यूएईसँग श्रम बैठक तय- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

यूएईसँग श्रम बैठक तय

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच भएको श्रम सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्न उच्चस्तरीय श्रम अधिकारीहरूबीचको दोस्रो संयुक्त बैठक मार्च १५ मा आबुधावीमा हुने भएको छ ।

बैठकमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको नेतृत्वको ५ सदस्यीय टोली सहभागी हुनेछ । त्यसका लागि टोली सोमबार यूएई जाँदै छ ।

श्रम मन्त्रालयका अनुसार बैठकमा श्रममन्त्री श्रेष्ठ र श्रम सचिव एकनारायण अर्याल पर्यवेक्षक रहनेछन् । श्रम सहसचिव राजीव पोखरेलले बैठकको नेतृत्व गर्नेछन् । परराष्ट्र मन्त्रालयका तर्फबाट कन्सुलर विभागका निर्देशक प्रकाश अधिकारी र श्रम उपसचिव थानेश्वर भुसालसमेत बैठकमा सहभागी हुनेछन् ।

‘दुवै देशको समन्वयमा मात्रै श्रम सम्झौताको प्रभावकारी कार्यान्वयन हुन्छ । श्रम सम्झौता कार्यान्वयनमा देखिएका जटिलता सम्बोधन गर्न यी बैठक निकै महत्त्वपूर्ण छ,’ श्रम मन्त्रालयका सहायक प्रवक्ता भुसालले भने, ‘बैठकमा श्रम बजारमा देखिएका चुनौती, श्रम सम्झौता कार्यान्वयनलगायत विषयमा छलफल हुनेछ ।’

प्रकाशित : फाल्गुन २९, २०७८ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्

विदेश बस्ने नेपालीलाई पनि नागरिक बचतपत्र

यसअघि सम्बद्ध व्यक्ति बैंकमा उपस्थित हुनुपर्ने भएकाले विदेशमा बस्ने नेपाली सेवाबाट वञ्चित थिए
कान्तिपुर संवाददाता

काठमाडौँ — विदेशमा रहेका नेपालीले आफू रहेकै स्थानबाट पनि नागरिक बचतपत्रमा लगानी गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्रको आवेदन अनलाइन प्रणालीमार्फत पनि गर्न सकिने वयवस्था गरेपछि विदेशमा रहेका नेपालीले पनि यस्तो सुविधा पाएका हुन् ।

नयाँ व्यवस्थाअनुसार अब स्वदेश र विदेश जहाँ रहेका नेपालीले पनि अनलाइनमार्फत नागरिक बचतपत्र खरिद गर्न बाटो खुलेको छ । यसअघि आवश्यक कागजातसहित भौतिक रूपमा सम्बन्धित व्यक्ति बैंकमा उपस्थित हुनुपर्ने व्यवस्था रहेकाले विदेशमा बस्ने नेपालीले नागरिक बचतपत्र किन्नबाट वञ्चित थिए ।

अनलाइनमार्फत खरिद गर्न पाइने व्यवस्थासहित राष्ट्र बैंकले आउँदो चैत १ देखि २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्रको बिक्री सुरु गर्ने तयारी गरेको मुद्रा व्यवस्थापन विभाग प्रमुख नरेश शाक्यले जानकारी दिए । ‘यो बचतपत्र खरिद गर्न व्यक्ति नेपालभित्रै रहनुपर्ने र आवश्यक कागजात भौतिक रुपमै बुझाउनुपर्ने अवस्था अब छैन,’ उनले भने, ‘राष्ट्र बैंकको वेबसाइटमा गएर स्वदेश–विदेश जहाँ भए पनि आफूलाई पायक पर्ने समयमा फारम भरेर बचतपत्र किन्न सकिन्छ ।’ यस्तो व्यवस्थाले स्वदेशमा रहेर पनि भौतिक रुपमा उपस्थित हुन नसक्ने र विदेशमा रहेका नेपाली नागरिकले भरपुर लाभ लिन सक्ने उनको दाबी छ ।

‘नागरिक बचतपत्र २०८३ क’ नाम दिइएको उक्त बचतपत्रमा घटीमा १० हजार र बढीमा कुल निष्कासित रकमभन्दा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निशेष जाने रकम लगानी गर्न सकिने सूचनामा उल्लेख छ । नागरिकले चैत २० सम्म बचतपत्र खरिद गर्न सक्नेछन् । तोकिएको अवधिअघि नै कुल निष्कासित रकमका लागि आवेदन आए चैत २० अघि नै बन्द हुने राष्ट्र बैंकले बताएको छ । चैत ३० मा भने बचतपत्र निष्कासन गरिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र अनलाइनमार्फत खरिद गर्न सकिने व्यवस्था गर्ने घोषणा गरेको थियो । सोहीअनुसार मुद्रा व्यवस्थापन विभागले आवश्यक प्राविधिक व्यवस्था मिलाएको हो । तर बचतपत्र डिम्याट भइनसकेकाले प्रमाणपत्र लिन भने बैंकमै पुग्नुपर्नेछ । राष्ट्र बैंकले चौथो त्रैमासको सुरुमै अनलाइनमार्फत नै वैदेशिक रोजगार बचतपत्र पनि बिक्री गर्ने तालिका रहेको मुद्रा व्यवस्थापन विभाग प्रमुख शाक्यले बताए ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासदेखि सरकारले आन्तरिक ऋण उठाउन थालेको हो । यसअनुसार तेस्रो त्रैमाससम्म लक्ष्यको ४२.१ र चौथो त्रैमासमा ५५.४ प्रतिशत आन्तरिक ऋण उठाउने तालिका राष्ट्र बैंकले सार्वजनिक गरेको छ । सोही तालिकाअनुसार चैत १ देखि २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्रको बिक्री खुला गर्न लागिएको हो । चौथो त्रैमासमा पनि थप २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र बिक्री गर्ने तालिका राष्ट्र बैंकले सार्वजनिक गरिसकेको छ । चालु आर्थिक वर्षमा आन्तरिक ऋणमार्फत सरकारले कुल २ खर्ब ३९ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य तय गरेको छ । बचतपत्र परिपक्व हुने अवधि ५ वर्षको हुन्छ । यसमा वार्षिक १० प्रतिशतका दरले ब्याज पाइन्छ । ब्याजको भुक्तानी हरेक ६/६ महिनामा हुन्छ । तर प्राप्त ब्याजमा भने ५ प्रतिशत कर लाग्छ । आवश्यक परेका बेला बिक्री गर्न र बैंक तथा वित्तीय संस्थामा धितो राखेर कर्जा लिन पनि सकिन्छ । उल्लिखित कारणले केही लामो समयसम्मका लागि लगानीका क्षेत्र खोजिरहेका नेपालीहरूका लागि नागरिक बचतपत्र उपयुक्त औजार हुने दाबी राष्ट्र बैंकको छ ।

हाल बैंक तथा वित्तीय संस्थामा निक्षेपको ब्याजदर औसतमा ११ प्रतिशतभन्दा माथि छ । यस्तो अवस्थामा १० प्रतिशत ब्याजदर रहेको नागरिक बचतपत्रमा लगानीकर्ताको आकर्षणबारे प्रश्न उठेको जानकारहरू बताउँछन् । नगारिक बचतपत्र बिक्रीका लागि राष्ट्र बैंकले ३५ वटा बैंक तथा वित्तीय संस्थालाई बजार निर्माता तोकेको छ ।

प्रकाशित : फाल्गुन २९, २०७८ ०७:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×