निर्वाचनमा टेलिकमको अफर- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

निर्वाचनमा टेलिकमको अफर

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल टेलिकमले यही वैशाख ३० गते देशभर हुने स्थानीय निर्वाचन जिएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर उपलब्ध गराउने भएको छ । टेलिकमका प्रवक्ता शोभन अधिकारीले शनिबार जारी गरेको विज्ञप्तिमा उक्त अवसरमा ९८ रुपैयाँमा आवश्यकताअनुसार जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने भ्वाइस अफर र एसएमएस अफरका साथै डाटा अफर प्रयोग गर्न सकिने उल्लेख छ ।

उक्त अफर यही वैशाख २५ देखि जेठ ४ गतेसम्म उपलब्ध हुनेछ ।

'टेलिकमले जुनसुकै नेटवर्कमा पनि कुरा गर्न सकिने भ्वाइस अफर र जुनसुकै नेटवर्कमा पनि एसएमएस पठाउन सकिने एसएमएस अफर उपलब्ध गराउनेछ,' विज्ञप्तिमा भनिएको छ, 'तीन दिनसम्म सबै नेटवर्कमा २०० मिनेट कुराकानी गर्न सकिने २०० मिनेट भ्वाइस प्याक जम्मा ९८ रुपैयाँमा उपलब्ध हुनेछ, तीन दिनसम्म जुनसुकै नेटवर्कमा पनि पठाउन सकिने ३०० वटा एसएमएससहितको ३०० एसएमएस प्याक पनि ९८ रुपैयाँमा उपलब्ध हुनेछ ।'

त्यसैगरी तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जिबी डाटा प्याक जम्मा ९८ रुपैयाँमा खरिद गर्न सकिनेछ । यही वैशाख २५ देखि जेठ ४ गतेसम्म आफ्नो मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ । टेलिकमले निर्वाचनको समयमा उपलब्ध हुने यस अफरबाट ग्राहकहरूले उल्लेख्य लाभ प्राप्त गर्ने अपेक्षा गरेको छ ।

प्रकाशित : वैशाख २४, २०७९ २२:०८
प्रतिक्रिया
पठाउनुहोस्

लिग भलिबलमा आर्मीको वर्चस्व

कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिभुवन आर्मी क्लबले छैटौं आरबीबी/एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगको उपाधि जितेको छ । आर्मी पुरुष/महिला दुवैमा च्याम्पियन बनेको हो । आर्मी १८ अंकसाथ च्याम्पियन भयो । दोस्रो भएको टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबले १४ अंक जोडेको थियो । नेपाल पुलिस क्लब ११ अंकसहित तेस्रो भयो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार पुरुषमा तीन खेल भए । आर्मीले निकट प्रतिद्वन्द्वी हेल्प नेपाललाई २५–१३, २५–१८, २६–२८, २८–२६ ले हराएर उपाधि जितेको हो । त्यसअघि गण्डकीले गल्कोट स्पोर्ट्स क्लबलाई २५–२३, २३–२५, २५–२०, २५–१५ ले र पुलिसले एपीएफलाई २५–२१, २५–२३, १९–२५, २०–२५, १८–१६ को सेटमा हराएका थिए ।

महिलातर्फ आर्मीले नेपाल पुलिस क्लबलाई २५–१८, २५–२३, २५–२० ले हराएर उपाधि जित्यो । पुलिस दोस्रो र एपीएफ तेस्रो भएका थिए । पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमश: ६ लाख, ३ लाख र १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाए ।

पुरुषमा आर्मीका धनबहादुर भट्ट उत्कृष्ट खेलाडी भए । स्पाइकरमा पुलिसका रविन चन्द, सेटरमा आर्मीका हरिहजुर थापा, लिबेरोमा पुलिसका भीमबहादुर गाहा, ब्लकरमा आर्मीका दुर्गा खड्का, सर्भरमा आर्मीका राजेन्द्र विष्ट र प्रशिक्षकमा आर्मीका जगतबहादुर सिंह उत्कृष्ट भए । एपीएफका धीरज बस्नेत उदीयमान खेलाडी चुनिए ।

महिलातर्फ आर्मीकी संगम महतो उत्कृष्ट खेलाडी भइन् । स्पाइकरमा एपीएफकी निरुता ठगुन्ना, सर्भरमा आर्मीकी शान्ति चौधरी, लिबेरोमा न्यु डायमन्डकी सलिना श्रेष्ठ, सेटरमा एभरेस्टकी अरुणा शाही, ब्लकरमा आर्मीकी सुनीता खड्का र प्रशिक्षकमा आर्मीका लोकेश बुढा उत्कृष्ट चुनिए । न्यु डायमन्डकी प्रगति नाथ उदीयमान खेलाडी भइन् । सर्वोत्कृष्ट खेलाडीले समान ३५ हजार तथा उदीयमानले समान १० हजार तथा विधागत उत्कृष्टले जनही १५ हजार पुरस्कार जिते ।

प्रकाशित : वैशाख २४, २०७९ २२:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×