घरजग्गा कारोबार कम्पनीबाट मात्रै- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घरजग्गा कारोबार कम्पनीबाट मात्रै

सीमा तामाङ

काठमाडौँ — देशभर अधिकतम घरजग्गा कारोबार दलालमार्फत मात्र भइरहँदा सरकारले अब विशिष्टीकृत संस्था (कम्पनी) बाट मात्रै कारोबार गर्न पाउने व्यवस्था गर्ने जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै घरजग्गा कारोबार व्यवस्थित गर्ने प्रतिबद्धता जनाइन् ।

पछिल्लो समय अस्वाभाविक रूपमा डाँडापाखा सम्याउने र खेतीयोग्य जमिनमा प्लटिङ गरेर जग्गा बिक्री गरी मूल्य बढाइने गरेको छ । शिक्षक, कर्मचारीलगायत सबैले ‘पार्ट टाइम’ जागिरका रूपमा घरजग्गा कारोबार गरिरहेको आरोप लाग्ने गरेको छ । कम समयमा धेरै नाफा कमाउने उद्देश्यले जोकोही पनि घरजग्गा कारोबारमा संलग्न हुन थालेको मालपोतका कर्मचारी बताउँछन् ।

सरकारले देशभरको जग्गाको न्यूनतम मूल्यांकन तोकिदिने तर क्रेता–विक्रेताले भने त्यसभन्दा बढी मूल्यमा जग्गाको कारोबार गर्ने गरिरहेका छन् । यसले एकातिर राजस्व चुहावट हुने र वास्तविक कारोबारसमेत थाहा नपाइने अवस्था छ । सरकारले आगामी बजेटको नीति तथा कार्यक्रममार्फत विकास आयोजनाहरूका लागि आवश्यक जग्गा प्राप्ति प्रक्रियालाई सहज बनाउन र तोकिएका उद्योगहरूको हदबन्दीको सीमा पुनरावलोकन गर्न कानुनी सुधार गरिने बताएको छ । भौगोलिक सूचना प्रणालीमा आधारित एकीकृत जग्गा मूल्यांकन प्रणाली विकास गरी वैज्ञानिक विधिबाट जग्गाको मूल्य निर्धारण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सरकारले ल्याएको वैज्ञानिक विधिमार्फत वास्तविक मूल्य निर्धारण गरेर कारोबार गराउन सके राजस्व चुहावट नहुने र बिचौलिया पनि नरहने अवस्था सिर्जना हुने सरोकारवाला बताउँछन् ।

सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा भूमिको खण्डीकरण रोकी वैज्ञानिक उपयोग गरिने उल्लेख गरेको छ । खेतीयोग्य जमिन प्लटिङ गरेर जथाभावी घडेरी बनाउन थालिएको भन्दै त्यसलाई नियन्त्रण गर्न सरकारले २०७४ साउन २६ मा कृषियोग्य जग्गा कित्ताकाट गरी घडेरीका रूपमा बिक्रीवितरण गर्न/गराउन नपाउने निर्णय गरेको थियो ।

तर जग्गा खण्डीकरण रोक्दा सर्वसाधारणलाई समस्या भएको र भूमाफियासमेत मौलाएको भन्दै २०७५ पुस २७ मा भूमिको वर्गर्कीरण र उपयोगसम्बन्धी कानुन तर्जुमा नहुन्जेल फर्म, संस्था वा कम्पनीले स्थानीय तहको स्वीकृति लिएर कित्ताकाट गर्न पाउने व्यवस्था गरियो ।

प्रकाशित : जेष्ठ ११, २०७९ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्

आर्थिक संरचना बदल्ने सरकारको दाबी

खर्च प्रणाली सुधार्न छुट्टै कानुन, प्रतिफलमुखी ऋण उपभोग र पारदर्शी कर प्रणालीमा जोड 
कान्तिपुर संवाददाता

काठमाडौँ — विद्यमान आर्थिक संरचना बदल्ने नीति तय गरिएको सरकारले दाबी गरेको छ । आगामी आर्थिक वर्ष ०७९/८० का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले अर्थतन्त्रको संरचना परिवर्तन हुने शैलीमा काम गर्ने बताएको हो । 

