कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
बजेट २०७९/०८०

वृद्धभत्ताको उमेरहद घटाउन आवश्यक थिएन : भट्टराई

काठमाडौँ — पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आगामी वर्षको बजेटमा सामान्य सुधारको विषय आए पनि गुणात्मक रुपमा संरचनागत परिवर्तन गर्ने नीतिहरु नआएको बताएका छन् । उनले वृद्धभत्ताका लागि उमेरहद घटाएकोमा पनि असहमति जनाएका छन् ।

वृद्धभत्ताको उमेरहद घटाउन आवश्यक थिएन : भट्टराई

संसद्‍मा अर्थमन्त्री जनार्दन शर्माले बजेट पेस गरेपछि त्यसमाथि प्रतिक्रिया जनाउँदै पूर्वअर्थमन्त्रीसमेत रहेका भट्टराईले सुधारको कार्यक्रम नआएको बताएका हुन् ।

'कृषिमा क्रान्तिकारी परिवर्तन गर्ने हो भने भूमि सम्बन्धमा वैज्ञानिक भूमिसुधार गर्ने भनेका थियौं त्यो आउनु पर्दथ्यो । भुईँमा रहेका जनतामा पहुँच नपुगेसम्म ठूलो परिवर्तन आउँदैन,' भट्टराईले भने, 'यसले उद्योगलाई वृद्धि गर्ने, व्यापार घाटा घटाउने भनेका छौं । त्यसमा लगानी आकर्षित गर्ने प्रकारको योजनाहरु आउनु पर्दथ्यो । त्यस्तो केही पनि आएन। सामान्य सुधारात्मक कुरा छन् । यति मात्रै कुराले ठूलो मात्रामा वैदेशिक लगानी आउँछन्, उद्योगधन्धा खुल्छन् र व्यापार घाटा कम हुन्छ भन्ने लाग्दैन ।'

यद्यपि प्रशासनिक सुधारको सामान्य विषय आएको उनले बताएका थिए । 'हाम्रो कर्मचारीतन्त्र र न्यायालय विकासमैत्री छैन । यसलाई परिवर्तन गर्ने रुपान्तरणकारी योजना आउनु पर्दथ्यो । त्यो आएको छैन,' भट्टराईले भने ।

यस्तै सामाजिक सुरक्षाको विषयमा पूर्ववत निरन्तरता भएको उनको टिप्पणी थियो । 'म पनि ६८ वर्ष पुग्दैछु । यो घटाउन आवश्यक थिएन । एकीकृत प्रकारको सामाजिक सुरक्षा आउनु पर्दथ्यो । गरिब देशमा वृद्धभत्ता लिएर बोझ बढाउन चाहान्नँ । म वृद्धभत्ता नलिने घोषणा गर्दछु,' उनले भने ।

आइतबार संसद्‍मा अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । जसमा वृद्धभत्ता लिनेको दायरा वृद्धि गर्दै ७० वर्षबाट घटाएर ६८ वर्षलाई वृद्धभत्ताका लागि पर्याप्त उमेर तय गरिएको छ।

प्रकाशित : जेष्ठ १५, २०७९ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?