कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

पासवर्डको सट्टा अनुहार, औंठाछाप र पिन कोड

एजेन्सी

काठमाडौँ — एप्पल, अल्फाबेट (गुगल) र माइक्रोसफ्ट कर्पोरेसनजस्ता ठूला प्रविधि कम्पनीहरूले अनलाइन एकाउन्टमा लग-इन गर्न प्रयोगकर्तालाई आवश्यक पर्ने एउटा झन्झटिलो प्रक्रियाको अन्त्य गर्ने विषयमा आफूहरू निकै नजिक पुगेको बताइरहेका छन् । त्यो झन्झट हो: पासवर्ड । कम्पनीहरूले पासवर्डको सट्टा अनुहार, औंठाछाप र पिन कोडबाट लग-इन हुने विकल्प रोज्दै छन् ।

पासवर्डको सट्टा अनुहार, औंठाछाप र पिन कोड

संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको फास्ट आइडेन्टीटी अनलाइन अलायन्स (फिडो) ले प्रयोगकर्तालाई उनीहरूको मोबाइल वा कम्प्युटरको अनलक सुविधा प्रयोग गरेर सबै अनलाइन एकाउन्टमा लग–इन हुन सकिने व्यवस्था गर्नका लागि दसकदेखि काम गरिरहेको छ । बाहिरी हस्तक्षेपको जोखिम हुने गरी नेटवर्कमा पासवर्ड पठाउनुको सट्टा अनलक फिचरबाटै साइन–इन हुनु सुरक्षित रहेकाले यसतर्फ काम भइरहेको फिडोले जनाएको छ ।

एप्पल, गुगल, माइक्रोसफ्टहरूका पुराना संस्करणहरूमा पासवर्ड हान्नुपर्ने व्यवस्था छ । तर, नयाँ भर्सनमा भने प्रयोगकर्ताले आफ्नो अनुहार, औंठाछाप र पिन कोडमार्फत् अनलाइन एकाउन्टमा प्रवेश गर्न सक्छन् । यसको अर्थ प्रयोगकर्तालाई अब ‘पासवर्डको आवश्यकता पर्ने छैन’ भनी फिडोको श्वेतपत्रमा उल्लेख छ । कतिपयले अबको युग पासवर्डरहीत हुने बताइरहेका छन् ।

फिडोमा पेपाल, लेनोभो, ई-बे गरी २५० वटा कम्पनी आबद्ध छन् । यिनले पासवर्डप्रतिको निर्भरता हटाउन सन् २०१३ देखि अनलाइन अथेन्टिकेसनका नयाँ र सुरक्षित विकल्प निर्माणमा विभिन्न प्रयोग गर्दै आएका छन् । पासवर्डहरूले सूचना महामार्गमा अवरोध सृर्जना गर्ने भएकाले प्रयोगकर्ताका लागि यो झन्झटिलो मानिन्छ । अझ पुराना एकाउन्टको पासवर्ड बिर्संदा थप दिक्क लाग्दो हुने प्रविधि समीक्षकहरू बताउँछन् । प्रयोगकर्ता, व्यापारी वा संस्थाहरूको पासवर्ड ह्याकरले चोर्ने जोखिम उत्तिकै रहन्छ ।

टु–फ्याक्टर अथेन्टिकेसनजस्ता सुरक्षा प्रणालीका पनि आफ्नै कमजोरी रहेकोले कपितय मानिस यसप्रति त्यति इच्छुक देखिँदैनन् । यसमा एप्लिकेसनहरूले प्रयोगकर्ताको डिभाइसमा नोटिफिकेसन वा कोड पठाएर पासवर्डलाई परिपूर्ण बनाउने तरिका रोजेका छन् ।

‘सन् २०२२ मा आइपुग्दा पासवर्डहरू अत्यन्तै असुरक्षित र धेरै समस्या सिर्जना गर्ने हुन्छन् भन्ने हामीले बुझिसकेका छौं,’ अनलाइन सुरक्षा र जोखिमबारे जानकार मेरिट म्याक्सिमले भनेका छन्, ‘पासवर्डहरू अनलाइनका साङ्ला हुन् । ती रिस उठ्दा, कडा र मार्न पनि समय लाग्ने खालका हुन्छन् ।’

यस्तोमा कतिपय कम्पनीहरूले फिडोको मापदण्डमा रहेर पासवर्डरहित अनलाइन प्रविधि विकास गर्न थालेका छन् । माइक्रोसफ्टले गत सेप्टेम्बरमा प्रयोगकर्तालाई कम्पनीको अथेन्टिकेटर एप र सफ्टवेयरबाट तिनको एकाउन्टमा प्रवेश गर्ने सुविधा सञ्चालनमा ल्याएको थियो । यसमा पासवर्ड राख्नुको सट्टा एसएमएस वा इमेल प्रमाणीकरण कोड वा कम्प्युटरको पोर्टमा जोड्न मिल्ने सेक्युरिटी किमार्फत् अटाउन्टमा लग–इन हुने व्यवस्था छ ।

एप्लिकेसनहरूलाई पूर्ण रूपमा पासवर्डरहित बनाउने अभ्यास तुरुन्तै लागू हुने सम्भावना भने कमै छ । कपितय प्रयोगकर्ताले डिभाइसमा आफ्नो बायोमेट्रिक डेटा (शारीरिक चिन्हद्वारा व्यक्ति पहिचान गर्ने पद्धति) राख्न अप्ठ्यारो मान्ने गरेका छन् । साथै, सबै सफ्टवेयर कम्पनीले आफ्ना प्रयोगकर्ताको डेटा एकाउन्ट सर्भिस प्रोभाइडर (जस्तै एपहरू) लाई उपलब्ध नगराउने भएकाले पनि पासवर्डरहीत अनलाइन दुनियाँको परिकल्पना अलि टाढाको विषय मानिन्छ ।

केही एपहरूले आफ्ना प्रयोगकर्तालाई तिनको डिभाइसको अनलक–मेकानिजमबाटै एप खुल्ने गरी पासवर्ड टाइप गर्ने झन्झटबाट मुक्त गराइसकेका छन् । यसले पासवर्डलेस युजर बिहेभियर (पासवर्ड नराख्दा पनि सहज मान्ने बानी) को विकास गर्ने बताइन्छ । विज्ञहरूले पासवर्डको अन्त्यलाई छोटो दौड नभई लामो यात्रा भएको बताउने गरेका छन् ।

द वाल स्ट्रिट जर्नलमा प्रकाशित ‘टेक्नोलजी अलायन्स सेज इट इज क्लोजर टु किलिङ अफ पासवर्ड’ बाट साभार ।

प्रकाशित : चैत्र ११, २०७८ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×