बेरुजु विवाद बल्झिँदा इन्टरनेट काटिने जोखिम- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

बेरुजु विवाद बल्झिँदा इन्टरनेट काटिने जोखिम

सूचना तथा सञ्चार प्रविधि मन्त्रालय सेवा प्रदायकलाई बेरूजु रकम तिर भन्छ तर सेवा प्रदायक प्रश्न गर्छन्– ‘तिर्नै नपर्ने त्यत्रो धेरै पैसा किन तिर्ने ?’
सजना बराल

काठमाडौँ — इन्टरनेट सेवा प्रदायकहरूले आउने साताबाट देशरभर इन्टरनेट र टेलिभिजन सेवा बन्द हुन सक्ने चेतावनी दिएका छन् । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले शनिबार विज्ञप्ति जारी गर्दै चुनावका बेला देश इन्टरनेटविहीन हुन सक्ने बताएको छ । ‘सरकारले निजी क्षेत्रलाई ठप्प पार्न खोजेको छ,’ आईस्पानका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुभास खड्काले भने, ‘आगामी साताबाट इन्टरनेट पूर्ण रूपमा बन्द हुन सक्छ । त्यसको जिम्मेवार सरकार हुनेछ ।’

६ महिनादेखि इन्टरनेट सेवा प्रदायक र सरकारबीच बेरुजुको विषयलाई लिएर तनाव बढिरहेको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले सेवा प्रदायकलाई बेरुजुबापतको रकम तिर्न भनिरहेको छ । सेवा प्रदायकले ‘तिर्नै नपर्ने त्यत्रो धेरै पैसा किन तिर्ने ?’ भन्दै प्रश्न गरिरहेका छन् । महालेखापरीक्षकको कार्यालयले आफ्नो वार्षिक प्रतिवेदनमा सञ्चार सेवासँग जोडिएको बेरुजु देखाइरहेकाले त्यो चुक्ता नगरे विदेशी मुद्रा सटहीमा सहजीकरण नगर्ने मन्त्रालयको अडान छ । यसो हुँदा सेवा प्रदायकले ब्यान्डविथ खरिदको भुक्तानी गर्न पाएका छैनन् ।

सेवा प्रदायकहरूले भारतीय कम्पनी टाटा, एयरटेल र सिफिबाट ब्यान्डविथ खरिद गरी देशमा बिक्री गर्दै आएका छन् । प्रतिएमबीपीएस ३ देखि ८ डलरमा ब्यान्डविथ लिने गरेका छन् । यसका लागि सेवा प्रदायकलाई नेपाल दूरसञ्चार प्राधिकरणको सिफारिसमा नेपाल सरकारले विदेशी विनिमय सुविधा उपलब्ध गराउनुपर्ने नियम छ । प्राधिकरणले सिफारिस गरे पनि मन्त्रालयले सहजीकरण नगरेपछि राष्ट्र बैंकबाट डलर साट्न नपाएको र भारतीय कम्पनीलाई पैसा तिर्न नसकेको सेवा प्रदायकहरू बताउँछन् ।

‘आठ/नौ दिनअघि मात्रै टाटा र एयरटेलका प्रतिनिधि काठमाडौं आएका थिए,’ आईस्पानका खड्काले भने, ‘उनीहरूले मन्त्रालयमा गएर सबै कुरा बुझे । यो समस्या लामो जाने देखिएपछि उनीहरूले हामीलाई ‘पैसा नतिरे ब्यान्डविथ काटिदिन्छौं’ भनेर ई–मेल पठाएका छन् ।’ आईस्पानको बुझाइमा मन्त्रालयले नियतवश अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गर्न विदेशी मुद्रा सिफारिस रोकेको हो । बेरुजुकै बहानामा इन्टरनेटसँगै टेलिभिजन सेवा पनि बन्द हुन सक्ने विज्ञप्तिमा भनिएको छ ।

के हो बेरुजुको उल्झन ?

