कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आइपडको अवसान, एक युगको अन्त्य

काठमाडौँ — एप्पलले आइपड निर्माण सधैंका लागि बन्द गर्ने भएको छ । २० वर्षअघि पहिलो पटक आइपड सार्वजनिक भएसँगै यसले संगीत सुन्ने संस्कृतिमा विश्वभर ठूलो परिवर्तन ल्याइदिएको थियो । अहिले बजारमा सातौं जेनेरसनको आइपड टच उपलब्ध छ । यसको स्टक सकिएपछि आइपड पाइन छाड्नेछ । आइपड निर्माण बन्द हुनुलाई एउटा युगको अन्त्यका रूपमा हेरिएको छ ।

आइपडको अवसान, एक युगको अन्त्य

आफ्नो वेबसाइटमा ‘द म्युजिक लिभ्स अन’ शीर्षकको सूचना प्रकाशन गर्दै एप्पलले मंगलबार ‘सामान उपलब्ध रहेसम्म’ एप्पल स्टोर, एप्पलको वेबसाइट र आधिकारिक बिक्रेताबाट आइपड डिभाइस किन्न सक्ने जानकारी दिएको थियो । ‘हामीले आइपडको अनुभव हाम्रा सबै प्रोडक्टमा समायोजन गरेका छौं,’ एप्पलको वर्ल्डवाइड मार्केटिङका वरिष्ठ उपाध्यक्ष ग्रेग जोस्विकले भनेका छन्, ‘एप्पल वाच, होमपड मिनी, म्याक, आइप्याड र एप्पल टीभीमा आइपडको मिठास समावेश छ ।’

सन् २००१ मा आइपड बजारमा आउँदा यसमा १ हजारवटा सांगीतिक ट्र्याक राख्न सकिन्थ्यो । आज एप्पलको स्ट्रिमिङ सेवामा ९ करोडभन्दा धेरै गीत उपलब्ध छन् । बीबीसीका अनुसार आइपड टच बनाउने समूहले नै पछि गएर आइफोन निर्माण गरेका थिए । आइफोनले आइपडलाई छायामा पारिदियो, अहिले त खतम नै पार्‍यो ।

एप्पलले सन् २०१९ मा पछिल्लो पटक आइपड टच अपडेट गरेको थियो । त्यसअघि सन् २०१४ देखि क्लासिक र सन् २०१७ बाट नानो तथा सफल मोडलका तीन वटा आइपड कम्पनीले निर्माण गर्न छाडेको थियो । आइपडले संगीत सुन्ने, खोज्ने र सेयर गर्ने परिपाटीमा ठूलो फेरबदल ल्याइदिएको ग्रेग बताउँछन् ।

आइपडबाट नै पडकास्ट शब्द बनेको थियो । हिजोआज पडकास्ट खुब लोकप्रिय छ । आइपड बन्द गरेर कम्पनीले नयाँ म्युजिक प्लेयर सार्वजनिक गर्न खोजेको हल्ला पनि छ । ‘संगीत सबैको जीवनको एक अंश हो,’ एप्पलका मालिक स्टिभ जब्सलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ, ‘संगीत सधैं हामी वरिपरि रहँदै आएको छ । र सधैं रहनेछ ।’

प्रकाशित : जेष्ठ १, २०७९ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?