कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

उपभोग्य वस्तुमा अचाक्ली कर

प्रवर्द्धन गर्ने नीति लिएको सरकारले नै विद्युतीय सवारीमा लगायो ६०–६० प्रतिशत अन्तःशुल्क र भन्सार
हेमन्त जोशी

काठमाडौँ — सरकारले विद्युतीय सवारीमा १ सय २० प्रतिशतसम्म कर लगाएको छ । विद्युतीय सवारीको प्रवर्द्धन गर्ने नीति लिएको सरकारले आर्थिक विधेयक २०७९ मार्फत त्यसैमा अन्तःशुल्क र भन्सार महसुल कर बढाएको हो । २ सय सीसीभन्दा बढी क्षमताका मोटरसाइकलमा पनि राजस्व बढाइएको छ ।

उपभोग्य वस्तुमा अचाक्ली कर

आर्थिक वर्ष २०७६/७७ को बजेटमा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले विद्युतीय सवारीमा ८० प्रतिशतसम्म अन्तःशुल्क लाग्ने व्यवस्था राख्दा चर्को विरोध भएको थियो । पछि २०७६ असोजमा मन्त्रिपरिषद्बाट निर्णय गरेर अन्तःशुल्क घटाइएको थियो । चालु आर्थिक वर्ष २०७८/७९ का लागि विष्णु पौडेलले ल्याएको विनियोजन विधेयकमा ‘१० वर्षभित्र साना सवारीलाई विद्युतीय सवारीले प्रतिस्थापन गर्ने’ भन्दै अन्तःशुल्क पूर्ण खारेज गरिएको थियो । पछि प्रतिस्थापन विधेयक ल्याउँदा पनि अर्थमन्त्री जनार्दन शर्माले उक्त व्यवस्था यथावत् राखे । तर अहिले शर्माले नै विद्युतीय सवारीको क्षमताअनुसार ३० देखि ६० प्रतिशतसम्म अन्तःशुल्क लगाएका छन्, भन्सार महसुल पनि बढाएका छन् ।

अर्थमन्त्री शर्माले सरकारको राजस्व लक्ष्य पूर्ति गर्न र विदेशी मुद्रा सञ्चिति बढाउन विद्युतीय सवारीमा कर बढाइएको प्रतिक्रिया दिए । ‘१० लाखको अतिरिक्त भार थेग्न नसक्नेले विद्युतीय गाडी नै किन्दैनन् । गाडी नकिन्नेबित्तिकै विदेशी मुद्रा जोगिन्छ,’ उनले भने, ‘कर बढ्दा राजस्व थपिन्छ । महँगो गाडी किनेनन् भने डलर बच्छ । त्यो पनि राम्रै हो ।’

सरकारले सबै प्रकृतिका विद्युतीय गाडीमा नभई १ सय किलोवाट क्षमताभन्दा माथिका सवारीमा मात्र अन्तःशुल्क र भन्सार बढाएको छ । यसबाट सय किलोवाटभन्दा कम क्षमताका विद्युतीय गाडी बेच्ने केही व्यवसायीलाई प्रत्यक्ष फाइदा पुग्ने देखिन्छ । अर्थमन्त्री शर्माले भने कुनै व्यापारी वा गाडी बिक्रेतालाई नाफा पुग्ने गरी सरकारले कर निर्धारण नगरेको दाबी गरे । ‘सय किलोवाटभन्दा कम क्षमताका गाडी बेच्ने एउटा/दुइटा मात्रै कम्पनी छन् भन्ने मलाई थाहा छैन । कुनै कम्पनी वा व्यक्तिलाई फाइदा पुग्ने गरी पनि यो व्यवस्था ल्याइएको होइन ।’

आर्थिक विधेयकअनुसार पिकआवर १ सयदेखि २ सय किलोवाटसम्म भएका सवारीसाधनका लागि ३०, २ सयदेखि ३ सय किलोवाटसम्मका लागि ४५ र ३ सय किलोवाटभन्दा बढी पिकआवर भएका सवारीमा ६० प्रतिशत अन्तःशुल्क तोकिएको छ । ती सवारीमा त्यति नै दरमा भन्सार महसुल पनि लगाइएको छ ।

२ सयदेखि २ सय ५० सीसीसम्मका दुईपांग्रे सवारीमा ६० प्रतिशत अन्तःशुल्क लाग्ने गरेकामा सरकारले त्यसलाई बढाएर ८० प्रतिशत पुर्‍याएको छ । २ सय ५० देखि ५ सय सीसीसम्मका मोटरसाइकलमा ८० प्रतिशत अन्तःशुल्क लाग्ने गरेकामा त्यसलाई बढाएर ९० प्रतिशत तोकिएको छ । दुईपांग्रे सवारीमा भन्सारतर्फ २ सयदेखि २ सय ५० सीसीमा ३० बाट बढाएर ४० प्रतिशत, २ सय ५० देखि ५ सय सीसीमा ३० बाट बढाएर ८० प्रतिशत र ५ सय सीसीमाथि ३० बाट ८० प्रतिशत महसुल पुर्‍याइएको छ ।

के–केमा बढ्यो कर ?

