२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०९

एआई प्रयोग गर्नेमा भारत र चीन संसारकै अग्रणी

काठमाडौँ — आर्टफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गर्नेमध्ये भारतीय र चिनियाँ कम्पनीहरू सबैभन्दा अगाडी रहेको पाइएको छ । प्रविधिमा विकसित देशहरूभन्दा यी दुई देशमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग बढी रहेको एक सर्वेक्षणले देखाएको छ ।

एआई प्रयोग गर्नेमा भारत र चीन संसारकै अग्रणी

प्रख्यात अमेरिकी प्रविधि कम्पनी आईबीएमले हालै सार्वजनिक गरेको सर्वेक्षणको प्रतिवेदनमा भनिएको छ, ‘चीन र भारतका कम्पनीहरू एआई प्रयोगमा अगाडी छन् । यहाँका ६० प्रतिशत आईटी व्यवसायीहरूले आफ्ना संस्थाहरूमा एआईको सक्रिय प्रयोग हुने गरेको बताएका छन् ।’ प्रविधिमा अगाडी मानिने दक्षिण कोरिया, अस्ट्रेलिया, अमेरिका र बेलायतमा भारत र चीनमा भन्दा कम एआईको प्रयोग हुने गरेको सर्वेक्षणमा उल्लेख छ ।

दक्षिण कोरियाका कम्पनीहरूमा २२ प्रतिशत, अस्ट्रेलियामा २४ प्रतिशत, अमेरिकामा २५ प्रतिशत र बेलायतका कम्पनीमा २६ प्रतिशत मात्रै एआई प्रयोग हुने गरेका छन् । वित्तीय संस्था, सञ्चार माध्यम, ऊर्जा तथा अटोमोटिभ क्षेत्र, अन्तरिक्ष सम्बन्धिका उद्योगमा कर्मचारीलेहरू बढी मात्रामा एआई प्रविधि प्रयोग गर्ने गरेको पाइएको छ । सर्वेक्षणका अनुसार खुद्रा व्यापार, भ्रमण तथा स्वास्थ्य सेवा, सरकारी र संघीय तहहरूले एआई प्रविधिमा कम चासो देखाउने गरेका छन् ।

अ‍मेरिका, बेलायत, फ्रान्स, जर्मनी, स्पने, इटली, चीन, भारत, सिंगापुर, अस्ट्रेलिया, क्यानडा, संयुक्त अरब ईमिरेट्स र दक्षिण कोरियाका ५ सयभन्दा बढी सहभागीमाझ सर्वेक्षण गरिएको आईबीएमले जनाएको छ । ल्याटिन अमेरिकी देश (ब्राजिल, मेक्सिको, कोलम्बिया, अर्जेन्टिना, चिली र पेरु) मा पनि १ हजार सहभागीमाझ सर्वेक्षण गरिएको थियो । यहाँका चारमध्ये एक कम्पनीले श्रमिक वा दक्ष जनशक्तीको अभावका कारण आर्टिफिसियल इन्टेलिजेन्सको सहारा लिने गरेका छन् । पाँचमध्ये एकले चाहिँ वातावरणीय दबाबका कारण एआई प्रयोग गर्ने गरेको पाइएको छ ।

स्रोत: ग्लोबल एआई एडप्सन इन्डेक्स २०२२

कम्पनीको खर्च कटौती गर्नुका साथै कार्यविधिलाई स्वचालित प्रणालीमा लैजान एआईको प्रयोग बढिरहेको सर्वेक्षणले देखाएको छ । कोभिड–१९ महामारी, कम्पनी कल्चर, एआईमा भएको विकास आदि कारणले यो प्रविधि धेरैको पहुँचमा पुगेको पाएको छ । मान्छेको बौद्धिक श्रम खाँचो पर्ने कार्यहरूमा एआईले सहयोग गर्न सक्छ । डिजिटल कम्प्युटर प्रणालीको विकास भएपछि कृत्रिम बौद्धिकताको सुरुवात भएको थियो । एआई भनेकै डिजिटल कम्प्युटर वा कम्प्युटरबाट चल्ने रोबटद्वारा गरिने कार्य हुन् ।

स्वचालित सवाल–जवाफ (च्याट बट), आवाज–पहिचान गर्ने सिरी, एलेक्साजस्ता सहयोगी, भाषा अनुवाद गर्ने गुगल ट्रान्स्लेट आदि एआईका उदाहरण हुन् । प्रविधिमा हाम्रो निर्भरता बढेसँगै एआईको प्रयोग बढ्दै जाने ‘आईबीएम ग्लोबल एआई एडप्सन इन्डेक्स २०२२’ प्रतिवदेनमा भनिएको छ । आउने दिनमा अध्ययन तथा अनुसन्धान, श्रमशक्तीको विकास लगायत कार्यमा एआईको प्रयोग बढ्ने अनुमान गरिएको छ ।

प्रकाशित : जेष्ठ २१, २०७९ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?