पुँजी बजारको सुधारका लागि सेबोनको १२ बुँदे सुझाब- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुँजी बजारको सुधारका लागि सेबोनको १२ बुँदे सुझाब

कान्तिपुर संवाददाता

काठमाडौँ — समग्र पुँजी बजारको विकास तथा विस्तारका लागि बोर्डले १२ बुँदे सुझाब दिएको छ । जसमा नेपालबाट वैदेशिक रोजगारीमा गएका नेपालीलाई धितोपत्रको सार्वजनिक निष्काशन (आईपीओ) मा आरक्षण, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङको पुँजी वृद्धिसहित संरचनात्मक परिवर्तन लगायत छन् ।

नेपालमा धितोपत्रको प्राथमिक बजार सेवा देशव्यापी भए तापनि दोस्रो बजार कारोबार तथा राफसाफ प्रणाली हालसम्म पूर्ण रूपमा स्वचालित हुन नसकेको बोर्डले स्वीकार गरेको छ । यसकारण पुँजी बजार विकासको लागि धितोपत्रको दोस्रो बजार तथा यससम्बन्धी संरचनालाई थप प्रतिष्पर्धी बनाउन आवश्यक देखिएको बोर्डको तर्क छ ।

‘धितोपत्र कारोबारको राफसाफ तथा फर्छ्योट व्यवस्थालाई थप प्रभावकारी बनाउन राफसाफ सुनिश्चितता कोषको सुदृढ व्यवस्था गरी संचालनमा ल्याउने,’ बोर्डले भनेको छ, ‘लगानीकर्तालाई लगानी विविधिकरण तथा जोखिम व्यवस्थापनमा सघाउ पुर्‍याउनका लागि नयाँ धितोपत्र औजारहरूको व्यवस्था गर्न आवश्यक देखिएको छ ।’ नयाँ स्टक एक्सचेञ्जबारे भने बोर्ड मौन बसेको छ ।

पुँजी बजारको विकास तथा विस्तारका लागि बोर्डले दिएका १२ बुँदे सुझाब यस प्रकार छन् :

  • नेप्से र सीडीएसको पुँजी वृद्धि, संरचनात्मक सुधार
  • वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओमा आरक्षण ।
  • साना तथा मझौला कम्पनीको कारोबारका लागि एसएमईज् प्ल्याटर्फम ।
  • पुँजीगत लाभकरमा घटाउने ।
  • विशिष्टीकृत लगानी कोषको आर्जित आयमाकर नलाग्ने ।
  • धितोपत्र तथा वस्तु विनिमयसम्बन्धी अध्ययन तथा प्रशिक्षण संस्था स्थापना ।
  • वस्तु विनिमय बजार संचालन ।
  • ऋणपत्र बजारको विकास ।
  • प्राइभेट इक्यूटी तथा भेञ्चर क्यापिटल संचालन ।
  • प्राथमिक तथा दोस्रो बजारको शुल्कमा पुनरावलोकन ।
  • धितोपत्र बोर्डलाई कर छुट हुने निकायको रूपमा परिभाषित ।
  • एक अर्ब पुँजी वा ५ अर्बभन्दा बढीको कारोबार गर्ने कम्पनी सूचीकृत हुनुपर्ने ।

प्रकाशित : जेष्ठ ७, २०७९ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्

भारतमा मुस्लिम भएको आरोपमा भाजपा नेताबाट कुटिएका वृद्ध मृत भेटिए

एजेन्सी

काठमाडौँ — भारतको मध्यप्रदेशस्थित रतलाम जिल्लाका एक वृद्ध मुस्लिम भएको आरोपमा कुटिएको केही घण्टापछि मृत फेला परेका छन् । उनलाई भारतीय जनता पार्टीका स्थानीय नेताले निर्घात कुटेका थिए ।

६५ वर्षीय भंवरलाल जैनलाई भाजपाका नेता दिनेश कुशवाहाले निर्घात कुटेको भिडियो सार्वजनिक भएको भोलिपल्ट शुक्रबार साँझ निमच जिल्लाको रामपुरा रोडमा प्रहरीले मृत फेला पारेको हो । भारतीय मिडियाका अनुसार मृतक भंवरलाल रतलाम जिल्लाको छिमेकी सिर्सा गाउँका अगुवा जैनका छोरा थिए ।

तर उनी मुस्लिम बनेको आशंकामा भारतीय जनता पार्टीका स्थानीय नेताले उनलाई निर्घात कुटेको स्थानीय मिडियाले जनाएका छन् । उनी कुटिएको भोलिपल्ट मनसा प्रहरी कार्यालय नजिकै मृत अवस्थामा भेटिएका हुन् ।

भंवरलाल जैनलाई भाजपाका ती नेताले निर्मम तरिकाले कुटेको भिडियो समेत अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । मृतक जैन मानसिक रुपमा पनि अस्वस्थ भएको बताइएको छ ।

उनी राजस्थानको छिमेकी क्षेत्र चित्तौडगढबाट जिल्लाबाट मे १६ देखि वेपत्ता थिए । जवकि उनी मे १५ मा आफन्तसँग मन्दिरमा पूजा गर्न गएका थिए । उनको परिवारले वेपत्ता भएपछि मे १६ मा चित्तौडगढस्थित प्रहरीकहाँ उजुरी दिएको थियो ।

त्यसको तीन दिनपछि उनी मृत भेटिएका हुन् । यद्यपि उनी मृत भेटिनुअघि नै उनीमाथि कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । एक मिनेटको उक्त भिडियोमा भाजपाका नेता दिनेशले जैनलाई एक चिया पसलमा पिटिरहेको देखिएका छन् । भिडियोमा देखिए अनुसार भाजपाका ती नेताले उनलाई मुस्लिम भएको आरोप लगाइरहेका छन् ।

सोही भिडियोमा नेता दिनेशले जैनलाई आधारकार्ड पनि मागिरहेका छन् । जैनले भने आफू रतलामको बासिन्दा रहेको बताइरहेका छन् । तर भाजपाका नेताले उनलाई निरन्तर पिटिरहेको भिडियोमा देखिन्छ ।

भारतीय मिडियाका अनुसार उक्त भिडियो आरोपित भाजपाका दिनेश कुशवाह आफैंले मे २० मा स्वच्छ भारत नामको ह्वाट्सएप समूहबाट अपलोड गरेका थिए । साथै उक्त भिडियो अन्य सामाजिक सञ्जालमा पनि विस्तार भएको छ ।

निमच जिल्ला प्रहरी निरीक्षक सुरज वर्माका अनुसार उक्त घटनाबारे दिनेश कुशवाहासहित दुई जनामाथि मुद्दा दर्ता भएको छ । एकमध्ये उक्त भिडियो खिच्ने व्यक्ति पनि छन् ।

आरोपित दिनेश कुशवाहा भाजपासँग सम्बद्ध संगठनमा रहेको बताइन्छ । साथै उनी निमुचस्थित भाजपा युवा शाखाको स्थानीय कार्यकारी रहेको बताइएको छ । साथै उनकी पत्नी मनसा नगरको यसअघिको परिषद्‍मा रहेकी थिइन् । साथै भिडियो खिच्ने आरोपित पनि भाजपासँग आवद्ध रहेको बताइएको छ ।

प्रकाशित : जेष्ठ ७, २०७९ १६:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×