कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नयाँ उचाइमा डलर, नेरु कमजोर

यज्ञ बञ्जाडे

काठमाडौँ — नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २४.२५ रुपैयाँ तोकेको छ । यो हालसम्मकै उच्च हो । यसअघि गत फागुन २४ मा एक अमेरिकी डलरको विनिमय दर १ सय २३.४४ रुपैयाँ पुगेको थियो । त्यसअघि २०७७ वैशाख १० मा डलरको भाउ त्यति बेलासम्मकै उच्च १२३.२४ रुपैयाँसम्म पुगेको थियो ।

नयाँ उचाइमा डलर, नेरु कमजोर

करिब ३ महिना अघिसम्म डलरको भाउ उकालो लाग्ने दरमा केही कमी आए पनि केही दिनयता पुनः बढ्न थालेको छ । गत असारको तुलनामा फागुनसम्म अमेरिकी डलरसँग नेपाली रुपैयाँ २.६३ प्रतिशतले कमजोर (अवमूल्यन) भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ३.६२ प्रतिशतले बलियो (अधिमूल्यन) भएको थियो । पछिल्ला ४ वर्षमा अमेरिकी डलर भाउ करिब १९ रुपैयाँ बढेको छ । डिसेम्बर २०१७ मा एक अमेरिकी डलरको भाउ १०२ रुपैयाँ मात्रै थियो । विश्व बजारमा अमेरिकी डलरको माग अकासिएपछि भाउ पनि बढेको जानकारहरू बताउँछन् ।

तर पछिल्ला केही महिनायता विश्व बजारमा अमेरिकी डलरको माग बढ्न थालेपछि डलरको मूल्य पनि उकालो लागेको हो । त्यसको असर भारतीय मुद्रा (भारु) हुँदै नेपाली मुद्रासम्म आइपुगेको जानकारहरू बताउँछन् । पछिल्ला दिनमा अमेरिकी डलरको तुलनामा भारु कमजोर भएपछि नेरु पनि कमजोर बनेको हो । नेरु र भारुबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । अहिले पनि त्यही भएको हो ।

सोमबार साँझसम्म एक अमेरिकी डलरको विनिमय दर भारु ७७.४९ छ । यो पनि हालसम्मकै उच्च हो । असोज १७ (अक्टोबर ३) मा यस्तो दर भारु ७४.१४ थियो । खासगरी कोभिड–१९ पछि भारतीय अर्थतन्त्र पनि अपेक्षित रूपमा सुधार हुन सकेको छैन । यही कारण अमेरिकी डलरको तुलनामा भारु कमजोर बन्दै गएको हो । त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा परेको हो ।

विश्व बजारमा अमेरिकी अर्थतन्त्रको प्रभुत्व कायमै छ । त्यसैले पनि लगानीकर्तालाई भरपर्दो विकल्प अमेरिकी डलर बनेको छ । पछिल्ला डेढ वर्षयता विश्व बजार कोभिडले सिर्जना गरेको असहज अवस्थाका कारण प्रभावित भएको छ । यद्यपि कोभिडलाई पहिलो चरणमै नियन्त्रण गर्ने चीनलगायत मुलुकका अर्थतन्त्रले पुनः राम्रो उन्नति गरेका छन् । तर कोभिडलाई समयमै नियन्त्रण गर्न नसकेका नेपाललगायत राष्ट्रका अर्थतन्त्र बिस्तारै तंग्रिन थालेका छन् ।

पछिल्ला महिनामा अमेरिकी अर्थतन्त्रको सुधार तीव्र गतिमा भइरहेको छ । यससँगै सोमबार अमेरिकामा डलरको भाउले दुई वर्षयताकै नयाँ उचाइ प्राप्त गरेको रोयटर्सले जनाएको छ । हेज फन्डलगायतको मूल्य धेरैले बढेपछि डलरको भाउले पनि नयाँ रेकर्ड कायम गरेको बताइएको छ । विश्वका मुख्य मुद्राहरूमध्ये डलरको भाउ सोमबार सबैभन्दा धेरै १०४.१९ मा पुगेको छ । यो सन् २००४ यताकै उच्च भएको र पछिल्लो एक वर्षमा डलरको भाउ ९ प्रतिशतले बढेको रोयटर्सको भनाइ छ । पछिल्लो एक सातामा चिनियाँ मुद्राको भाउ भने सातामा ६.७७ स्तरले घटेको छ । गत साता अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५ प्रतिशत बिन्दुले ब्याजदर बढाएको छ । यो निर्णयपछि पनि डलर बलियो बन्दै गएको हो । केही महिनायता अमेरिकामा मूल्यवृद्धिले पनि ४० वर्षयताकै नयाँ उचाइ कायम गरेको छ ।

डलर बलियो बन्दा नेपाललाई हानि मात्र हुँदैन, लाभ पनि हुन्छ । हालको अवस्थामा सबैभन्दा बढी फाइदा रेमिट्यान्स आप्रवाहमा पर्छ । डलर बलियो हुँदा एकातिर रेमिट्यान्स आप्रवाह (मुलुक भित्रिने रकम) बढ्छ भने अर्कोतिर रेमिट्यान्स पठाउनेको संख्या पनि तीव्र हुन्छ । डलर बढेको समयमा फाइदा पुग्ने भएकाले विदेशमा रहेका नेपालीले ठूलो मात्रामा रेमिट्यान्स पठाउँछन् । डलर बलियो हुँदा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा पनि सकारात्मक प्रभाव पार्छ । यसरी रेमिट्यान्स र एफडीआईमा आएको सुधारले मुलुकको भुक्तानी सन्तुलन बचतमा राख्न ठूलो मद्दत पुग्छ । नेपालले पर्यटन र निर्यातमा राम्रो सुधार गरेर पनि डलर बलियो हुनुको लाभ लिन सक्थ्यो । अहिले पर्यटक बढ्ने र निर्यात बढाउने सम्भावना पनि छैन । दुर्भाग्य, नेपालका ती सबै क्षेत्र कमजोर छन् । यसकारण डलरको मूल्य बढ्दा पनि नेपालले ती क्षेत्रबाट अपेक्षित रूपमा लाभ लिन सक्ने अवस्था छैन ।

विदेशी मुद्रा भित्र्याउने माध्यम अपेक्षित रूपमा सुधार हुन नसक्दा यति बेला मुलुकले ठूलो नोक्सानी बेहोरिरहेको छ । सबैभन्दा बढी नोक्सानी वस्तु तथा सेवाको आयातबापतको भुक्तानीमा हुन्छ । आयात बढ्दो गतिमा रहेकाले त्यसबापत भुक्तानी गर्नुपर्ने दायित्व पनि बढिरहेको छ ।

नेरु कमजोर हुँदा वैदेशिक ऋण लगानी भुक्तानीको दायित्व बढ्छ । विदेशबाट लिएको ऋणको साँवाब्याज भुक्तानीका लागि पनि धेरै बढी रकम तिर्नुपर्छ । विदेशमा औषधोपचार, अध्ययन, भ्रमणलगायतमा जानेहरूको लागत महँगो पर्छ । निरन्तर नेरु कमजोर बन्दै जाँदा भुक्तानी दायित्व बढ्ने मात्र नभएर स्वदेशी मुद्राप्रतिको विश्वासमा पनि कमी आउँछ ।

प्रकाशित : वैशाख २७, २०७९ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?