कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

हेलिकप्टर किन्ने, मरिच र केराउ आयात खोल्नेजस्ता निर्णय सरकारले नगरोस् : गगन थापा

काठमाडौँ — आयात बढाउने र विदेशी मुद्रा सञ्चितिमा चाप पर्नेगरी सरकारले कुनै निर्णय गर्न नहुने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन् । शनिबार संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सुझाव दिँदै थापाले बढ्दो आयात नियन्त्रणका लागि सरकार आफैले खरिद गर्न लागेका विभिन्न वस्तु रोक्नुपर्ने बताए ।

हेलिकप्टर किन्ने, मरिच र केराउ आयात खोल्नेजस्ता निर्णय सरकारले नगरोस् : गगन थापा


‘जसरी हामीले नागरिकलाई नचाहिने सामान नकिन्नु भनेका छौं, त्यसैगरी सरकारले पनि यो वर्ष नचाहिने सामान ल्याउनु हुँदैन । हामीलाई यो वर्ष प्रेस (सेक्युरिटी प्रेस) पनि चाहिएको छैन, हेलिकप्टर पनि चाहिएको छैन । हामी सुपारी, मरिच, केराउ केही पनि ल्याउँदैनौं भन्न सक्नुपर्छ,’ थापाले भने, ‘हाम्रो डलरको सञ्चितिमा प्रभाव पार्ने कुनै पनि कुरा चाहिएको छैन । यो वर्ष सरकारले कुनै पनि त्यस्तो वस्तु खरिद गर्दैन भनेर निर्णय गर्नुपर्छ ।’

नेपालका लागि व्यापार घाटा अहिलेको सबैभन्दा ठूलो समस्या रहेको पनि उनले बताए । ‘कतिपय देशलाई व्यापार घाटा ठूलो विषय होइन । तर हाम्रो जस्तो मुलुकलाई यो सबैभन्दा ठूलो चिन्ताको विषय हो, थापाले भने, ‘अहिलेकै अवस्थामा जाने हो भने हाम्रो अर्थतन्त्रले धान्नै सक्दैन । बितेका १०/१२ वर्षयता व्यापार घाटा बढेको बढ्यै छ । यो अझै रोकिनेवाला छैन । आम्दानी नबढ्ने र खर्च यसरी नै बढ्दै जाने हो भने संकट आउँछ भनेर बुझ्न सकिन्छ ।’

आयातमा सबैभन्दा बढी हिस्सा पेट्रोलियम पदार्थमा छ । त्यस्तै खाद्यान्न आयातको अवस्था पनि डरलाग्दो छ । अहिले अर्थतन्त्र संकटको डिलमा रहेको पनि थापाले बताए । ‘अर्थतन्त्रको अवस्था समस्याग्रस्त मात्र होइन एक हिसाबले संकट फस्न थालिसकेको छ । जोखिम आइसक्यो । यो जोखिम सम्बोधन गर्नका लागि सरकारको ध्यान सबैभन्दा बढी जानुपर्छ,’ उनले भने, ‘अब पेट्रोलियम पदार्थ माथिको निर्भरता घटाउने महत्वाकांक्षी सोच राख्नैपर्छ । यो हाम्रो राष्ट्रिय सुरक्षासँग जोडिएको विषय पनि हो । कुनै पनि बेला पेट्रोलियम पदार्थमा सजिलै तलमाथि गर्न सकिने अवस्थाले सधैंभरी हामीलाई डिलमा उभ्याएको छ ।’

टेक्सटाइल, जुत्ता, निर्माण सामग्री, जुत्ता आदिजस्ता उत्पादनमा नेपालसँग प्रतिस्पर्धी क्षमता भइसकेकाले अब आउने बजेट र कार्यक्रमले यी वस्तुको आयातलाई दुरुत्साहित गर्ने नीति लिनुपर्ने पनि उनले बताए । आयात प्रतिस्थापन सँगै निर्यात बढाउन पनि उत्तिकै ध्यान दिनुपर्ने थापालेको भनाइ छ ।

प्रकाशित : जेष्ठ १४, २०७९ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×