लगानी अभाव हुँदा निजी क्षेत्रको मनोबल कमजोर भएको छ : अध्यक्ष अग्रवाल [पूर्ण पाठ]- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
मेक इन नेपाल स्वदेशी समिट २०२२

लगानी अभाव हुँदा निजी क्षेत्रको मनोबल कमजोर भएको छ : अध्यक्ष अग्रवाल [पूर्ण पाठ]

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा वस्तु उत्पादन बढाउनुको साथै नेपाली वस्तुप्रतिको विश्वास अभिवृद्धि गर्नु नै 'हाम्रो सामान, हाम्रै स्वाभिमान' अभियानको मुख्य अभिप्राय भएको नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले बताएका छन् । सीएनआईसँगको सहकार्यमा कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको 'मेक इन नेपाल स्वदेशी समिट २०२२' उनले सो कुरा बताएका हुन् ।

'अर्थतन्त्रको विश्व इतिहासमा अन्य देशले तीन चरणको यात्रा पार गरे। पहिलो कृषि क्रान्ति, दोस्रो औद्योगिक क्रान्ति र तेस्रो सेवा क्षेत्रमा सबलता। हाम्रा छिमेकी देशहरूले पछिल्ला तीन दशकमा औद्योगिक क्षेत्रमा जुन उपलब्धि हासिल गरे, हामीले त्यसो अनुभूति गर्न पाएनौँ,' उनले भने, 'अर्थात् औद्योगिक क्रान्तिको हाम्रो अपेक्षा अझै अधुरो रहिरह्यो। औद्योगीकरणले दिने बरदान पुँजीको स्थापना, रोजगारी सिर्जना, आयात प्रतिस्थापन र दीगो विकासबाट हामी बञ्चित नै भयौँ। आज भोगिरहेको समस्याको जड नै हो।'

विकासशील राष्ट्रले भोगेका समस्या आज हाम्रो सामू रहेको बताउँदै उनले हामी विदेशी मुद्रा सञ्चितिको दबाबमा रहेको समेत बताए । 'लगानीका लागि पुँजीको अभाव छ। लगानी अभाव हुँदा निजी क्षेत्रको मनोबल कमजोर भएको छ, उत्पादन बढ्न सकेको छैन र रोजगारी अवसरमा वृद्धि हुन सकेको छैन,' उनले भने ।

अध्यक्ष अग्रवालले दिएको उद्घाटन मन्तव्यको पूर्ण पाठ :

अर्थतन्त्रमा देखिएका वर्तमान र विगतदेखि संरचनागत समस्याका बीच हामी नयाँ यात्रामा छौं। नेपालको अर्थतन्त्रमा गुणात्मक परिवर्तनको संकल्प बोकेको यस अभियानका सारथी तपाईं सम्पूर्ण महानुभावहरूमा स्वदेशी समिट २०२२ मा हार्दिक स्वागत गर्दछु।

अर्थतन्त्रको विश्व इतिहासमा अन्य देशले तीन चरणको यात्रा पार गरे। पहिलो कृषि क्रान्ति, दोस्रो औद्योगिक क्रान्ति र तेस्रो सेवा क्षेत्रमा सबलता। हाम्रा छिमेकी देशहरूले पछिल्ला तीन दशकमा औद्योगिक क्षेत्रमा जुन उपलब्धि हासिल गरे, हामीले त्यसो अनुभूति गर्न पाएनौँ। अर्थात् औद्योगिक क्रान्तिको हाम्रो अपेक्षा अझै अधुरो रहिरह्यो। औद्योगीकरणले दिने बरदान पुँजीको स्थापना, रोजगारी सिर्जना, आयात प्रतिस्थापन र दीगो विकासबाट हामी बञ्चित नै भयौँ। आज भोगिरहेको समस्याको जड नै हो।

