कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुटवल- नारायणगढ सडकमा सास्ती, ठेकेदारको काम निराशाजनक

रासस

काठमाडौँ — पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको शिलान्यास भएको तीन वर्ष पूरा हुँदा १३ प्रतिशत मात्र काम भएको छ  । विसं २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीबाट सडक विस्तारको शिलान्यास गरेका थिए । सडक विस्तारको काम सम्झौता भएको मितिले ४२ महिनाभित्र सम्पन्न गर्नेगरी सम्झौता गरिएको सो सडक पुनःनिर्माणको प्रगति भने निराशाजनक छ । 

बुटवल- नारायणगढ सडकमा सास्ती, ठेकेदारको काम निराशाजनक

नारायणगढ खण्डको ११४ किलोमिटर सडक सहरी क्षेत्रमा ६ लेन तथा जङ्गल एवं ग्रामीण क्षेत्रमा चार लेन र दाउन्ने खण्डमा भौगोलिक कठिनाइका कारण तीन लेनमा सडक विस्तार हुनेछ । एक सय १४ किमीमध्ये २८ किमीमा ६ लेन अर्थात् 'सर्भिस लेन' पनि सँगै हुनेछ । सडक विस्तारको ९० प्रतिशतभन्दा बढी काम सक्नुपर्ने समयमा बल्ल करीब १३ प्रतिशत सकिएको छ ।

तीन जिल्लामा पर्ने नारायणगढ–बुटवल खण्डलाई गैँडाकोट–दाउन्ने र दाउन्ने–बुटवल गरी दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको थियो । गैँडाकोट–दाउन्ने ६५ किमी सडकलाई खण्ड १ (पूर्वी खण्ड) र दाउन्ने—बुटवल ४९ किमी सडकलाई खण्ड २ (पश्चिम खण्ड)मा छुट्याएर सँगसँगै दुवैतर्फ काम भइरहेको छ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनीयरिङ कर्पोरेसनले दुवै खण्डको ठेक्का पाएर काम अगाडि बढाइरहेको छ ।

सडक विस्तार सुरु भएदेखि नै कामले गति लिन सकेको छैन । कछुवाका गतिमा अगाडि बढेको सडक विस्तारको काम सुरु भएदेखि यात्रुले सास्ती खेप्दै आइरहेका छन् । सडक विस्तारको काम भएसँगै गैँडाकोट क्षेत्रमा साना पक्की पुल (माइनर ब्रिज) निर्माणका लागि सडक डाइभर्सन गर्ने काम सुरु भएको थियो । सडक विस्तारको काम सुरु भएपछि भत्किएको बाटो मर्मतको कामसमेत ठप्प भयो ।

सडक भत्किएका ठाउँमा मर्मत नहुँदा यात्रु मात्रै नभएर स्थानीयवासीले समेत सास्ती खेप्दै आएका छन् । यस खण्डमा दैनिक सवारीसाधन चलाउने चालक तथा साना व्यवसायी बाटाको कारण दिक्क भएको स्थानीय व्यवसायी विवेक थापाले बताए । नारायणगढबाट अटोमा सामान ल्याएर मुकुन्दपुरमा व्यवसाय गर्दै आएका उनले सो सडकका कारण दैनिक आवतजावतमा निकै समस्या परेको गुनासो गरे। 'यो सडक दैनिक हिँड्नुपर्छ, सामानसहितको अटो डाइभर्सनमा बिग्रिँदा समस्या पनि हुने गरेको छ', थापाले भने 'सडकको दुरावस्थाका कारण मेरो अटोसमेत पटक पटक बिग्रिन थालेको छ ।'

