कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

उद्योग मन्त्रालयलाई महिला उद्यमीको सुझाव: सहुलियतमा परियोजना कर्जा दिइयोस् 

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिले महिला उद्यमी व्यवसायीहरुको विकास, विस्तार तथा प्रवर्द्धनका लागि आवश्यक नीतिगत एवम् प्रक्रियागत सुधारका लागि उद्योग मन्त्रालयमा लिखित सुुझाव दिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेललाई बुधबार मन्त्रालयमा भेटेर समितिले उक्त सुुझाव पेश गरेको हो ।

उद्योग मन्त्रालयलाई महिला उद्यमीको सुझाव: सहुलियतमा परियोजना कर्जा दिइयोस् 

सातै वटा प्रदेशका महिला उद्यमी व्यवसायीहरु र महिला उद्यमी समितिबाट विभिन्न मितिमा संचालित कार्यक्रमहरुबाट आएका सुझावलाई समेटिएको छ । महासंघबाट पेश गरिएको सुुझावमा मुख्यतया महिला उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिइनुपर्ने, सूचनाको पहुँच, पुनर्कर्जा, परियोजना कर्जा उपलब्ध गराउनुपर्ने सुझाव दिइएको छ । वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम, दर्ता नगरी संचालित लघु, घरेलु तथा साना उद्योगहरुलाई दर्ता प्रक्रियामा लैजाने सहज व्यवस्था, वस्तु बजारीकरण लगायतका विषयमा पनि सुझाव दिइएको छ ।

भेटवार्ताका क्रममा उद्योग सचिव पोखरेलले महिला उद्यमीका लागि व्यावसायिक महत्वका कार्यक्रम ल्याउने, व्यापार मेलामा महिला उद्यमीहलाई प्राथमिकता दिने, वित्तीय साक्षरता, सूचनाको पहुँच लगायतका अन्य प्रवर्द्धनात्मक कार्यक्रमहरुका लागि सहकार्य गर्दै जाने प्रतिबद्धता जनाए । सचिव पोखरेलले कृषि क्षेत्रको प्रवर्द्धनका लागि खेतदेखि उद्योगसम्मको अवधारणा ल्याएको र यसको डिजाइन गर्दा महासंघसँग सहकार्य गर्ने बताए । यसैगरी स्वदेशी वस्तुको प्रयोगका लागि गुणस्तर र मूल्यमा ध्यान दिन आग्रह गर्दै उत्पादित वस्तुको ब्राण्ड स्थापित गर्न समेत सल्लाह दिए । महासंघकी महिला उद्यमी विकास समिति सभापति रिता सिंहको नेतृत्वमा समितिका ७ सदस्यीय टोलीले भेटवार्ता गरेको थियो ।


प्रकाशित : जेष्ठ २६, २०७९ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?