सन् १९९० मा विदेशी सञ्चिति शून्य प्राय रहेको भारतले पछिल्लो ३० वर्षमा गरेका आर्थिक सुधारपछि वार्षिक ४०० अर्ब अमेरिकी डलर बराबरको निर्यात गर्न सक्षम मुलुक बन्यो। कृषिको व्यावसायिकरण, उत्पादनमूकल क्षेत्रको विकास र सेवा क्षेत्रको आधुनिकीकरणपश्चात बंगलादेश विश्वमै तीव्र आर्थिक विकास गर्ने मुलुकको सूचीमा अगाडि छ। सन् १९७१ मा बंगलादेशको कूल गार्हस्थ्य उत्पादनमा उत्पादनमूलक क्षेत्रको हिस्सा ७ प्रतिशत रहेकोमा अहिले ३० प्रतिशतको हाराहारीमा पुगेको छ। यी उपलब्धि पछाडीका कारण भनेको ती देशका सरकारहरूले लिएका निजी क्षेत्रमैत्री कानुन र आर्थिक उदारीकरण एवम् सुधार नै हो।

विकासशील राष्ट्रले भोगेका समस्या आज हाम्रो सामू छ। हामी विदेशी मुद्रा सञ्चितिको दबाबमा छौँ। लगानीका लागि पुँजीको अभाव छ। लगानी अभाव हुँदा निजी क्षेत्रको मनोबल कमजोर भएको छ, उत्पादन बढ्न सकेको छैन र रोजगारी अवसरमा वृद्धि हुन सकेको छैन। बंगलादेशले सन् १९८० मा विदेशी निजी लगानी ऐन ल्याएर प्रत्यक्ष विदेशी लगानीमा ठूलो परिवर्तन गर्‍यो। भारतले सन् १९९० मा कानुनी र संरचनागत परिवर्तन गर्दै आन्तरिक र बाह्य लगानी प्रवर्द्धनको नीति लियो जसले आज आर्थिक फड्को मार्न सफल भयो।

नेपालमा अब हामीलाई यस्तै नीतिको जरुरी छ। हाम्रा नीति निर्माताको सोच नियन्त्रणमुखी होइन खुला र सहजीकरण गर्नेतर्फ केन्द्रित हुनुपर्छ। जसले देशमा दीगो आर्थिक विकासको आधार तयार गर्नेछ। नेपालमा औद्योगीकरण र उद्योगको प्रतिस्पर्धी क्षमता विकासका लागि विशेष प्रोत्साहन चाहिएको छ।

माननीय मन्त्रीज्यू एवं उपस्थित महानुभावहरू,

नेपाललाई दीगो विकास लक्ष्य हासिल गर्न र मध्यम आय भएका मुलुकको सूचीमा स्तरोन्नतिका लागि ठूलो लगानी आवश्यक छ। नेपाल सरकारको स्रोत सिमित छ तर हाम्रो चाहना असिमित छन् जुन हुनु पनि पर्छ। आम जनताको असिमित चाहना पूरा गर्न र देशको अर्थतन्त्रमा गुणात्मक परिवर्तन गर्न नेपाल उद्योग परिसंघले आफ्नो जिम्मेवारी बहन गर्दै नेपाल सरकारसँगको सहकार्यमा मेक इन नेपाल-स्वदेशी अभियान प्रारम्भ गरेको छ।

यस अभियानका दुई पक्ष छन् नेपालमा वस्तु उत्पादन र नेपाली वस्तुको उपभोग। हामीले यसअन्तर्गत सातवटा स्तम्भ तयार गरेका छौँ। जसमा चार स्तम्भ उत्पादन र तीन स्तम्भ उपभोगसँग सम्बन्धित छन्। परिसंघले यस वृहत् अभियानको कार्यान्वयन हुँदै गर्दा स्पष्ट चार उद्देश्य हासिल हुने अपेक्षा गरेको छ। पाँच वर्षभित्रमा वार्षिक १ हजार नयाँ उद्योग दर्ता, १ लाख ५० हजार रोजगारी सिर्जना, कूल गार्हस्थ्य उत्पादनमा उत्पादनमूलक क्षेत्रको योगदानमा २५ प्रतिशत पुर्‍याउने र पाँच वर्षभित्रमा ५ खर्ब रूपैयाँको निर्यात पुर्‍याउने। यस लक्ष्य हासिल गर्न ३४ वटा विशिष्टिकृत नीतिगत मध्येस्थता पहिचान गरी नेपाल सरकारसमक्ष सुझावको रूपमा प्रस्तुत गरेका छौँ।