सरकारले अन्य वस्तुमा समेत कर बढाएको छ । आरु, पैयँॅ, ससेज तथा मासुजन्य वस्तु, चुइङ्गम, च्याउ, काँक्रो, गोलभेंडा, फ्रेन्च फ्राइज तथा आलु चिप्स, केराउ, बोडी, सिमी, कुरिलो, जैतुन, बाँस, बैस, निगालो र पानको पातमा लाग्दै आएको १० प्रतिशत अन्तःशुल्क बढाएर १५ प्रतिशत पुर्‍याइएको छ । क्रिप्प ब्रेड, जिन्जर ब्रेड, केक, टोस्ट, पेस्ट्री, कुकिज र बिस्कुट, चकलेट र कोको मिसाइएका खाद्य वस्तु तथा बदाम, मम्फली, भुटेको चना, भुटेको काजु पेस्ता, भुइँकटहर, अमिला फलफूल, नास्पाती र खुर्पानीको अन्तःशुल्क ५ बाट बढेर १५ प्रतिशत पुगेको छ । पर्फ्यॅममा ७ प्रतिशत लाग्दै आएको अन्तःशुल्क १५ र लिपस्टिक, नेलपोलिस, क्रिम, लोसन, स्याम्पूलगायत वस्तुमा ५ प्रतिशत लाग्दै आएकामा १५ प्रतिशत पुर्‍याइएको छ । मेहेन्दी तथा कपालमा लगाउने तेलमा कर १० रुपैयाँबाट १५ रुपैयाँ पुर्‍याइएको छ ।

अप्रशोधित काठ, पिउने पानी, सबै प्रकारका माछा र माछाजन्य वस्तुमा १० प्रतिशत अन्तःशुल्क लाग्ने भएको छ । सुर्तीमा यसअघि प्रतिकिलो ११८ रुपैयाँ रहेकामा अहिले १३० रुपैयाँ एवं सिगार तथा चुरोट प्रतिखिल्ती २१ रुपैयाँ अन्तःशुल्क रहेकामा ३० रुपैयाँ पुर्‍याइएको छ । बियर, ह्विस्की र रममा प्रतिबोतल १९८ रुपैयाँ अन्तःशुल्क रहेकामा अहिले २२८ रुपैयाँ तोकिएको छ । सरकारले केराउमा ३० प्रतिशत र सुपारीमा १ सय रुपैयाँ भन्सार महसुल कायम गरेको छ । भटमासको चटनी, गोलभेडाको असार (केचव र सस) र फुड सप्लिमेन्टमा २० प्रतिशत भन्सार लाग्दै आएकामा त्यसलाई बढाएर ३० प्रतिशत बनाइएको छ । सुपको भन्सार १५ बाट २० प्रतिशत बनाइएको छ । इनर्जी ड्रिङसमा प्रतिलिटर ७५ रुपैयाँ भन्सार लाग्दै आएकामा १ सय रुपैयाँ तोकिएको छ । अनडिनेचर्ड इथाइल अल्कोहल, टेक्टिफाइड स्प्रिड र न्युट्रल अल्कोहलमा प्रतिलिटर ६० रुपैयाँ भन्सार लाग्नेछ ।

चुरोट र सिगारको प्रतिहजार खिल्लीमा ४ हजार ५ सय रुपैयाँ भन्सार लाग्दै आएकामा त्यसलाई दोब्बर गरिएको छ । फलाम र इस्पातको उत्पादन गर्दा निस्कने दानादार स्लाग (धातु मलहरू) मा प्रतिटन ५ सय रुपैयाँ भन्सारलाई दोब्बर गरिएको छ । जर्दा, खैनी, नस, गुटखा र चुना मिसाई खाने वस्तु र हुक्का फ्लेबरमा लाग्ने ४० प्रतिशत भन्सार ८० प्रतिशत र टायल तथा फ्लोर कभरिङमा ३० प्रतिशत भन्सार ४० प्रतिशत पुर्‍याइएको छ । सुटकेस, ब्रिफकेस, झोला, ह्यान्डब्यागमा २० प्रतिशत भन्सार लाग्दै आएकामा ३० प्रतिशत पुर्‍याइएको छ । फलाम र इस्पातका अमिश्रित तार (वायर) मा १० प्रतिशत भन्सार लाग्दै आएकामा बढाएर ३० प्रतिशत पुर्‍याइएको छ ।

केमा कति बढ्यो ?

