरे । आयोजनाको रिभर डाइभर्सनको काम यसै वर्ष नभई अर्को वर्ष मात्रै सक्नुपर्ने गरी कार्यतालिका रहेको पनि उनले स्पष्ट पारे । ‘रिभर डाइभर्सन यसै वर्ष बनिसक्नुपर्ने भनेर माथिल्लो तहमै गलत बुझाइ रहेछ । तर अर्को वर्षायामसम्म सकिसक्नुपर्ने कार्यतालिका छ । यद्यपि कामको गति हेर्दा त्यो बेलासम्ममा पनि सकिनेमा भने शंका छ,’ श्रेष्ठले भने, ‘ठेक्का सम्झौता गरिसकेपछि समयमा काम गर्नुपर्छ भन्ने एउटा पक्ष हो । ढिलो हुनुको कारणको भागेदार कसलाई गर्ने भन्ने अर्को पक्ष रहन्छ ।’

रिभर डाइभर्सनको काम ढिला हुनुमा ठेकेदार मात्र नभई अरू पक्ष पनि जिम्मेवार रहेको र यसले आयोजनाको निर्माण सम्पन्न हुने मिति १ वर्षसम्म पर धकेलिन सक्ने देखिएको कार्यवाहक परियोजना प्रबन्धक राजाभाइ शिल्पकार बताउँछन् । ‘काम ढिला हुनुमा सबै पक्षको दोष छ र तर हामीले सक्दो कोसिस गरिरहेका छौं । रिभर डाइभसर्नको काम सक्न अझै एक वर्ष समय छ । ठेकेदारले रिकभर गर्न सक्छ । तर कामको गति पुगेन भन्ने हो,’ शिल्पकारले भने, ‘अर्को वर्षायाम सुरु हुन्जेलसम्म नदीको धार फर्काउन सकिएन भने समग्र आयोजनाको काम नै एक सिजन पर धकेलिन सक्छ ।’

दक्ष कामदार नखटाइनु र विस्फोटक पदार्थ समयमा नपाउनुलाई काम सुस्त हुनुको कारण ठान्छन् शिल्पकार । ‘पहिले एउटा ठेकेदारको विस्फोटक पदार्थ अर्को ठेकेदारले पनि प्रयोग गर्न पाउँथ्यो । तर त्यो व्यवस्था परिवर्तन भयो । सरकारी निकायबाटै ठेकेदारले विस्फोटक पाएन । अर्को भनेको आयोजनामा जानेको मान्छे थोरै भए,’ उनले भने ।

त्यसो त प्याकेज–१ अन्तर्गतको काममा २ पटकसम्म ठेकेदार कम्पनी काम छोडेर हिँडेपछि ठेक्का प्रक्रिया नै लामो समय गिजोलिएको थियो । सुरुमा प्याकेज–१ को ठेक्का इटालियन कम्पनी सीएमसीले पाएको थियो । तर आर्थिक रूपमा टाट पल्टिएको भन्दै सीएमसी आयोजनाबाट बाहिरियो । दोस्रो पटकको ठेक्का प्रक्रियामा सहभागी कम्पनीहरू ‘प्राविधिक रूपमा अयोग्य’ रहेको भन्दै आयोजनाले उक्त ठेक्का पनि रद्द गर्‍यो । अहिले काम गरिरहेको सोङ दा–कालिका जेभी तेस्रो पटकको ठेक्का प्रक्रियाबाट छानिएको हो । पहुँचमार्ग निर्माणको काम पहिले प्याकेज १ मै राखिएको थियो । तर त्यो बेला सीएमसीले काम छोडेर हिँडेपछि त्यसको जिम्मा प्याकेज २ लाई दिइयो । पछि प्याकेज–१ का लागि सोङ दा–कालिका जेभी छानिएपछि सडक निर्माणको बाँकी काम उसैलाई जिम्मा दिइएको हो ।

आयोजनाको हालसम्मको कुल प्रगति ३० प्रतिशत बराबर छ, जसमा प्याकेज–१ मा १२, पावर हाउसअन्तर्गतका काम रहेको प्याकेज–२ मा ४५ र प्रसारणलाइनअन्तर्गतका काम रहेको प्याकेज–३ मा ६० देखि ६५ प्रतिशतसम्म प्रगति भएको जनाइएको छ । प्याकेज–२ मा आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनका काम छन् । अहिले ठेकेदार कम्पनीले केबल सुरुङ, मुख्य पहुँच सुरुङ निर्माण सम्पन्न गरी भूमिगत विद्युत्गृह खनिरहेको र सर्जट्यांकतर्फको पहुँच सुरुङ निर्माणको काम गरिरहेको कार्यवाहक परियोजना प्रबन्धक शिल्पकारले जानकारी दिए । आयोजनाको प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन छ । प्रसारणलाइनमा ९४ टावरमध्ये ४६ टावर बनिसकेको र २४ वटाको जग हालिसकिएको उनको भनाइ छ । ०८३ असारभित्र आयोजनाको समग्र निर्माण सक्ने लक्ष्य छ ।

तनहुँ जलविद्युत् नेपालको विद्युत् प्रणाली व्यवस्थापनका लागि महत्त्वपूर्ण ठानिएको आयोजना हो । अहिले धेरैजसो जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित रहेका कारण हिउँदयाममा पानीको सतह घट्दा बिजुली उत्पादन पनि घट्छ । तर तनहुँ जलविद्युत्लाई जलाशयमा आधारित भएकाले हिउँदयामको माग धान्न महत्त्वपूर्ण आयोजनाका रूपमा हेरिएको छ । तोकिएको समयमै निर्माण सम्पन्न भए यो कुलेखानीपछिको दोस्रो जलविद्युत् आयोजना हो । यसको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर बराबर छ । यसमध्ये एसियाली विकास बैंक (एडीबी) को १५ करोड अमेरिकी डलर ऋणका लागि ०७० वैशाखमा, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख अमेरिकी डलरका लागि ०६९ फागुन ३० मा र युरोपियन लगानी बैंकको ८ करोड ५० लाख अमेरिकी डलरका लागि ०७० वैशाख २४ मा ऋण सम्झौता भएको देखिन्छ । आयोजनामा नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणले ८ करोड ६० लाख अमेरिकी डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

प्रकाशित : जेष्ठ ३०, २०७९ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×