कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०९

खुला क्षेत्र घटाएर मनपरी अग्ला भवन ! 

हाउजिङ व्यवसायीको दबाबमा भुइँ क्षेत्र अनुपात र सेटब्याक घटाइयो
विमल खतिवडा

काठमाडौँ — घरजग्गासम्बन्धी कारोबार गर्ने ठूला व्यवसायीको दबाबमा भवन बनाउँदा छाड्नुपर्ने खुला क्षेत्रफलसम्बन्धी मापदण्ड संशोधन गरिएको छ । भूकम्पीय दृष्टिले जोखिम र व्यवस्थित बस्ती विकासको मर्मविपरीत सहरी विकास मन्त्रालयले भवन बनाउँदा खाली छाड्नुपर्ने क्षेत्रफल घटाउने र कम जग्गामा अग्ला भवन बनाउन मिल्ने गरी मापदण्ड संशोधन गरेको हो । 

खुला क्षेत्र घटाएर मनपरी अग्ला भवन ! 

मन्त्रालयले घरजग्गा व्यवसायीको दबाबमा पर्दै ‘बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड–२०७२’ संशोधन गरेको हो । पहिला मापदण्डअनुसार काठमाडौं उपत्यकामा घर बनाउन भुइँ क्षेत्र अनुपात (फ्लोर एरिया रेसियो) चक्रपथभित्र ३ र बाहिर ३.५ हुनुपर्ने व्यवस्था थियो ।

अब काठमाडौं उपत्यकामा व्यापारिक तथा सभा, सम्मेलन भवन बनाउँदा ३.५, आवासीय भवन ४, मिश्रित आवासीय भवन ४.५ र संस्थागत भवन निर्माण गर्न भुइँ क्षेत्र अनुपात २.५ हुनुपर्नेछ । त्यस्तै पहाडमा बनाइने व्यापारिक तथा सभा, सम्मेलन भवन ३.५, आवासीय भवन ३.५, मिश्रित आवासीय भवन ४ र संस्थागत भवनको भुइँ क्षेत्र अनुपात २.५ हुनुपर्नेछ । संशोधित मापदण्डअनुसार तराईमा व्यापारिक तथा सभा, सम्मेलन भवन, आवासीय भवन र मिश्रित आवासीय भवनको भुइँ क्षेत्र अनुपात ३ हुनुपर्नेछ । त्यस्तै संस्थागत भवनको भुइँ क्षेत्र अनुपात २.५ छ ।

मापदण्डअनुसार पुरानो सहरी क्षेत्रमा परम्परागत वास्तुकला कायम राख्ने गरी विकास प्राधिकरण वा नगर विकास समिति वा नगरपालिकाले तोकिदिएबमोजिम भुइँ क्षेत्र अनुपात कायम हुनेछ । ‘भवनका सबै तलाको क्षेत्रफलको योगफललाई भवन बन्ने जग्गा वा घडेरीको क्षेत्रफलले भाग गरेर आएको भागफल’ नै भुइँ क्षेत्र अनुपात हो । ‘अब एक चौथाइ क्षेत्रफल मात्रै खाली छाडेर घर बनाउन सकिन्छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘यो व्यवस्था ठूला घरजग्गा व्यवसायीलाई अनुकूल हुने गरी ल्याइएको छ, उनीहरूलाई अब फाइदै फाइदा हुनेछ । साना घर बनाउनेलाई भने यो मापदण्डले छुँदैन ।’ यसले ठूला भवन बनाउनेहरू बढ्ने सहरी विकासका एक उच्च तहका कर्मचारीको आकलन छ ।

‘पहिलाको मापदण्डमा धेरै परिवर्तन गरिएको छ, संशोधन हाउजिङ व्यवसायीमैत्री बनाइएको छ,’ ती कर्मचारीले भने, ‘अब अपार्टमेन्ट धेरै बन्ने छन्, जताततै गगनचुम्बी भवनको थुप्रो लाग्नेछ ।’ पहिला यस्ता भवन बनाउन पाए पनि मापदण्डमा कडाइ गरिएको थियो । अहिले खुकुलो बनाइएको हो । भवनको उचाइअनुसार पहिला सँधियारतर्फको सेट ब्याक धेरै चाहिन्थ्यो ।

‘अहिले सेट ब्याक पनि घटाइएको छ, जति तला बनाए पनि कम जग्गा छाड्दा हुने भयो, थोरै जग्गा छाडेर अग्लो भवन बनाउन पाइने भयो,’ ती कर्मचारीले भने, ‘भुइँ क्षेत्र अनुपात बढाएर अग्ला भवन बनाउन सहयोग गरिएको छ ।’ मन्त्रालयका सहसचिव एवं प्रवक्ता विष्णुप्रसाद शर्माले राजपत्रमा प्रकाशित भएकै दिन सोमबारबाट उक्त मापदण्ड लागू भएको जनाए ।

प्रकाशित : जेष्ठ १८, २०७९ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?