- पिकपावर १०० देखि २०० किलोवाटसम्मका विद्युतीय सवारीमा ३० प्रतिशत, २०० देखि ३०० किलोवाटमा ४५ प्रतिशत र ३०० भन्दा बढीमा ६० प्रतिशत अन्तःशुल्क

- २०० देखि २५० सीसीसम्मका दुईपांग्रे सवारीमा ६० प्रतिशत अन्तःशुल्क लाग्ने गरेकामा बढाएर ८० प्रतिशत र २५० देखि ५०० सीसीसम्मका सवारीमा ८० प्रतिशत रहेकामा बढाएर ९० प्रतिशत अन्तःशुल्क

- २०० देखि २५० सीसीको मोटरसाइकलमा ३० बाट बढाएर ४० प्रतिशत, २५० देखि ५०० सीसीको मोटरसाइकलमा ३० बाट ८० प्रतिशत, ५०० सीसीमाथि ३० बाट बढाएर ८० प्रतिशत भन्सार महसुल

- बोक्रासहितको केराउमा १५ बाट बढाएर ३० प्रतिशत भन्सार

- सुपारीमा किलोमा ४५ बाट सय रूपैयाँ भन्सार

- भटमासको चटनी, गोलभेंडाको अचार (केचव र सस) र फुड सप्लिमेन्टमा २० प्रतिशत भन्सारबाट बढाएर ३० प्रतिशत

- इनर्जी ड्रिङ्समा प्रतिलिटर ७५ भन्सार लाग्दै आएकामा सय रूपैयाँ

- अनडिनेचर्ड इथाइल अल्कोहल, न्युट्रल अल्कोहल र टेक्टिफाइड स्प्रिडमा प्रतिलिटर ५० भन्सारलाई बढाएर ६० रूपैयाँ

- चुरोट र सिगारमा प्रतिहजार खिल्लीमा ४ हजार ५ सयबाट ९ हजार रूपैयाँ भन्सार

- जर्दा, खैनी, नस, गुट्खा र चुना मिसाई खाने वस्तु र हुक्का फ्लेवरमा ४० प्रतिशत भन्सार लाग्दै आएकामा ८० प्रतिशत

- क्रिप्प ब्रेड, जिन्जर ब्रेड, केक, टोस्ट, पेस्ट्री, कुकिज र बिस्कुट, चकलेट र कोको मिसाइएका खाद्यवस्तु तथा बदाम, भुटेको चना, भुटेको काजु, पेस्ता, भुइँकटहर, अमिलो फलफूल, नासपाती, खुर्पानी, पैयुँ, आरू, स्ट्रबेरीजस्ता फलफूलमा अन्तःशुल्क ५ बाट १५ प्रतिशत

- टायल र फ्लोर कभरिङमा ३० प्रतिशत भन्सार लाग्दै आएकामा ४० प्रतिशत

- फलाम र इस्पातको उत्पादन गर्दा निस्कने दानादार स्लागमा प्रतिमेट्रिक टन ५ सय रूपैयाँ भन्सार लाग्ने गरेकामा दोब्बर

- मासुजन्य वस्तु, चुइगम, च्याउ, काँक्रो, गोलभेंडा, आलु चिप्स, केराउ, बोडी, सिमी, कुरिलो, जैतुन, बाँस र पानको पातमा १० प्रतिशत अन्तःशुल्क बढाएर १५ प्रतिशत

- पर्फ्युममा ७ बाट बढाएर १५, लिपिस्टिक, नेलपोलिस, क्रिम, लोसन, स्याम्पु ५ बाट १५ र मेहन्दी तथा कपालमा लगाउने तेल १० बाट १५ रूपैयाँ अन्तःशुल्क

- सुटकेस, ब्रिफकेस, झोलामा २० प्रतिशत भन्सार लाग्दै आएकामा ३० प्रतिशत

- फलाम र इस्पातका अमिश्रित तार (वायर) मा १० प्रतिशतबाट ३० प्रतिशत भन्सार

- अप्रशोधित काठमा ५ र काठका फल्याक, प्लाइउड, चिरेको काठ, काठका गोलिया, पिउने पानी, सबै प्रकारका माछा र माछाजन्य वस्तुमा १० प्रतिशत अन्तःशुल्क

- सुर्तीमा प्रतिकेजी ११८ रहेकामा १३० रूपैयाँ, सुर्तीको सिगार, चुरोट र सानो सिगारमा यसअघि प्रतिखिल्ली २१ रहेकामा ३० रूपैयाँ अन्तःशुल्क

- बियर, ह्वीस्की र रममा प्रतिबोतल १९८ अन्तःशुल्क रहेकामा अब २२८ रूपैयाँ

प्रकाशित : जेष्ठ १७, २०७९ ०६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×