कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अब नेपालमा पनि पूर्ण डिजिटल बैंक

भारतमा यसै आवमा ७५ वटा नयाँ बैंक खुल्दै, चीनको ‘वी बैंक’ विश्वकै सबैभन्दा ठूलो, सफल र उत्कृष्ट
सजना बराल

काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेट भाषणमा पूर्ण डिजिटल (डिजिटल–ओन्ली) बैंक स्थापना गर्ने घोषणा गरे । पूर्ण डिजिटल बैंक स्थापनाका लागि आवश्यक सबै व्यवस्था मिलाउने मन्त्री शर्माको भनाइ थियो । घोषणामा भनिएअनुसार बैंक स्थापना भए यो नेपालकै पहिलो पूर्ण डिजिटल बैंक हुनेछ ।

अब नेपालमा पनि पूर्ण डिजिटल बैंक

छिमेकी मूलक भारतमा यस वर्ष एकैपटक ७५ वटा डिजिटल बैंक स्थापना गर्ने त्यहाँकी वित्तमन्त्री निर्मला सीतारमणले बताएकी छन् । उत्तरी छिमेकी चीनमा भने विश्वकै ठूलो डिजिटल बैंक सञ्चालनमा छ ।

सन् २००८ को विश्वव्यापी आर्थिक संकटपछि डिजिटल बैंकहरू खुल्न थालेका थिए । सन् २०१४ पछि डिजिटल बैंकहरू फस्टाउने क्रम सुरु भएको हो । असामान्य परिस्थितिमा पनि कर्जा प्रवाहलाई यथावत् राखी व्यवसायहरू चलायमान बनाउन पूर्ण डिजिटल बैंक महत्त्वपूर्ण मानिन्छन् । वित्तीय क्षेत्रमा अनुसन्धान गर्दै आएको संस्था ‘द एसियन ब्यांकर’ हालै मात्र विश्वभर सञ्चालित त्यस्ता पूर्ण डिजिटल बैंकहरूबारे अध्ययन गरेर प्रतिवेदन सार्वजनिक गरेको हो । उक्त अध्ययनमा विश्वका सय अग्रणी डिजिटल बैंकमध्ये चीनको वी बैंक सबैभन्दा ठूलो, सफल र उत्कृष्ट रहेको उल्लेख छ ।

उक्त ‘ग्लोबल टप हन्ड्रेन्ड डिजिटल बैंक र्‍याङ्किङ, २०२२’ प्रतिवेदनअनुसार सन् २०२१ मा विश्वका अग्रणी सय डिजिटल बैंकको एकत्रित सम्पत्ति २ ट्रिलियन (२० खर्ब) अमेरिकी डलर पुगेको छ । तिनले वर्षभरिमा ५१ बिलियन (५१ अर्ब) डलर कुल आम्दानी गरेका छन् । अध्ययनमा उल्लेखित सय डिजिटल बैंकमध्ये २९ वटाले मात्रै नाफा कमाइरहेको प्रतिवेदनमा उल्लेख छ । नाफा कमाउनेमा चीनको वी बैंक, अमेरिकाको एली बैंक, नेदरल्यान्ड्सको आईएनजी समूहअन्तर्गतको डिजिटल बैंकलगायत छन् । वी बैंकलाई उदाहरणीयसमेत मानिएको छ ।

डिजिटल बैंकसम्बन्धी यस्तो अध्ययन पहिलोपटक भएको ब्यांकरको दाबी छ । ब्यांकरको ‘ट्याब इन्साइट्स’ नामक संस्थाले डिजिटल रूपमा मात्रै सञ्चालित विश्वका बैंकहरूको लेखाजोखा गरेको हो । यी बैंकका भौतिक आउटलेट छैनन् वा कम छन् । सबै बैंकिङ कार्य अनलाइनमार्फत हुन्छ । परम्परागत वाणिज्य बैंकहरूसँग नजोडिईकन यिनले ग्राहकलाई पृथक् भर्चुअल बैंकिङ अनुभव प्रदान गर्छन् । विश्वका ३६ मुलुकका डिजिटल बैंकबारे अध्ययन गर्दा व्यक्तिगत वित्त, सम्पत्ति व्यवस्थापन र साना तथा मझौला बैंकिङमा जोड दिने बैंकहरू बढी नाफा कमाउन सफल भएको उक्त अध्ययनको निष्कर्ष छ ।

