कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

‘साना तथा मझौला उद्यमीलाई कर्जा पाउनै मुस्किल’

काठमाडौँ — पर्याप्त धितो नभएका साना तथा मझौला उद्यमीहरुलाई बैंक तथा वित्तीय संस्थाबाट कर्जा पाउनै मुस्किल छ । लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गर्न पाउने सीमा भन्दा माथि रहेका र अरु ठूला बैंक तथा वित्तीय संस्थाको प्राथमिकतामा नपरेका साना तथा मझौला उद्यमीहरुलाई कर्जा प्राप्तीमा समस्या भएको बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन)ले जनाएको छ ।

‘साना तथा मझौला उद्यमीलाई कर्जा पाउनै मुस्किल’

यही विषयमा केन्द्रित रहेर परिसंघ र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले बुधबार संयुक्त रुपमा एक अन्तर्क्रिया कार्यक्रम आयोजना गरेका हुन् । नेपालमा घरेलु, लघु, साना तथा मझौला उद्यमलाई अर्थतन्त्रको आधार स्तम्भ मानिन्छ । वित्तीय साधनको पहुँचमा कठिनाइ हुनाले उनीहरुको विकास एवम् विस्तारमा बाधा पुगिरहेको गुनासो छ । यी कम्पनीमाझ वित्तीय पहुँच अभिवृद्धिका लागि परिसंघ र आईएफसीले कार्यक्रम आयोजना गरेका हुन् ।

नेपालमा लघु, घरेलु, साना तथा मझौला उद्यमहरु (एसएमइज) ‘क्रेडिट ग्याप’ करिब ३.६ अर्ब रुपैयाँ रहेको विश्व बैंकको तथ्याङ्कले देखाएको छ । विकास निर्माणको करिब ९८ प्रतिशत हिस्सा ओगटेको र करिब ५७ प्रतिशत श्रमशक्तिलाई रोजगारी प्रदान गरिरहेको यस क्षेत्रको योगदान महत्वपूर्ण रहे पनि घरजग्गा धितोको अभावका कारण कर्जा र वित्तीय पहुँचमा सो क्षेत्रले समस्या झेल्दै आइरहेको परिसंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘अहिलेको उन्नत बजारमा चल सम्पत्तिलाई बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्राप्तीका लागि धितोको प्राथमिक आधारका रुपमा प्रयोग गर्ने गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हाल प्रचलित चल धितो सम्पत्तिले वित्तीय एवम् आर्थिक विकास र कर्जाको जोखिम, कर्जा लागत न्यूनीकरण गर्नुका साथै लघु, घरेलु, साना तथा मझौला उद्यमको वित्तीय पहुँच बढाउन मद्दत पुर्‍याउँछ ।’ परिसंघका अध्यक्ष पवनकुमार गोल्यानले चल धितो सम्पत्तिको अवधारणाले लघु, साना तथा मझौला उद्यमी तथा व्यवसायी, कृषि व्यवसायी कारोबारी एवम् पूर्वाधार विकास कम्पनीहरुको वित्तीय पहुँचमा महत्वपूर्ण सहयोग गर्ने बताए । उनले भने ‘लघु, घरेलु, साना तथा मझौला उद्यम र संस्थागत क्षेत्रको वित्तीय पहुँच बढाउन एवम् वित्तीय समावेशीकरण र आयात प्रतिस्थापनको वृहत उद्देश्य प्राप्त गर्न चलधितो सम्पत्तिको अवधारणालाई प्रोत्साहन गर्नुपर्छ ।' अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी/विश्व बैंक) का विषय विज्ञहरुले सुरक्षित कारोबार र वित्तीय पहुँच विस्तारका व्यवसायिक उदाहरणहरु प्रस्तुत गर्दै नेपालमा धितो दर्ताको भूमिका र सुरक्षित कारोबार तथा वित्तीय पहुँचलाई अझ प्रभावकारी र सुदृढ बनाउन के गर्न सकिन्छ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।


प्रकाशित : जेष्ठ १८, २०७९ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×