कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१८ सय किमि कालोपत्रको लक्ष्यमा ३२५ मात्रै पूरा

बजेट प्रतिस्थापन विधेयक आउन ढिलाइ र व्यवसायीको निर्माण होलिडेले असर
विमल खतिवडा

काठमाडौँ — चालु आर्थिक वर्षको वैशाखसम्म देशभर ३ सय २५ किलोमिटर मात्र कालोपत्र सडक निर्माण भएको छ । सरकारको वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार उक्त अवधिमा १ सय पुल निर्माण भएका छन् ।

१८ सय किमि कालोपत्रको लक्ष्यमा ३२५ मात्रै पूरा

सडक विभागका अनुसार चालु आवमा १८ सय किमि कालोपत्र सडक निर्माण गर्ने लक्ष्य हो । तर, लक्ष्यअनुसार सडक निर्माण नभएको सडक विभाग स्रोतले जनायो । बजेट प्रतिस्थापन विधेयक आउन ढिलाइ हुनु र निर्माणको पिक समयमा व्यवसायीले निर्माण होलिडे गर्नु कारण रहेको सडक विभागका निमित्त महानिर्देशक शिवप्रसाद नेपाल बताउँछन् । ‘अहिलेसम्म विभागअन्तर्गत ३२५ किमि कालोपत्र सडक निर्माण भएको छ, यसमा कालीगण्डकी करिडोर, मध्यपहाडी राजमार्ग, हुलाकी राजमार्गलगायत साना कालोपत्र सडक पर्छन् ।’

उनका अनुसार अघिल्लो आर्थिक वर्षकै १८ सय किमि कालोपत्र सडक निर्माण गर्ने लक्ष्य यो वर्ष पनि दोहोरिएको हो । ‘अघिल्लो आर्थिक वर्षको कालोपत्र गर्न बाँकी रहेको सडक पनि चालु आवमा थप हुन्छ,’ निमित्त महानिर्देशक नेपालले भने, ‘त्यसमध्ये ३२५ किमि मात्र निर्माण भएको हो ।’ यही कारणले यो पटक पुँजीगत खर्च सोचेअनुरूप हुन नसकेको उनको भनाइ छ । ‘यसमा प्रगति धेरै बढ्ने अवस्था छैन, निर्माणको काम नभएर समस्या भएको छ,’ उनले भने, ‘अहिले लक्ष्य पूरा गर्न नसकिए अर्को वर्षलाई फेरि यही काम बाँकी रहनेछ ।’ सडक विभागअन्तर्गत पर्ने ८० वटा राष्ट्रिय राजमार्ग पर्छन् । जसअनुसार अहिलेसम्म राष्ट्रिय राजमार्गअन्तर्गत ७ हजार १ सय ३३ किमि कालोपत्र सडक बनेको छ ।

पन्ध्रौं योजना नतिजा सूचकमा ५ वर्षको समग्र लक्ष्य राखिएको र त्यो अवधिमा कति कालोपत्र सडक बनाउने भन्ने उल्लेख गरिएको हुने उनको भनाइ छ । ‘पहिलो, दोस्रो, तेस्रो हुँदै छुट्टाछुट्टै आर्थिक वर्षअनुसार लक्ष्य राखिएको हुन्छ,’ उनले भने, ‘पहिलो वर्षमा राखिएको लक्ष्य पूरा नभए त्यो दोस्रो वर्षका लागि सर्दै जानेछ, पाँचौं वर्षमा पनि पूरा नभए त्यो १६ औं योजनामा जानेछ ।’ उनका अनुसार आर्थिक वर्ष २०७५/७६ बाट सुरु योजनाअनुसार पाँच वर्षमा ११ हजार ९४ कालोपत्र सडक कालोपत्र सडक पुर्‍याउने लक्ष्य हो ।

‘आर्थिक वर्ष २०८०/८१ भित्र लक्ष्य पूरा गर्नुपर्नेछ,’ उनले भने, ‘अब लक्ष्य भेट्टाउने अवस्था छैन, दुई आर्थिक वर्षमा कोभिडका कारण काम हुन सकेन, यो आवमा निर्माण व्यवसायीका कारण सोचेअनुरूप काम अघि बढ्न सकेन ।’ उनका अनुसार अहिले नयाँ ठेक्काको काम पनि प्रभावित हुन पुगेको छ । निर्माण सामग्रीको मूल्य बढेकाले त्यो मूल्य समायोजन गर्नुपर्ने माग व्यवसायीको छ । बढेको निर्माण सामग्रीको लागत अनुमान निकाल्न नसक्दा ठेक्कामा सहभागी नभएको निर्माण व्यवसायीको भनाइ रहेको सडक विभागले जनायो । आगामी आवका लागि सिलिङ ८ अर्ब रुपैयाँ घटेर आएको निमित्त महानिर्देशक नेपालले बताए । ‘अघिल्लो आवमा १ खर्ब २७ अर्ब सिलिङ आएकोमा अहिले १ खर्ब १९ अर्ब रुपैयाँ आएको हो, चालु योजना धेरै छन्, जसले गर्दा बजेट पर्याप्त नहुने भयो ।’

सडक विभागअन्तर्गत पुल महाशाखाका प्रमुख उमेशबिन्दु श्रेष्ठका अनुसार चालु आवको वैशाखसम्म १ सयवटा पुल निर्माण भएका छन् । लक्ष्य २ सय ७५ पुल निर्माण गर्ने हो । ‘असार मसान्तसम्म लक्ष्य नाघेर ३ सय २१ वटा पुल निर्माण गर्न सकिन्छ भन्ने छ,’ उनले भने । उनका अनुसार धेरै पुल निर्माणाधीन छन् । अहिलेसम्म ५४ वटा रणनैतिक सडक पुल र ४६ वटा स्थानीय सडक पुल निर्माण भएका छन् ।

असार मसान्तसम्म स्थानीय सडक पुल २१२ र रणनैतिक सडक पुल १०९ वटा निर्माण सक्ने दाबी पुल महाशाखाको छ । ‘यसअघि एक वर्षमा २४३ वटा पुल बनाएको रेकर्ड छ,’ श्रेष्ठले भने, ‘यो वर्ष धेरै पुल निर्माण गरेको नयाँ रेकर्ड राख्ने गरी काम भइरहेको छ ।’ २०७६ मा रुग्ण पुलको संख्या १६६ थियो । २०७८ मा त्यो संख्या घटेर ४० वटामा झरेको उनको भनाइ छ । ‘असार मसान्तसम्म यो संख्या धेरै कम हुनेछ,’ उनले भने ।

प्रकाशित : जेष्ठ १२, २०७९ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?