नेपालमा वस्तु उत्पादन बढाउनुको साथै नेपाली वस्तुप्रतिको विश्वास अभिवृद्धि गर्नु अभियानको मुख्य अभिप्राय हो। हामीले यसका लागि सोचमा बदलाव ल्याउन जरुरी छ। नेपाली वस्तुप्रतिको दृष्टिकोण फेर्नु आवश्यक छ, त्यसका लागि यो अभियान अघि बढेको छ। नेपाली वस्तु गुणस्तरीय र मूल्यमा प्रतिस्पर्धी छन् भन्ने विश्वास उपभोक्तामा जगाउन आवश्यक छ। अर्थात् हाम्रा प्रयासबाट स्वदेशी वस्तुमा आकर्षण पैदा गर्नेछौँ।

परिसंघले अघि बढाएको यस अभियानमा ५० भन्दा धेरै स्वदेशी वस्तु तथा सेवा उत्पादक आवद्ध हुनुभएको छ। नेपालसहित विश्व बजारमा आफ्नो पहिचान बनाउन सफल गोल्डस्टार, वाइवाई, शिवम्, आइएमई जस्ता ब्राण्डहरू हामीसँग आवद्ध हुनुभएको छ। म सम्पूर्ण उद्योगीहरूलाई यस अभियानमा साथ दिनुभएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु। साथै सम्पूर्ण उद्योगीहरूलाई यस अभियानमा आवद्ध हुन आव्हान गर्दछु। हामीले केएमजीलाई नलेज पार्टनरको रूपमा लिएर स्पष्ट कार्ययोजना सहित काम गरिरहेका छौँ।

माननीय मन्त्रीज्यू एवं उपस्थित महानुभावहरू,

आर्थिक सुधारका कार्यलाई निरन्तरता दिइनुपर्छ। पहिलो चरणका आर्थिक सुधारका कार्यले नेपालको अर्थतन्त्रमा जग दिएको थियो। ३० वर्षको यो अवधिमा सुधारलाई निरन्तरता दिनुपर्नेमा हामी केन्द्रित हुन सकेनौँ। स्वदेशी अभियानको अर्को महतत्वपूर्ण पक्ष भनेको औद्योगीकरको वातावरण सिर्जना गर्नु नै हो। हामीले यसतर्फ ध्यान केन्द्रित गर्नुपर्छ। हामीले ३४ वटा इन्टरभेन्सन्समार्फत आर्थिक सुधार आवश्यक क्षेत्रबारे सरोकारवाला पक्षको ध्यानाकर्षण गराएका छौँ।

निजी क्षेत्रलाई प्रतिस्पर्धी, सबल र उत्पादनशील बनाउन राज्यको भूमिका सहजीकरण र नियमनकारी हुनुपर्छ। स्वच्छ प्रतिस्पर्धाको अवसर प्रदान गरी निजी क्षेत्रको प्रवर्द्धनमा राज्यको दृष्टिकोण खुला हुनुपर्छ।

नेपालमा संभावना रहेका, मूल्य अभिवृद्धि हुन सक्ने र निर्यात संभाव्य उद्योगको पहिचान गरी प्रवर्द्धनात्मक नीति लिइनुपर्छ। छिमकी देशहरूभन्दा औद्योगीकरणमा पछाडी परेको हुनाले यसमा परिवर्तनका लागि विशेष पहल गर्नुपर्छ। यसबाट मात्रै हामीले ठूलो परिवर्तन गर्न सक्छौँ।। उद्योगले गरेको मूल्य अभिवृद्धि र निर्यातको आधारमा प्रोत्साहित गर्दै अघि बढाउनु अहिलेको आवश्यकता हो। नेपाली उद्योगको संरक्षणका लागि सरकारले प्रवर्द्धनात्मक र संरक्षणमुखी नीति लिनुपर्छ। अवसर धेरै भएका क्षेत्रमा स्वदेशी एवं विदेशी लगानी प्रोत्साहन गर्दै हाम्रा लागि आवश्यक स्रोत जुटाउन पहल गर्न जरुरी छ।