इन्टरनेट सेवा प्रदायकहरूले ग्राहकबाट दुईथरी शुल्क उठाउँछन्— सेवा र मर्मतसम्भार शुल्क । यिनमा रोयल्टीबापत वार्षिक कुल आम्दानीको चार प्रतिशत, ग्रामीण दूरसञ्चार कोष (आरडीटीएफ)का लागि २ प्रतिशत, दूरसञ्चार सेवा शुल्क (टीएससी) १३ प्रतिशतलगायत कर जोडिन्छन् । सेवा प्रदायकहरूका अनुसार मर्मत शुल्कमा कर लाग्दैन । यस विषयमा गोकुल बाँस्कोटा मन्त्री छँदा मन्त्रालय र सेवा प्रदाकयबीच सहमति भएको आईस्पानका अध्यक्ष सुधीर पराजुली बताउँछन् । ‘त्यो बेला टीएससी बढाइएको थियो, हामीले मन्त्रालयमा लामो छलफल गरेर नौबुँदै सहमति गरेका थियौं,’ उनी भन्छन्, ‘त्यसपछि इन्टरनेटमा उठाइने दुई शुल्कमध्ये मर्मतसम्भार शुल्कमा रोयल्टी, आरडीटीएफ, टीएससी नलाग्ने निर्णय भएको थियो । तर पछि यही कुरामा महालेखाले बेरुजु देखायो ।’ महालेखापरीक्षको वार्षिक प्रतिवेदन, २०७८ मा सञ्चार मन्त्रालयको नाममा १ अर्ब २२ करोड २४ लाख रुपैयाँ बेरुजु रहेकाले असुल गर्न भनिएको छ ।

२०७६/७७ को प्रतिवेदनमा पनि १ अर्ब २९ करोड १ लाख रुपैयाँ असुल गर्नुपर्ने भनिएको छ । बेरुजु चुक्ता नगरेकाले महालेखाले सञ्चार सचिवलाई जरिवाना गराएको मन्त्रालयका एक अधिकारीले बताए । तसर्थ मन्त्रालयले सेवा प्रदायकलाई हरहालतमा बेरुजुबापतको रकम चुक्ता गराउन खोजेको छ । सेवा प्रदायकहरू भने मर्मतसम्भारमा कर नलाग्ने र आफूहरूसँग अर्बौं पैसा नभएकाले तिर्न नसक्ने बताइरहेका छन् । बेरुजुको विषयलाई लिएर वर्ल्डलिंक कम्युनिकेसनले सर्वोच्च अदालतमा मुद्दासमेत हालेको थियो । सर्वोच्चले २०७७ असारमा उक्त बेरुजु रकम नउठाउन अन्तरिम आदेश जारी गरेको थियो । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको २०औं वार्षिक प्रतिवेदन, २०७७ मा पनि मर्मतसम्भारबापत ग्राहकसँग लिइने शुल्कमा कर नलाग्ने भनिएको छ ।

‘दूरसञ्चार नियमावली, २०५४ को नियम २६ र अनुसूची ६ (क) अनुसार सपोर्ट चार्ज, एन्युअल मेन्टिनेन्स, टेक्निकल चार्ज र मनिटरिङ चार्ज जस्ता गैरदूरसञ्चार सेवामा आरडीटीएफ र रोयल्टी नलाग्ने देखिएकाले बेरुजु लगत हटाउन निर्देशन दिने,’ लेखासमितिको प्रतिवेदन उल्लेख भनिएको छ । नियमावलीमै छुट पाउने भनिएको विषयमा कर लिनुपर्दैन भनेर लेखा समितिले निर्णय गरेको संसद्का प्रवक्ता रोजनाथ पाण्डेको भनाइ छ ।

लेखा समितिको यस वर्षको प्रतिवेदनमा बेरुजु फर्छ्योट गर्न भनिए पनि गत वर्षको प्रतिवेदनमा असुल गर्नू भनिएकाले समितिको बुझाइमा अलमल रहेको महालेखपरीक्षकको कार्यालयका सहप्रवक्ता नेत्रप्रसाद पौडेल बताउँछन् । ‘अघिल्लो पटक बेरुजु छलफल उपसिमितिले यसलाई बेरुजु हो, असुल गर भनेको थियो,’ पौडेल भन्छन्, ‘यस वर्ष फेरि बेरुजु होइन भनिएको छ । समितिकै बुझाइमा फरक परेको हो, हामीले त यो बेरुजु हो भनिरहेका छौं । अदालतले असुल नगर्नू भनेकाले हामीले फर्छ्योट पनि गरेका छैनौं ।’ इन्टरनेट सेवा प्रदायकहरूले महालेखाले देखाएको बेरुजु रकम तिर्नैपर्ने सञ्चार मन्त्रालयका प्रवक्ता विनोद प्रकाश सिंहको भनाइ छ । ‘कि त तिर्नुपर्‍यो वा तिर्छु भनेर कमिटमेन्ट गर्नुपर्‍यो,’ उनी भन्छन्, ‘लेखा समितिले एक वर्षको पो तिर्नुपर्दैन भनेको छ, अरू वर्षको त तिनुपर्‍यो नि ।’ उनका अनुसार जसले नियमति कर तिरको छ, उसले मात्रै अब इन्टरनेट सेवा दिनेछ । सेवा प्रदायकहरूले ‘लाइन (इन्टरनेट) काटिने भयो, हाहाकार हुने भयो’ भन्दै मिडियाबाजी गर्नुको सट्टा मन्त्रालयमा आएर छलफल गर्नुपर्ने सिंहले बताए ।