कुल ६९ अर्ब डलर सम्पत्ति रहेको वी बैंकलाई विश्वकै उत्कृष्ट डिजिटल बैंक भनिएको छ । यो बैंक सामाजिक सञ्जाल र वीच्याट तथा वीच्याट पे डिजिटल भुक्तानी प्रणालीमा आबद्ध छ । चीनका अधिकांश वित्तीय संस्था वी बैंकसँग जोडिएका छन् । प्रतिदिन ३६ करोड अमेरिकी डलर कारोबार गर्ने यो बैंकले विश्वमै पहिलोपटक बृहत् आकारको ‘ब्लक चेन’ प्रविधि अपनाएर बैंकिङ क्षेत्रमा ठूलो सफलता हासिल गरेको अध्ययनमा भनिएको छ ।

एली र आईएनजी विश्वमै पहिलो पुस्ताका पूर्ण डिजिटल बैंक हुन् । प्रविधिमा आधारित यी बैंकहरूले गैरडिजिटल ग्राहकलाई सेवा दिँदैनन् । अर्थात्, मोबाइल फोन, इन्टरनेट वा कम्युटर नचलाउनेले यी बैंकमा पहुँच राख्न सक्दैनन् । अमेरिकाकै सबैभन्दा ठूलो डिजिटल बैंक एलीको सम्पत्ति १ खर्ब ७३ अर्ब डलर छ । यसलाई डिजिटल बैंकको विश्वव्यापी सूचीमा दोस्रो नम्बरमा राखिएको छ । सन् २०२१ मा आवास कर्जा, लगानी कर्जा, बिमाहरूमा राम्रो प्रतिफल हासिल गरेर एली बैंकले कीर्तिमानी कायम गरेको अध्ययनले जनाएको छ । सूचीको तेस्रो स्थानमा रहेको आईएनजी ग्लोबलको सुविधा अस्ट्रेलिया, फ्रान्स, जर्मनी, इटाली, स्पेन, बेलायत र अमेरिकामा उपलब्ध छ । आईएनजी बैंकको शाखारहित रिटेल बिजनेसका रूपमा सन् १९९७ मा स्थापना भएको आईएनजी डाइरेक्ट आधुनिक डिजिटल बैंकिङमा सफल मानिन्छ ।

क्षेत्रगत रूपमा हेर्दा दक्षिण अमेरिकामा ब्राजिलको नु ब्यांक नाफा कमाउनेहरूको सूचीमा पर्छ । दक्षिण अफ्रिकामा टाइम बैंक सफल छ भने बेलायतमा वाइज बैंक, मध्यपूर्वमा मासरेक बैंकको एनईओ सफल छ । दक्षिण पूर्वी एसियामा थाइल्यान्डको लाइन बीकेले पछिल्लो ३ वर्ष निरन्तर नाफा कमाइरहेको छ ।

पूर्ण डिजिटल बैंकको नाफा–घाटाको ग्राफ हेर्दा सन् २०२२ मा यिनले मनग्गे नाफा कमाउने अध्ययनको निचोड छ । ‘अहिलेका अग्रणी सयवटा बैंकमध्ये सन् २०२४ सम्ममा अधिकांश बैंक नाफा कमाउनेको सूचीमा पर्नेछन्,’ अध्ययनको आकलन छ, ‘सूचना प्रविधिमा भएको प्रगति र ग्राहकको सहजता, यी दुई कारणले बैंकिङ प्रणालीमा ठूलो परिवर्तन ल्याइरहेका छन् । नियामकलाई भने चुनौती थपिएका छन् ।’

भारतमा त्यहाँको रिजर्भ बैंक र नीति आयोगले डिजिटल बैंकलाई नियमन गर्न यसैपालि पहिलोपटक रेगुलेटरी ट्रयाक (नियमनकारी नीति) बनाएको छ । मुलुकका ७५ जिल्लामा ७५ वटा डिजिटल बैंक बनाउनेबारे बजेटमै घोषणा भएपछि उक्त नीति बनाइएको हो । त्यहाँको मुख्य बैंकिङ प्रणालीमा हुलाक कार्यालयहरू शतप्रतिशत जोडिएको हुनुपर्ने व्यवस्था छ ।

हामीकहाँ पनि दुर्गम क्षेत्रमा वित्तीय सुविधा पुर्‍याउने कुरा बजेट भाषणमा समावेश थियो । साथै, डिजिटल बैंकिङ सेवाको गुणस्तर तथा सुरक्षा प्रत्याभूत गरिने अर्थमन्त्री शर्माले बताएका थिए । बजेट कार्यान्वयनमा प्रश्न उठ्ने गरेकाले हामीकहाँ कहिले, कस्तो र कसरी डिजिटल बैंकको स्थापना हुन्छ, नियमन कस्तो हुन्छ भन्नेबारे जनचासो छँदै छ ।

प्रकाशित : जेष्ठ २०, २०७९ ०६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?