नेपालका औद्योगीकरणका आफ्नै समस्या छन्। हामीलाई दीर्घकालीन प्रवर्द्धनात्मक नीति आवश्यक छ। लगानी निरुत्साहित गर्ने कानुनमा समायनुकूल हेरफेर जरुरी छ। हामीसँग जमिनको अभाव छ। उद्योग स्थापनाका लागि लाग्ने आधाभन्दा धेरै रकम जग्गा खरिदमा लगाउनुपर्ने अवस्था छ। हदबन्दीभन्दा धेरैको जग्गा धितो प्रयोजन र उपभोग उपयोग गर्न नपाउने व्यवस्था उद्योगमैत्री छैनन्। औद्योगिक क्षेत्रको घोषणा त भयो तर कार्यान्वयन भएन। आज पनि १५ वटा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भयो तर कार्यान्वयन हुन सकेन।

वैदेशिक लगानीमा अझै पनि हाम्रा नियमहरू समय सापेक्ष छैनन्। यसले विदेशी लगानी निरुत्साहित गरेको छ। नेपालामा प्रत्यक्ष विदेशी बढ्न नसक्नुमा कन्ट्र्याक्ट म्यानुफ्याक्चरिङमा रहेका समस्या, अटोम्याटिक रुट कार्यान्वयन हुन नसक्नु विषय छन्। आज पनि औद्योगिक व्यवसाय ऐनले दिएका सुविधा आर्थिक ऐनले स्वीकार नगरेको अवस्था छ। अहिले पनि ४० वर्षभन्दा पुरानो कालोबजारी ऐनले उद्योगी व्यवसायीमा त्रास फैलाएको छ।

उद्योगहरूले सामना गरेको ठूलो चुनौति अनाधिकृत व्यापार हो। अनाधिकृत रूपमा आयात भएका र न्यून बिजकीकरणले गर्दा कमसल र सस्तो सामानसँग नेपाली वस्तुले प्रतिस्पर्धा गर्नु परिरहेको छ। आज हामीले यी मुद्दाहरूलाई सरकार र जनताको बीचमा पुर्‍याउने विश्वास लिएको छु। सरकारले आगामी बजेटमा यसलाई सम्बोधन गर्ने मेरो विश्वास छ।

स्वदेशी समिट मा आज हामी यहाँ उपस्थित हुँदै गर्दा यस कार्यक्रमले हाम्रो सोचमा बदलाव ल्याउन सहयोग पुर्‍याउनेछ भन्ने हाम्रो अपेक्षा छ। आम जनतामा यस अभियानलाई sensitize गर्न यस कार्यक्रमले सहयोग पुर्‍याउने विश्वास लिएको छु। स्वदेशमा वस्तु तथा सेवा उत्पादन गर्ने सम्पूर्ण उत्पादकहरू उपभोक्ताहरूलाई जोड्दै बृहत अभियानका रूपमा यसलाई कार्यान्वयन गर्न सम्पूर्ण पक्षको सहयोग रहने अपेक्षा गर्दछु।