सेवा प्रदायकहरूले प्रतिमहिना करिब ५० करोड रुपैयाँको ब्यान्डविथ भित्र्याउँदै आएका छन् । तिनले भारतीय कम्पनीलाई ६ महिनाको ३ अर्ब रुपैयाँ बुझाउन बाँकी छ । इन्टरनेटलाई अत्यावश्यक सेवा मानिएकाले विदेशी मुद्रा सिफारिसमा रोक लगाउन नपाइने सेवा प्रदायकको भनाइ छ ।

प्रकाशित : वैशाख १८, २०७९ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्

ट्वीटरमा के गर्न खोज्दै छन् इलन मस्क ?

मस्कले ट्वीटरको बृहत् सम्भावना उजागर गर्ने बताउँदै आएका छन्, इतिहास साक्षी छ, उनले हात हालेका जुनसुकै कम्पनी सफल छन्
सजना बराल

काठमाडौँ — बारम्बार विवादित ट्वीट गर्दै आएका विश्वका सबैभन्दा धनी व्यक्ति इलन मस्कले अन्ततः ट्वीटर नै किनेका छन् । तर पैसा कमाउन नभई अभिव्यक्ति स्वतन्त्रताका लागि किनेको उनको दाबी छ । विज्ञहरूले भने उनको अभिव्यक्ति पत्याइरहेका छैनन् ।

मस्कले आफ्ना कम्पनीहरू टेस्ला र स्पेस एक्समा झैं ट्वीटरबाट मनग्य पैसा कमाउने उद्देश्य राखेको विज्ञहरूको विश्लेषण छ । त्यसो हुँदैनथ्यो भने उनले ४४ बिलियन डलर (करिब ५४ खर्ब रुपैयाँ) किन लगानी गर्थे होलान् !

अब ट्वीटरबाट कसरी पैसा कमाउने ? अमेरिकी पत्रकार पिटर काफ्काले आम्दानीका उपायबारे भक्स मिडियामा सुझाव पेस गरेका छन् । काफ्का लेख्छन्, ‘मस्कले ट्वीटर किन्न केही पैसा बैंकबाट ऋण लिएका छन्, जुन उनले तिर्नुपर्छ । केही ऋण टेस्लाको सेयरसँग पनि जोडिएको छ । टेस्लाको सेयर अत्यन्तै अस्थिर छ ।’ यसर्थ, गैरनाफामूलक कम्पनीका रूपमा ट्वीटर चलाउनु मस्कका लागि सम्भव नभएको काफ्काले उल्लेख गरेका छन् । तर, व्यवसायका रूपमा ट्वीटरको मुख्य समस्या– प्रयोगकर्ताका लागि निःशुल्क छ । यद्यपि ट्वीटरमा विज्ञापन पनि कम छैन ।

फेसबुक र गुगलसरह ट्वीटरका उल्लेख्य प्रयोगकर्ता छैनन् । मस्कले भने ट्वीटरको ‘बृहत् सम्भावना’ उजागर गर्ने बताउँदै आएका छन् । उनको जुन प्रकारको पृष्ठभूमि छ वा जसरी उनले अनलाइन भुक्तानी प्रणाली, विद्युतीय सवारीसाधन, रकेट कम्पनी, न्युरो टेक्नोलोजीलगायतलाई असाध्यै लोकप्रिय र आर्थिक रूपमा सबल बनाए, उनका कुरामा विश्वास गर्ने आधार देखिन्छ । इलनले हात हालेका जुन कुनै कम्पनी सफल भएका छन् । कतिसम्म भने हिजोआज त उनको एक ट्वीटले नै बजारमा उथलपुथल निम्त्याउने गरेको छ ।

ट्वीटर किनेर सेयर मूल्य ह्वात्तै बढेपछि यसलाई बेच्ने मस्कको रणनीति हुन सक्ने एकथरीको अनुमान छ । उनले यसअघि पनि कम्पनीहरू बेचेर राम्रो नाफा हात पारेका थिए । ५० वर्षअघि दक्षिण अफ्रिकामा जन्मिएका मस्कले सन् १९९९ मा अनलाइन पेमेन्ट सिस्टम पेपाल स्थापना गरेका थिए । सन् २००२ मा उनले १.५ अर्ब डलरमा पेपाल इबे कम्पनीलाई बेचे । यसबाट उनलाई १८ करोड डलर फाइदा भएको टाइम म्यागजिनको रिपोर्टमा उल्लेख छ ।

