कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निजी लगानीको लिखु-४ बाट उत्पादित बिजुली पनि भारत जान थाल्यो

काठमाडौँ — निजी क्षेत्रबाट प्रवर्द्धित आयोजनाको बिजुली पहिलोपटक भारत जाने भएको छ । बिहीबार रातिबाट ५२.४ मेगावाट उत्पादन क्षमताको लिखु–४ जलविद्युत् आयोजनाको बिजुली भारत बेच्न लागिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । लिखु–४ आयोजनामा ग्रीन भेन्चर्स लिमिटेडको लगानी छ ।

निजी लगानीको लिखु-४ बाट उत्पादित बिजुली पनि भारत जान थाल्यो

‘आजबाट लिखु–४ थपिएसँगै नेपालले कुल ७ हजार ७ सय मेगावाट आवर बराबर बिजुली भारत पठाउने भएको छ,’ नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले भने, ‘भारतले अनुमति दिएका सबै आयोजनाको बिजुली आजबाट इन्डियन इनर्जी एक्सचेन्जमा जान थालेको छ ।’ योसँगै नेपालले भारतमा बिजुली बेचिरहेका जलविद्युत् आयोजनाको संख्या ६ वटा पुगेको छ । यसअघि सरकारी लगानीका मध्यमर्स्याङ्दी, मर्स्याङ्दी, त्रिशुली, देवीघाट र कालीगण्डकीबाट उत्पादित बिजुली भारत गइरहेको थियो । अझै २ वटा आयोजना ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी र ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको बिजुली किन्नका लागि भने भारतले अझै आनाकानी गरिरहेको छ ।

नेपालले गत वर्ष कात्तिक १७ गते पहिलोपटक इन्डियन इनर्जी एक्स्चेन्ज’ (आईईएक्स) मा बिजुली बेच्ने अनुमति पाएको थियो । आईईएक्समा बिजुली बेच्न अनुमति पाएसँगै २४ मेगावाटको त्रिशुली र १५ मेगावाटको देवीघाट गरी कुल ३९ मेगावाट बिजुली गत वर्ष नै भारत जान थालिसकेका थिए । तर अरु आयोजनाका लागि भने भारतले अनुमति दिएको थिएन । गत फागुन दोस्रो साता काठमाडौंमा बसेको नेपाल भारत ऊर्जा सचिवस्तरीय संयूक्त संयन्त्र ‘जोइन्ट स्टेयरिङ कमिटी’ (जेएससी) को बैठकपछि भारत नेपालबाट थप बिजुली लैजान सहमत भएको थियो । जसअनुसार नेपालले १ सय ४४ मेगावाट क्षमताको कालीगण्डकी, ६९ मेगावाटको मर्स्याङ्दी, ७० मेगावाटको मध्यमर्स्याङ्दी र ५२ मेगावाटको लिखु–४ गरी कुल ६ वटा आयोजनाको ३ सय ६४ मेगावाट बिजुली किन्ने सहमति दिएको छ ।

प्रकाशित : जेष्ठ २६, २०७९ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?