यस सम्मेलनमार्फत म सम्पूर्ण उद्योगी साथीहरूलाई नवीन प्रविधिमा लगानी बढाउन, उपभोक्ताको अपेक्षाअनुसारका गुणस्तरीय एवं मूल्यमा प्रतिस्पर्धी वस्तु उत्पादन गर्न र आम उपभोक्तालाई सन्तुष्टि दिन आव्हान गर्दछु। उभोक्तालाई नेपाली वस्तुमा विश्वास गरी उपभोग अभिवृद्धि गर्न एवं औद्योगीकरण प्रवर्द्धनमा सहयोग पुर्‍याउन अपिल गर्दछु। उद्योगीले दीर्घकालीन् जोखिम बहन गरेर उद्योगमा लगानी गर्ने भएकाले उनीहरूको प्रोत्साहन गर्न, स्थिर नीतिगत व्यवस्था गरी अबको दशकलाई स्वदेशी दशक घोषणा गर्न नेपाल सरकार समक्ष आग्रह गर्दछु। अबको दिनमा बन्ने नीतिहरू उद्योगलाई नियन्त्रण होइन प्रवर्द्धन गर्ने हुनुपर्छ भन्ने स्पष्ट मान्यता अंगिकार गर्न पनि आग्रह गर्दछु।

सरकारले नियन्त्रण गर्ने होइन प्रवर्द्धन गर्ने सोच राख्न आव्हान गर्दछु।

उपस्थित महानुभावहरू,

यस स्वदेशी समिटको सफलतापूर्वक आयोजना गर्नुहुने कान्तिपुर मिडिया ग्रुपलाई धन्यवाद ज्ञापन गर्दै यहाँहरू सबैमा पुन: स्वागत गर्दछु।

धन्यवाद!



प्रकाशित : जेष्ठ ९, २०७९ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्

गण्डकीमा कांग्रेस नै ठूलो पार्टी

एमाले र माओवादीको साख जोगियो
लालप्रसाद शर्मा

पोखरा — अघिल्लो निर्वाचनको तुलनामा क्षति बेहोरे पनि गण्डकीमा कांग्रेस नै ठूलो पार्टी बन्न सफल भएको छ । २०७४ को निर्वाचनमा ४४ पालिका जितेर ठूलो बनेको कांग्रेस यसपटक भने ३६ मा झरेर पनि ठूलो बन्न सकेको हो । 

गण्डकीका ८५ स्थानीय तहमध्ये सोमबार बिहानसम्म ८४ पालिकाको नतिजा सार्वजनिक भएको छ । प्रदेशको एकमात्र महानगर पोखरामा भने मतगणना जारी छ । सार्वजनिक नतिजाअनुसार कांग्रेसले २१ अध्यक्ष र १५ मेयरमा जित हासिल गरेको छ । यसैगरी २० उपाध्यक्ष र १२ उपमेयर जितेको छ । यसैगरी एमालेले ३५ पालिका जित्दै दोस्रो पोजिसनमा आएको छ । यसअघिको निर्वाचनमा एमालेले ३४ पालिका जितेको थियो । अहिले २७ अध्यक्ष र ८ मेयर, २५ उपाध्यक्ष र ८ उपमेयर जितेको छ । यसअघि जम्मा ५ पालिका जितेको माओवादी केन्द्रले अहिले बढाएर ११ पुर्‍याएको छ । उसले ९ अध्यक्ष र २ मेयर, १२ उपाध्यक्ष र ७ उपमेयरमा जित हासिल गरेको छ । राष्ट्रिय जनमोर्चाले एक प्रमुख, एक अध्यक्ष र एक उपाध्यक्ष जित्न सफल भएको छ । प्रदेशमा एक महानगर, २६ नगरपालिका र ५८ गाउँपालिका छन् ।