गर्मी बढेको र सडकमा अत्यधिक सवारी साधन गुड्ने भएकाले ट्याङ्करबाट पानी हाल्नेबित्तिकै पानी सुकेर धुलो उड्ने गरेको छ । नवलपरासी–बर्दघाट–सुस्तापूर्वका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार निर्माण पक्षले सडकमा पानी हालेर धुलो उड्न नदिने वातावरण सिर्जना गर्नुपर्ने भए पनि कहिले धेरै पानी हालेर हिलो बनाउने त कहिले पानी नै नहालेर बुङबुङ्ती धुलो उडाउने गरेको छ । 'धुलो उड्ने स्थानमा पानी हालेर उड्न नदिने भन्ने सम्झौता भए पनि निर्माण कम्पनीले सम्झौतालाई खासै चासो नदिएको गुनासो आइरहेको छ', घिमिरेले भने 'डाइभर्सन गरिएका स्थानको धुलो बाटामा पानी नै नहाल्ने र हालेका अवस्थामा धेरै पानी हाल्दा सवारी साधन गुड्नै अप्ठ्यारो हुने गरेको समेत हामीले देखेका छौँ ।'

एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा विस्तार शुरु भएको सडक निर्माणको लागत १६ अर्ब ९९ करोड ५२ लाख छ । लागतको ८५ प्रतिशत एडिबीले ऋण उपलब्ध गराएको छ भने बाँकी थप नेपाल सरकारकै लगानी छ । दुई प्याकेजमा निर्माण भइरहेको सडकको गैँडाकोट–दाउन्ने सडकखण्डमा पर्ने ६५ किमी खण्डको लागत नौ अर्ब १३ करोड १८ लाख ९५ हजार तथा दाउन्ने–बुटवल खण्डमा पर्ने ४९ किमी खण्डको लागत सात अर्ब ८६ करोड ३४ लाख छ ।

सरकारसँग भएको सम्झौतानुसार निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसनले आगामी २०७९ साउन २२ सम्म सडक निर्माण सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ । हस्तान्तरण गरिएको एक वर्षसम्म सडक बिग्रिएमा निर्माण कम्पनीले बनाउनुपर्नेछ । त्यस्तै एक वर्षपछि थप चार वर्षसम्म सडक बिग्रिएका अवस्थामा ‘परफमेन्स बेस मेन्टिनेन्स’ (काम गरेअनुसार सम्भार करार)का आधारमा सडक निर्माण गर्नुपर्ने र सडक मर्मतको रकम ठेक्का सम्झौता भएको समयका आधारमा भुक्तानी हुनेछ ।

सडक विस्तारका क्रममा अहिले पुल निर्माण, रुख कटान, निकास निर्माण तथा सडक किनारमा माटो भर्ने काम भइरहेको नारायणगढ –बुटवल सडक योजनाका प्रमुख रमेशकुमार दिष्टीले बताए । सडकको पूर्वी खण्डमा हालसम्म ६५ करोड तीन लाख लाख मात्रै खर्च भएको जनाइएको छ । 'समयमा निर्माणको काम नसक्ने भएपछि निर्माण कम्पनीले म्याद थपको माग गरेको छ', उनले भने , 'म्याद थपका लागि सम्झौतामा भएको प्रावधानअनुसार निर्माण कम्पनीले म्याद थप गर्नुपर्ने कारणसहितको कागजात पेस गरेको छ, यसबारे हामी अध्ययन गरिरहेका छौँ ।'

चाइना स्टेट कन्स्ट्रक्सनका डेपुटी कन्ट्याक्ट म्यानेजर राजेश झाले आगामी २०२४ अगस्टसम्म म्याद थपका लागि निवेदन दिएको बताए । 'हामीले सन् २०२४ अगस्टमा काम सक्ने गरी म्याद थपको माग गरेर निवेदन दिएका छौँ”, झाले भने 'निवेदन दिइएको एक महिना बढी भयो, परामर्शदाता कम्पनीले हाम्रो निवेदन र कामको मूल्याङ्कन गर्दैछन् ।' दुई वर्ष म्याद थप भएको अवस्थामा सम्पूर्ण काम सकेर सरकारलाई हस्तान्तरण गर्ने जनाइएको छ । 'कति म्याद थप हुन्छ भन्नेबारे अहिले अध्ययन भइरहेको छ भन्ने हामीले बुझेका छौँ', झाले भने, 'बीचमा विभिन्न कारणले काममा ढिलाइ भए पनि अहिले तीव्र गतिमा काम अगाडि बढिरहेको छ ।'

