कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

एमसीसीमार्फत रातमाटे सबस्टेसन बनाउन ४ सय रोपनी जग्गा अधिग्रहण

अधिग्रहण भएको सबै जग्गा एमसीए नेपालमा नाममा 
कृष्ण थापा

काठमाडौँ — एमसीसी परियोजनामार्फत नुवाकोटको बेलकोटगढी नगरपालिका ७ रातमाटेमा बनाइने विद्युत् प्रसारण सबस्टेसनका लागि करिब ४ सय रोपनी जग्गा अधिग्रहण गरिएको छ । विद्युत् प्रसारण आयोजनाले रातमाटेमा निर्माण गर्न लागेको सबस्टेशनका लागि आवश्यक ३९८ रोपनी ७ आना २ पैसा जग्गा अधिग्रहण गरेको हो । बेलकोटगढी वडा नम्बर ७को धनसार, नन्दुटार र अमिलिटारमा गरी सो जग्गा अधिग्रहण भइसकेको छ । 

एमसीसीमार्फत रातमाटे सबस्टेसन बनाउन ४ सय रोपनी जग्गा अधिग्रहण

जग्गा प्राप्ति ऐन, २०३४ अनुसार उक्त जग्गा अधिग्रहण गरिएको एमसीए–नेपालले जनाएको छ । जग्गाबापत हालसम्म जग्गाधनीहरूलाई १ अर्ब ४४ करोड १८ लाख रुपैयाँ मुआब्जास्वरुप दिइएको छ । सोमा पुँजीगत लाभकरका रुपमा सरकारलाई ४ करोड २६ लाख १७ हजार भुक्तानी गरिएको एमसीए नेपालले जनाएको छ । सब–स्टेसन निर्माण क्षेत्रका ९७ परिवारले मुआब्जाबापत सम्पूर्ण रकम बुझिसकेका छन् । ०७६ साल माघ २२ गते र फागुन ५ गते जिल्ला मुआब्जा निर्धारण समितिले सडकले छोएको जग्गा प्रतिआना ३ लाख २५ हजार, सडकबाट ६० मिटर भित्र प्रतिआना २ लाख ५२ हजार, बीचको खण्ड २ लाख १० हजार र हाँडीखोलापारि १ लाख ६० हजार रुपैयाँ प्रतिआनाका दरले निर्धारण गरेको थियो ।

‘करिब सबै जग्गा अधिग्रहण गरी एमसीए नेपालको नाममा आइसकेको छ,’ जिल्ला मुआब्जा निर्धारण समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले भने । एमसीए–नेपाल अन्तर्गत विद्युत् प्रसारण र सडक मर्मत गरी दुई वटा आयोजना सञ्चालन हुनेछ । विद्युत् प्रसारण आयोजनाले विद्युत् प्रसारण लाइन निर्माण र सब–स्टेशन निर्माण गर्नेछ भने सडक मर्मत आयोजना अन्तर्गत राजमार्गका केही खण्डको मर्मतसम्भार कार्य हुनेछ । अन्तरदेशीय प्रसारण लाइन अन्तर्गत ४०० केभी क्षमतामा रातमाटे सबस्टेसन निर्माण गर्न लागेको हो । नुवाकोट र रसुवाभित्र उत्पादित् विद्युत यहीं सबस्टेसनमा जोडिने छ ।

एमसीसी कम्प्याक्ट कोषको कुल ५० करोड अमेरिकी डलरमध्ये ३९ करोड ८२ लाख डलर विद्युत् प्रसारण आयोजनाका लागि मात्रै खर्च हुनेछ । विद्युत् प्रसारण आयोजनाअन्तर्गत तीन वटा नयाँ सबस्टेसन निर्माण हुनेछन् । नुवाकोटमा रातमाटे सबस्टेन, तनहुँमा दमौली सबस्टेसन र नवलपरासी पश्चिमको भुमहीमा नयाँ बुटवल सबस्टेसन निर्माण गरिनेछ ।

काठमाडौंको शंकरापुर नगरपालिका लप्सीफेदीबाट सिन्धुपाल्चोक भोटेचौर हुँदै नुवाकोटको पार्टी भन्ज्याङ, भद्रुटार, थानापति, छहरे, थानसिङ, मदानपुर, बेलकोट हुँदै रातमाटे सबस्टेसनमा प्रसारणलाइन जोड्नेगरी टावर निर्माण हुनेछ । लप्सीफेदी–रातमाटेबाट एक लाइन हेटौंडा जानेछ भने अर्कोलाइन नुवाकोट बुधसिङ हुँदै तनहुँको दमौली जानेछ । नुवाकोटमा मात्रै १ सय ५५ वटा टावर निर्माण हुनेछन् । तनहुँबाट फेरि पाल्पा हुँदै नवलपरासीको भुमही सबस्टेसनमा जोडिने छ । प्रसारणलाइन गोरखपुरसम्म जानेगरी टावर बनाइने छ । लप्सीफेदीदेखि भारतीय सीमासम्मको दूरी ३ सय १२ किलोमिटर रहेको छ । जम्मा टावर ८ सय ५६ वटा निर्माण हुनेछन् । रातोमाटे–हेटौडा साढे ५५ किलोमिटर र रातोमाटे–दमौली सवा ८८ किलोमिटर दूरी छ ।


प्रकाशित : चैत्र १०, २०७८ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×