अधिकांश पालिकामा गठबन्धन नभई आफ्नै हिसाबले चुनावमा जाँदा समस्या भएको कांग्रेस कार्यकर्ता बताउँछन् । ‘कार्यकर्तामा व्यापक असन्तुष्टि देखियो । मतदाताले पनि विकल्प खोजेजस्तो भयो’, पोखराका एक कार्यकर्ताले भने । केही स्थानमा बागी उम्मेदवार कायम रहनु र असन्तुष्ट कार्यकर्तालाई सम्झाउन नसक्दा पनि समस्या भएको कांग्रेसीजन बताउँछन् । कांग्रेस प्रदेश सभापति शुक्रराज शर्मा समयमै गठबन्धनको निर्णय हुन नसक्नु, गठबन्धनको विरोध गर्न नसकिएको र पूर्ण कार्यान्वयन पनि गर्न नसक्दा रिजल्ट अनुकुल नआएको बताउँछन् । अन्तिम समयमा उम्मेदवार फेरिनु, कतै उम्मेदवार चयनमै समस्या र अन्तर्घातका कारण पनि नतिजामा कमी आएको उनको भनाइ छ । ‘समयमै गठबन्धन नहुँदा कमजोरी जस्तो देखियो,’ उनले भने, ‘गोरखा, पूर्वी नवलपरासी, लमजुङ, स्याङजा जस्ता जिल्लामा उम्मेदवार चयनका कारण पनि नतिजामा कमी आयो ।’ जिल्ला र प्रदेशले गरेको उम्मेदवार चयनलाई पार्टी केन्द्रले हस्तक्षेप गर्दा समस्या भएको उनले बताए ।

स्याङजामा एमाले र कांग्रेसले २०७४ र अहिले बराबर ६ र ५ पालिका जितेको छ । तर, पहिला एमालेले जितेका पुतलीबजार र गल्याङ नगरपालिकामा यसपटक कांग्रेसले जितेको छ भने यसअघि कांग्रेसले जितेको वालिङ नगरपालिका एमालेले हात पारेको छ । कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँमा कांग्रेसले ५ र एमालेले ४ पालिका जितेका छन् । पूर्वी नवलपरासीका ८ मध्ये पहिला ६ पालिका जितेको कांग्रेस अहिले २ वटामा खुम्चिएको छ । कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला, प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको जिल्ला भए पनि कांग्रेस कमजोर देखिएको हो ।

एमालेले जोगायो साख

स्थानीय तह निर्वाचनको नतिजामा अन्य प्रदेशहरूमा कमजोर देखिएको एमाले गण्डकीमा भने अघिल्लो निर्वाचनको भन्दा एक पालिका बढी जितेर साख जोगाउन सफल भएको छ । २०७४ मा बागलुङ, लमजुङलगायत जिल्लामा बाम गठबन्धन थियो । यसपटक भने एमाले एक्लै चुनावमा होमिएको थियो । अधिकांश पालिकामा सत्ता गठबन्धन नभएर पनि एमालेलाई जित सहज भएको हो । ‘गठबन्धन भन्नसाथ एमाले कमजोर रहेछ भन्ने सन्देश गएको थियो,’ एमाले केन्द्रीय सचिव एवं गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्याल भन्छिन्, ‘तर अहिलेको नतिजाले हामी कमजोर नभएको सावित गरेका छौ ।’ बलियो पार्टी संगठन, पार्टी विभाजनको कम असरले पनि अहिलेको नतिजा आएको उनले बताइन् । सत्ता गठबन्धनले ३७ पालिका प्रमुखमामात्र गठबन्धन गरेका थिए ।

पोखरा महानगरको प्रमुखमा उम्मेदवारी दिने र खोस्ने गरिँदा भने एमालेमा समस्या देखिएको छ । पहिला टिकट पाएका दीपक पौडेललाई एक दशकअघिको ‘सुन चोरेको’ भिडियो सार्वजनिक गरिएपछि पोखराकै पूर्वमेयर एवं प्रदेश सांसदलाई उम्मेदवार बनाइयो । उनी पनि विवादमुक्त नभएकाले कार्यकर्तामा केही असन्तुष्टि देखिएको थियो । त्यसैको परिणाम अहिले थापा लगभग हारनजिक पुगेका छन । उनलाई गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले उछिनेका छन् । यहीबीचमा पार्टीभित्रैबाट थापालाई हराउन लागिएको भन्दै अडियो सार्वजनिक भएपछि अहिले एमालेमा खैलाबैला मच्चिएको छ । कास्कीमा एमाले नेताद्वय पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारीबीचको गुटबन्दी सतहमै देखिएको छ । यसैको परिणाम पौडेलको भिडियो र थापाविरुद्धको अडियो प्रकरण बाहिरिएको हो । अर्यालले उक्त घटनाको आन्तरिक छानबिन गरी दोषिमाथि कारबाही गरिने बताइन् । गण्डकीमा एमाले पार्टी फुटको असर भने कमै देखिएको छ । प्रदेश सांसद एउटै पनि एकीकृत समाजवादीमा गएनन्, स्थानीय तहका एक उपाध्यक्षमात्रै एसमा गएका थिए ।