‘अर्थतन्त्रको समग्र संरचना रूपान्तरण गर्न सक्ने कार्यक्रम तथा आयोजना कार्यान्वयन गरिनेछन्,’ राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संसद्का दुवै सदनमा प्रस्तुत नीति तथा कार्यक्रममा भनिएको छ, ‘वित्तीय र मौद्रिक औजार प्रयोग गरी सरकार र निजी क्षेत्रको संयुक्त प्रयासबाट समष्टिगत आर्थिक स्थायित्व कायम गरी तीव्र आर्थिक वृद्धि हासिल गर्नतर्फ सरकारका नीति तथा कार्यक्रम लक्षित हुनेछन् ।’

कृषि, यातायात, ऊर्जा, पर्यटन र सूचना प्रविधिलाई आर्थिक वृद्धिको संवाहकका रूपमा अघि बढाउने योजना पनि वार्षिक नीति तथा कार्यक्रममार्फत सरकारले सार्वजनिक गरेको छ । त्यसका लागि आर्थिक पुनरुत्थानका विशेष कार्यक्रम घोषणा गरिने जनाइएको छ । अर्थतन्त्रको संरचना परिवर्तन गर्न क्षेत्रगत रूपमा पहिचान भएका समस्यालाई कसरी समाधान गर्ने भन्ने बाटो आगामी आर्थिक वर्षका कार्यक्रम र योजनाले देखाउने दाबी पनि सरकारको छ ।

यसअन्तर्गत उत्पादन र उत्पादकत्व वृद्धि, पूर्वाधार निर्माण, खानेपानी तथा विद्युत्मा पहुँच, मानव पुँजी निर्माण र रोजगारी सिर्जना, बहुआयामिक गरिबीको दरमा कमी, दिगो विकास र पर्यावरणीय सन्तुलन, संघीयताको सुदृढीकरण र सुशासन जस्ता विषयलाई प्राथमिकतामा राखिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सरकारी खर्च प्रणाली, सार्वजनिक खरिदसम्बन्धी विद्यमान व्यवस्था, योजना छनोट तथा विनियोजन, ऋण उपयोग तथा व्यवस्थापन र कर प्रणालीमा तात्त्विक भिन्नता देखिने गरी सरकारले काम गर्ने जनाएको छ । ‘सार्वजनिक खर्च व्यवस्थापनलाई नतिजामुखी बनाइनेछ । पुँजीगत खर्च वृद्धि गर्न र विकास आयोजनालाई सहजीकरण गर्न नतिजामा आधारित आयोजना व्यवस्थापन प्रणालीसहितको विकाससम्बन्धी छुट्टै कानुन तर्जुमा गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘विनियोजन कुशलता कायम गर्न दीर्घकालीन सोचअनुरूप राष्ट्रिय प्राथमिकताका आधारमा विकास कार्यक्रम र आयोजनालाई बजेटसँग आबद्ध गरिनेछ । पूर्वतयारी नभएका आयोजना र विकास बैंकमा नपरेका आयोजनलाई बजेट दिइने छैन ।’

विकास निर्माणसँग सम्बन्धित ठेक्का प्रक्रियामा आउने विवादलाई निरूपण गर्न सार्वजनिक खरिदसम्बन्धी कानुन संशोधन गरिने पनि वार्षिक नीति तथा कार्यक्रममा उल्लेख छ । विद्यमान कर प्रणालीको पुनरावलोकन गरी स्वच्छ, पारदर्शी तथा लगानी एवं व्यवसायीमैत्री बनाउने र स्थानीय तहको राजस्व परिचालन सहज बनाउन आवश्यक नीति तथा मापदण्ड बनाउने नीति सरकारले लिएको छ । ‘वैदेशिक सहायतालाई राष्ट्रिय प्रणालीमार्फत उच्च प्रतिफलयुक्त, रणनीतिक एवं रूपान्तरणकारी आयोजनामा परिचालन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।

