कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

जीडीपीमा कृषिको योगदान र वृद्धिदर घटेको घट्यै

विज्ञ भन्छन्– ‘कृषिको योगदान घट्नु ठीकै हो तर वृद्धिदर घट्नुले अत्यावश्यक वस्तुको आयात बढेको देखाउँछ, यो व्यापार घाटा बढ्ने संकेत हो’
राजु चौधरी

काठमाडौँ — नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार ४८ खर्ब ५१ अर्ब ६३ करोड रुपैयाँ पुग्ने प्रक्षेपण भइरहँदा कृषि, वन र मत्स्यको योगदान र वृद्धिदर भने निरन्तर घटिरहेको छ ।

जीडीपीमा कृषिको योगदान र वृद्धिदर घटेको घट्यै

केन्द्रीय तथ्यांक विभागका अनुसार २०७८/७९ मा यी क्षेत्रको योगदान २३.९५ प्रतिशत छ । तर वृद्धिदर २.२४ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । जब कि २०७७/७८ मा जीडीपीमा योगदान २४.९० र वृद्धिदर २.८५ प्रतिशत थियो ।

जीडीपीमा कृषिको योगदान घट्नु भनेको उद्योग, सेवा, आईटीलगायत क्षेत्रको बढेको संकेत हो । तर कृषिको वृद्धिदर क्रमिक घट्नुले अत्यावश्यक बस्तुको आयात बढ्ने देखाउने जानकारहरू बताउँछन् । ‘बिश्वभर अर्थतन्त्र आधुनिकीकरण हुँदै जाँदा राष्ट्रिय उत्पादनमा कृषिको योगदान घट्छ । सतही रुपमा हेर्दा कृषि खत्तम भयो भन्ने हुन्छ । तर त्यो होइन । कृषिको योगदान घटिरहँदा उद्योग, आईटी, सेवालगायतको बढ्छ,’ अर्थविद् केशव आचार्यले भने, ‘तर, विडम्बना कृषिको वृद्धिदर पनि निरन्तर घट्यो । यो राम्रो संकेत होइन ।’

जीडीपीमा कृषिको योगदान घटेको मुलुकमा कृषि क्रान्ति हुन्छ । किसान पनि धनी हुन्छन् । त्यसपछि उद्योग क्रान्ति अर्थात् उद्योगको विकास हुन्छ । उद्योगको विकासपछि सेवा क्षेत्रको योगदान बढ्छ । ‘तर नेपालको हकमा कृषि क्रान्ति भएन । उत्पादन बढेन । तर सेवा फुक्दै गएको छ,’ आचार्यले भने, ‘कृषि क्षेत्रको वृद्धिदर कम हुनु भनेको खाद्यवस्तुको उत्पादन घट्नु हो । यसले अत्यावश्यक वस्तुको आयात बढाउँछ । व्यापार घाटा बढ्छ ।’

मुलुकमै उत्पादन हुन सक्ने फलफूल तथा खाद्यान्नको आयातसमेत ह्वात्तै बढेको भन्सार विभागको तथ्यांक छ । अनावश्यक रूपमा आयात हुँदा ९ महिनामा व्यापार घाटा १३ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ । कृषिजन्य वस्तु पनि अर्बौं रुपैयाँको आयात भइरहेको छ । यही रफ्तार रहे व्यापार घाटा १७ खर्ब नाघ्ने जानकारहरू बताउँछन् । तर आधुनिकीकरण गरी पूर्ण क्षमतामा कृषि वस्तु उत्पादन गर्न सकेका छैनौं । ‘किसानले समयमै मल, बीउ पाउँदैनन् । किसानलाई चाहिने सामग्री दिन सकेकै छैनौं । आधुनिक प्रविधि पनि भित्र्याउन सकेनौं,’ आचार्यले भने, ‘कृषिमा काम गर्ने श्रमिक विदेश पलायन हुने क्रम बढ्दो छ । त्यही भएर उत्पादन बढाउन सकेनौं ।’

जीडीपीमा कृषिको योगदान राम्रो भए पनि कृषि उत्पादन बढाउनुपर्ने राष्ट्रिय योजना आयोगका सदस्य दिलबहादुर गुरुङले बताए । ‘खाद्य सुरक्षाका दृष्िंटले धान गहुँ, मकै, आलु महत्त्वपूर्ण बाली हुन् । यी वस्तुको उत्पादन घटाउन हुँदैन । क्षेत्रफल पनि घटाउनु हुन्न,’ उनले भने, ‘तर उत्पादन बढेन । नारामा आत्मनिर्भर बनाउने भनिए पनि उत्पादन बढाउन सकेनौं ।’ केन्द्रीय तथ्यांक विभागका अनुसार १२ वर्षयता सबैजसो वर्ष कृषिको योगदान घट्दो देखिन्छ । २०७६/७७ मा भने कृषिको योगदान केही बढेको छ । त्यस बेला कृषि क्षेत्रको योगदान २५.१५ प्रतिशत थियो । ‘त्यस बेला कोभिडका कारण सबै कृषि क्षेत्रमा लागे । औद्योगिक, सेवालगायत क्षेत्र प्रभावित भएँ,’ कृषि विभागका वरिष्ठ कृषि अर्थविज्ञ महादेवप्रसाद पौडेलले भने, ‘तर योगदान घट्नु सकारात्मक नै हो ।’ विकासोन्मुख मुलुकमा कृषि क्षेत्रको योगदान १५ देखि २० प्रतिशत हुन्छ । त्यस्तै विकसित मुलुकमा १० प्रतिशत वा त्योभन्दा कम योगदान रहन्छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले पनि अर्थतन्त्रको भाषामा योगदान घट्नुलाई राम्रो मानिने बताए । तर धान उत्पादन घटेकाले कृषिको वृद्धिदरमा समस्या भएको उनको भनाइ छ । ‘गत वर्षको तुलनामा धानको उत्पादन करिब ८ प्रतिशत घटेको छ,’ उनले भने, ‘त्यही भएर वृद्धिदर घट्यो ।’ रेग्मीका अनुसार कृषि, वन र मत्स्यको वृद्धिदर ४ देखि ५ प्रतिशतलाई उत्तम मानिन्छ । त्यो भन्दा कम हुँदा आयात बढ्ने संकेत गर्छ ।

प्रकाशित : वैशाख १७, २०७९ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?