प्रदेशभरि साख जोगाउँदै गर्दा एमाले प्रदेश राजधानी कास्कीमा भने कमजोर हुँदै गएको देखिन्छ । ५ पालिकामध्ये यसअघि पोखरा महानगरसहित ४ वटामा जित हासिल गरेको एमालेले यसपटक दुई पालिका गुमायो । महानगर पनि गुम्ने पक्कापक्की छ । पूर्वी नवलपरासीका आठ पालिकामध्ये ६ मा एमालेले जितेको छ । बागलुङमा पहिला ४ वटामा बिजयी भएको एमाले अहिले एउटामा झरेको छ । पर्वतमा एमाले र कांग्रेसले पहिला ४ र ३ पालिका जितेका थिए । अहिले कांग्रेस ५ र एमाले २ मा जितेको छ । केही पालिकामा गठबन्धनले काम गरेको, एमाले फुटको प्रभाव र अन्तर्घातका कारण हार्नुपरेको एमालेको निष्कर्ष छ । एमाले उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको जिल्ला लमजुङमा पनि एमालेलाई केही घाटा भएको छ । अघिल्लो निर्वाचनमा ५ पालिका जितेकोमा अहिले ४ मा झरेको छ । पहिला माओवादीले जितेको दोर्दी गाउँपालिकामा एमालेले जिते पनि राइनास र सुन्दरबजार नगरपालिका गुमाएको छ ।

माओवादीको सुधार

२०७४ मा ५ पालिका प्रमुख जितेको माओवादी केन्द्रले अहिले भने ११ पालिका जितेर सुधार गरे पनि गोरखामामात्रै सिमित भएजस्तो देखिन्छ । गोरखाका ११ मध्ये ९ पालिकामा माओवादीले जित हासिल गरेको छ । बागलुङ र तनहुँमा एकएक पालिका जितेको छ । अरु जिल्लामा भने उसको खासै प्रभाव देखिएन । माओवादी प्रभाव क्षेत्र मानिएको गोरखामा यसअघि बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी खोलेपछि माओवादीको प्रभाव ह्वात्तै घटेको थियो । पछिल्लो समय भने जनता समाजवादी पार्टी (नयाँशक्ति र संघीय समाजवादी मिलेर जसपा भएको) मा लागेका भट्टराईका कार्यकर्ता माओवादीमै फर्किएका, पुरानो विरासतलाई फर्काउन रणनीतिसाथ लागेका कारण सफलता मिलेको माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्र गोरखाका संयोजक लेखबहादुर थापाले पार्टीको नियमित क्रियाकलाप, विचार, नीति, योजना कार्यक्रम र सही नेतृत्वका कारण सफलता मिलेको दाबी गर्छन् । ‘जनताले माओवादीलाई वैकल्पिक शक्तिको रुपमा लिएकाले यो सफलता हात परेको हो,’ उनले टेलिफोनमा भने, ‘पार्टीको सक्रियतानै महत्त्वपूर्ण रह्यो ।’ गोरखा माओवादीको सबैभन्दा बढी पार्टी सदस्य भएको दोस्रो जिल्ला हो । पुरानाले दोहोर्‍याउन खोज्दा तनहुँको बन्दीपुरमा माओवादीले हार बेहोर्नुपरेको छ । बन्दीपुर हारे पनि माओवादीले आँबुखैरेनीमा जितेको छ । बागलुङको ताराखोलामा पनि माओवादीले आफ्नो विरासत जोगाएको छ ।

प्रकाशित : जेष्ठ ९, २०७९ ११:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×