चार लेनमा विस्तार हुने नारायणगढ–बुटवल सडकका दुई–दुई लेनको बीच हरियाली हुनेछ । तीन मिटरको बीच भागमा बिरुवा लगाइनेछ । हाल रहेको दुई लेनको सडक विस्तारपछि दुईतर्फ सात–सात मिटर हुनेछ । बजार क्षेत्रमा ६/६ मिटरको ‘सर्भिस लेन’ समेत निर्माण गरिने छ । बजार क्षेत्रको १७.६ किमी सडकमा अतिरिक्त सर्भिस लेन निर्माण हुनेछ । बजार क्षेत्रमा सार्वजनिक सवारी साधनले यात्रु चढाउन र ओराल्न सर्भिस लेन बनाइने योजनाले जनाएको छ । सडकको ४२.७ किमी खण्ड चार लेन तथा दाउन्ने खण्डको चार किमी सडक तीन लेनको हुनेछ । दाउन्ने खण्डको उकालामा थप एक लेन सडक निर्माण हुनेछ ।

एसियाली राजमार्गको मापदण्डमा विस्तारको काम भइरहेको नारायणगढ–बुटवल सडक खण्डमा नेपालमै पहिलो पटक वन्यजन्तु वारपार गर्न ओभर पास निर्माण गरिने दिष्टीले बताए। सो सडक खण्डमा वन्यजन्तुको अत्यधिक आवतजावत हुने क्षेत्रमा ओभर पास निर्माण गर्ने तयारी गरिएको हो । सडकखण्डको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर १ मा पर्ने होङ्सी जंक्सनमा वन्यजन्तु वारपार गर्ने गरी ओभर पास निर्माणका लागि सम्भाव्यता अध्ययनको काम भइरहेको दिष्टीले जानकारी दिए । 'यहाँ ओभर पास निर्माण भयो भने यो नेपालमै पहिलो ओभर पास हुनेछ', उनले भने 'सो क्षेत्र वन्यजन्तु हिँडडुल गर्ने महत्वपूर्ण मार्गका रूपमा रहेकाले ओभरपास निर्माण गर्न सम्भाव्यता अध्ययन भइरहेको हो ।'

नारायणगढ –बुटवल सडक योजनाको पूर्वी खण्डका आठ स्थानमा वन्यजन्तुमैत्री पुल निर्माण भइरहेको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने जङ्गल महाभारत पर्वत शृङ्खलासँग जोडिएका स्थानमा वन्यजन्तुमैत्री पुल निर्माण भइरहेको उनको भनाइ छ । यहाँ उत्तर दक्षिण हुँदै बग्ने पानीको बहाबलाई राजमार्गले काटेको छ । भूबनावटका कारण राजमार्गका विभिन्न ठाउँमा साना कल्भर्ट (सेतुमार्ग) निर्माण भएका छन् । पछिल्लो समय सहरीकरणसँगै राजमार्गका छेउमै घर बन्दा कल्भर्ट तथा राजकुलो पुरिएका कारण बर्खामा समस्या थपिएको दिष्टीले बताए ।

नारायणगढ–बुटवल सडक खण्ड विस्तारअन्तर्गत पूर्वी खण्डमा १२ ठूला पुल (मेजर ब्रिज) र साना २२ (माइनर ब्रिज) बन्ने छन् । साना पुल सबै नयाँ बन्ने गरी निर्माणको काम अगाडि बढेकामा अहिले १५ वटाको काम भइरहेको छ । 'ठूला पुलको बेसमेन्टको काम सुरु भएको छ । त्यस्तै साना पुलमध्ये सात वटा पुलको निर्माण अन्तिम चरणमा पुगेको छ', दिष्टीले भने। त्यसैगरी सडकका विभिन्न स्थानमा २१५ कल्भर्ट निर्माण हुनेछन् । अहिले १०० भन्दा बढी स्थानमा कल्भर्ट निर्माणको काम भइरहेको छ । सडक विस्तारका लागि करिब ३५ हजार रुख कटान हुने दिष्टीले बताए।

प्रकाशित : चैत्र ७, २०७८ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?