त्यसपछि इलनले स्पेस एक्स नामक रकेट कम्पनी स्थापना गरे । यसले नासासँग मिलेर अन्तरिक्षका मिसनहरूमा काम गर्छ । मंगल ग्रहमा उपनिवेश खडा गर्ने इलनको लक्ष्य छ । उनी मान्छेको टाउकोभित्र कम्प्युटर जडान गर्ने परियोजनामा पनि काम गरिरहेका छन् ।

न्युरोलिंक नामक उनको कम्पनीले मानिसको खोपडीमा माइक्रोचिप्स जडान गर्ने र रोबर्टद्वारा मस्तिष्कको सर्जरी गर्ने प्रणाली निर्माणको काम गरिरहेको छ ।

आफूहरूले मानव मस्तिष्क र आर्टिफिसियल इन्टेलिजेन्सको सहअस्तित्व विकास गर्न खोजेको मस्क बताउने गर्छन् । न्युरोलिंकलाई उनको अनौठो र भविष्यवादी (फ्युचरिस्टिक) कम्पनीका रूपमा लिइन्छ । हार्वर्ड विश्वविद्यालयकी इतिहासविद् जिल लेपोरेले ‘दि इभनिङ रकेट’ नामक आफ्नो पडकास्टमा मस्कलाई साइन्स फिक्सनमा आधारित चरम पुँजीवादका प्रतिनिधि पात्रका रूपमा अर्थ्याएकी छन् । अन्तरिक्ष कब्जा गर्नुका साथै मानवताको रक्षा गर्ने जस्ता अजीव योजना बनाउने मस्कको पारालाई उनी ‘मस्किजम’ को संज्ञा दिन्छिन् । उनको परिभाषामा मस्किजम भनेको टेक्नो–युटोपियनिजम (प्रविधिसँग सम्बन्धित आदर्शवाद) हो, जुन असाध्यै आकर्षक र उत्तिकै खतरनाक छ ।

आफ्ना महत्त्वाकांक्षी परियोजनाहरूबाहेक मस्क इन्टरनेटलाई ध्रुवीकरण गर्ने व्यक्तिका रूपमा पनि परिचित रहेको यूएसए टुडेको समाचारमा भनिएको छ । ६ सन्तानका पिता उनी ट्वीटरमा खुब चर्चित छन् । यहाँ उनी राजनीति र व्यवसायहरूबारे खुलेर अभिव्यक्ति दिन्छन् । इन्टरनेटको मिम कल्चरलाई उनले आत्मसात् गरेका छन् । उनका केही ट्वीटले कानुनी उल्झनसमेत निम्त्याएका छन् । आफ्ना प्रशंसकसँग बोल्न र जोडिन उनी ट्वीटर प्रयोग गर्छन्, यसलाई उनले मूलतः मनोरञ्जनको माध्यम बनाएको देखिन्छ ।

ट्वीटरका सहसंस्थापक एवं पूर्वप्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सेले मस्कलाई ट्वीटरका आइडल युजर (आदर्श प्रयोगकर्ता) भन्ने गरेका थिए । डोर्सेका अनुसार मस्कले जुन तरिकाले ट्वीटर प्रयोग गर्छन्, यो वास्तवमा त्यसरी नै प्रयोग गरियोस् भन्ने हेतुले विकास गरिएको थियो । डोर्से र मस्क मिल्ने साथी पनि हुन् । मस्कका धेरैजसो ट्वीट ठट्टा, ट्रोल वा वाहियात चुट्किलाका रूपमा आउँछन् । अन्टसन्ट ट्वीट, अभिव्यक्ति र व्यवहारलाई लिएर कतिपय सूचना प्रविधिविज्ञहरूले उनलाई एक ‘वयस्क बच्चा’ भन्छन् । तसर्थ केही दिनअघि मस्कले ट्वीटर किन्न चाहेको कुरा ट्वीट गर्दा कतिपयले उनी ‘यस विषयमा गम्भीर छैनन्, पहिलेझैं ठट्टा मात्रै गरेका हुन्’ भनेका थिए ।