त्यसैगरी संघीयता कार्यान्वयनको मिहिन समीक्षा गर्ने र तीन तहका अधिकार बाँडफाँटलाई थप स्पष्ट गर्दै लैजाने पनि सरकारको नीति छ । ‘संघीयता कार्यान्वयनको हालसम्मको अभ्यास, अनुभव र पृष्ठपोषणका आधारमा कार्य विस्तृतीकरण प्रतिवेदन पुनरावलोकन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘प्रदेश र स्थानीय तहमा वस्तुगत आधारमा वित्तीय हस्तान्तरण गरिनेछ । राष्ट्रिय गौरव, रूपान्तरणकारी र रणनीतिक महत्त्वका ठूला आयोजनाबाहेक अन्य आयोजनाहरू प्रदेश र स्थानीय तहबाट कार्यान्वयन गरिनेछ ।’

दुई वर्षभित्र देशभर बिजुली

सरकारले आगामी दुई वर्षभित्र सबै स्थानीय तहमा बिजुली सुविधा पुर्‍याउने जनाएको छ । आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममार्फत उत्पादन प्रसारण तथा वितरण आयोजनाहरूका लागि लगानी वृद्धि गरी दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने सरकारी लक्ष्य सार्वजनिक गरिएको हो । अहिले करिब ९४ प्रतिशत जनसंख्यामा विद्युत् सेवा पुगेको सरकारी आँकडा छ ।

सरकारी तथा निजी क्षेत्रका आयोजना निर्माण सम्पन्न गरी आगामी आर्थिक वर्ष थप ७ सय १५ मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोड्ने लक्ष्य छ । राष्ट्रिय प्रसारणलाइन नपुगेका २५ हजार घरधुरीलाई आगामी वर्षभित्रै लघु र साना जलविद्युत् आयोजनाबाट जोड्ने सरकारको योजना छ । विद्युतीय ऊर्जाको आन्तरिक खपत बढाउन तथा विदेशमा व्यापारसमेत गर्न बिजुलीको उत्पादन, प्रसारण तथा वितरणमा निजी क्षेत्रलाई जोड्ने र विद्युत् व्यापारमा सहभागी गराउने वार्षिक नीति तथा कार्यक्रममा उल्लेख छ । बाह्रै महिना बिजुली आपूर्ति व्यवस्थापन गर्न ठूला जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्ने नीति सरकारले लिएको छ ।

अन्तरदेशीय तथा क्षेत्रीय विद्युत् व्यापारका लागि पनि सरकारले पहल गर्ने जनाएको छ । ‘नेपाल र भारतद्वारा संयुक्त रूपमा जारी गरिएको ऊर्जा विकाससम्बन्धी दीर्घकालीन अवधारणाबमोजिम विद्युत् उत्पादन, प्रसारण प्रणाली विस्तार, द्विपक्षीय विद्युत् व्यापार, दुई देशका राष्ट्रिय प्रसारणलाइनको समन्वयात्मक उपयोग र संस्थागत सहयोगका क्षेत्रमा भएका अवसरको उपयोग गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।

त्यसैगरी सरकारले बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना नेपालको आफ्नै लगानीबाट बनाउने घोषणा गरेको छ । पश्चिम सेती, तल्लो अरुण र सेती रिभर–६ जलविद्युत् आयोजनाको निर्माण कार्य पनि आगामी आर्थिक वर्षभित्रै सुरु गरिसक्ने जनाइएको छ ।

देशभर चार्जिङ स्टेसन निर्माण र स्मार्ट मिटर जडानको काम गरिने नीति पनि सरकारले लिएको छ । त्यस्तै, विपन्न वर्गलाई विद्युत् मिटर निःशुल्क उपलब्ध गराउने पनि वार्षिक नीति तथा कार्यक्रममा उल्लेख छ । जलाशययुक्त तथा नदी बेसिन आयोजना निर्माणलाई प्राथमिकतामा राखी ४ सय केभी क्षमताका प्रसारणलाइनहरू प्राथमिकता दिइने जनाइएको छ ।

प्रकाशित : जेष्ठ ११, २०७९ ०९:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×