तर उनले केही समयअघिदेखि नै ट्वीटरको सेयर किन्दै आएको र पछिल्लो समय आफूसँग सबैभन्दा धेरै ९.२ प्रतिशत सेयर स्वामित्व रहेको खुलासा गरे । त्यसपछि ट्वीटरले उनलाई व्यवस्थापन बोर्डमा आउन आग्रह गरेको थियो । सुरुमा उनले मानेका थिए । तर पछि बोर्ड सदस्य बन्दिनँ भने । त्यसको केही दिनपछि उनले ५४.२० डलर प्रतिकित्ता मूल्यमा ट्वीटरको सबै स्वामित्व खरिद गर्न चाहेको बताए । ट्वीटरले यस विषयमा विचार गर्ने बताउँदै आएको थियो ।

सोमबार भने ट्वीटरको बोर्ड समितिले इलनलाई कम्पनी बेच्ने निर्णय गरेको जानकारी दियो । खरिद प्रक्रिया टुंगिएपछि ट्वीटर अब निजी रूपमा सञ्चालित कम्पनी बन्नेछ । यसको प्रभाव ठूलो भए पनि व्यापार सानो भएकाले इलनले यसलाई कसरी अघि बढाउँछन् वा कस्तो आकार दिनेछन् भन्नेमा संसारभर चासो छ । सन् २००६ मा स्थापना भएदेखि नै ट्वीटर सधैं खराब व्यवस्थापकको हातमा परेको जानकारहरूको भनाइ छ ।

सन् २००८ को अमेरिकी राष्ट्रपति चुनावमा बाराक ओबामा र जोन म्याककेनले आफ्ना चुनावी अभियानमा ट्वीटर प्रयोग गरेका थिए । त्यसपछि यसको लोकप्रियता बढ्यो । त्योभन्दा अघि ट्वीटरलाई सोसल नेटवर्किङको पनि चरित्र भएको निःशुल्क एमएसएस पठाउन मिल्ने एउटा माध्यमका रूपमा मात्रै लिइन्थ्यो । विज्ञापन र ग्राहक सदस्यता बढाउन ट्वीटरले कहिले पनि स्पष्ट ‘रेभेन्यु मोडल’ बनाउन नसकेको भन्दै यसको आलोचना हुने गरेको छ । प्रविधि र व्यापारलाई एकसाथ माथि उठाउन सक्ने इलनको जिम्मामा आएपछि अब आर्थिक रूपमा ट्वीटरको दिन सप्रिने अनुमान गरिएको छ ।

तर इलनले साझा गर्दै आएका ट्वीटरसम्बन्धी योजनाले प्रयोगकर्तालाई भने अप्ठ्यारोमा पार्न सक्ने विज्ञहरूको भनाइ छ । इलनले अभिव्यक्ति स्वतन्त्रताका नाममा ट्वीटरका विधान खुकुलो पार्ने अनुमान गरिएको छ । यसले उत्पीडक, ट्रोल र दुर्व्यवहार गर्नेलाई प्रश्रय दिने उनीहरूको डर छ । अमेरिकी सांसद एलिजाबेथ वारेनले मस्कले ट्वीटर किन्नु ‘लोकतन्त्रका लागि खतरनाक’ भएको बताएकी छन् ।

खर्बपति मस्कको जिम्मामा ट्वीटर आएपछि अब उनले डोनाल्ड ट्रम्प जस्ता दक्षिणपन्थी नेता एवं समर्थकलाई स्थान दिन सक्नेतर्फ पनि विज्ञले औंल्याएका छन् । गत जनवरीमा अमेरिकी संसद्मा दंगा निम्त्याउन प्रोत्साहन गरेको भन्दै

ट्वीटरले ट्रम्पलाई आफ्ना प्लाटफर्ममा प्रतिबन्ध लगाएको छ । यसमा आपत्तिजनक नै भए पनि कानुनी रूपमा गलत नभएका पोस्ट हटाउन नहुने, प्रतिबन्ध लगाउन नहुने मस्क बताउँछन् । उनले बटद्वारा सञ्चालित फेक एकाउन्ट छाँट्ने जस्ता राम्रा योजनाबारे पनि बोलेका थिए, यसको समर्थन गर्ने गरिएको छ ।

मस्कले ट्वीटर किन्नु विशुद्ध बिजनेस डिल (व्यापारिक कारोबार) भएको भक्स मिडियाकी उपसम्पादक लिज जोपाटोले ‘टुडे एक्स्प्लेन्ड’ पडकास्टमा बताएकी छन् । ‘यो नै सभ्यताको अन्त्य होइन । रुस, युक्रेनमा के भइरहेको छ, हामीले त्यतातिर बढी ध्यान दिन जरुरी छ,’ उनी भन्छिन्, ‘ट्वीटर कसको स्वामित्वमा छ भन्नेमा नअल्झिऔं ।’

(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित : वैशाख १४, २०७९ ०६:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×