कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खाने तेलको अनावश्यक मौज्दात र कृत्रिम मूल्यवृद्धि नगर्न वनस्पती घ्यू तेल उत्पादक संघको आग्रह

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल वनस्पति घ्यू तेल उत्पादक स‌ंघले खाने तेलको अनावश्यक मौज्दात र कृत्रिम अभाव नगर्न आग्रह गरेको छ । रुस र युक्रेनबीच जारी युद्धले चौतर्फी मूल्य बढ्न थालेपछि संघले आफ्ना सदस्य उद्योगलाई कृत्रिम अभाव नगरी आपूर्ति अवस्थालाई सुचारु राख्न र सर्वसाधरणलाई अनावश्यक मौज्दात नगर्न आग्रह गरेको हो ।

खाने तेलको अनावश्यक मौज्दात र कृत्रिम मूल्यवृद्धि नगर्न वनस्पती घ्यू तेल उत्पादक संघको आग्रह

‘खाने तेल शतप्रतिशत आयातित व्यापार हो, युद्धका कारण कच्चा प्रदार्थको मूल्य अचाक्ली बढेको छ, मूल्य नियन्त्रण बाहिर गएको छ,’ संघका अध्यक्ष सन्दिप अग्रवालले भने, ‘युद्ध सल्टिए मूल्य घट्छ । सनफ्वार तेलको विकल्पमा सोयाबिन र तोरीको तेल छ । जुन वस्तुको मूल्य बढेको छ, त्यसको विकल्पमा अर्को वस्तु उपभोग गरौं ।’

क्रुड सनफ्लावर तेल ९५ देखि शतप्रतिशत र तोरीको दाना ६० देखि ८० प्रतिशत युक्रेनबाट आयात हुन्छ । अहिले पूर्णरूपमा प्रभावित बनेको छ । बजारमा सनफ्वार तेलको अभाव देखिएको छ । यद्यपी, उद्योगीहरूले सोयाबिन र तोरीको तेल अभाव हुन नदिने बताएका छन । ‘सनफ्वार नभए सोयाबिन र तोरीको तेल कमी हुँदैन,’ अग्रवालले भने, ‘विषम परिस्थितिमा अनावश्यक मौज्दात नगरौँ । मासिक एक लिटर खपत गर्नेले एक कार्टुन नराखौँ ।’

हाल संघमा २२ वटा उद्योग आवद्ध छन् । तिनले सोयाबिन र तोरीको कच्चा पदार्थ अर्जेन्टिना, अमेरिका, क्यानेडा, अष्ट्रेलिया, यूकेबाट आयात गर्छन् । तर, दुई मुलुकबीच भइरहेको युद्धले विश्वमै प्रभाव पारेको छ । जसले गर्दा क्रुड ओयलको मूल्यमा अस्वाभाविक रूपमा करिब ४० देखी ५० प्रतिशतसम्म वृद्धि भएको विज्ञप्तीमा उल्लेख छ ।

‘दक्षिण अमेरिकामा भएको भीषण सुक्खा याम, मलेसिया र इन्डोनेशियामा भएको श्रमिकको समस्या र खराब मौसमले ४० प्रतिशत बाली बिग्रेको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘ क्रुड खाने तेलको मूल्य जनवरीमा नै ऐतिहासिक विन्दुमा पुगिसकेको थियो । मार्च २०१९ मा औसत ७ सय डलर रहेकोमा जनवरी २०२२ मा प्रतिटन १५ सय डलर पुगिसकेको थियो । रुस र यूक्रेनको युद्धले थप प्रभावित बनायो ।’

युद्धकै कारण सप्लार्यसले फेब्रुअरी, मार्चदेखि चलानी हुने सबै सनफ्लावर र तोरीको दानाहरू सौदा/चलानहरू रद्ध गरेका छन् । अन्य तेलका लागि सिपमेन्टमा विलम्व रहेको सूचना सम्बन्धित आयातकर्तालाई दिइएको छ । यी कारण आयातमा समेत प्रत्यक्ष असर परेको विज्ञप्तीमा छ । त्यसअनुसार जनवरी २०२२ मा क्रुड सोयाबिन तेल प्रतिमेट्रिक टन १ सय ५५ डलर रहेकोमा मार्चमा १८ सय ६८ डलर पुगेको छ । क्रुड सनफ्वार तेल १४ सय ५० डलरबाट बढेर २ हजार १ सय २५ डलर पुगेको छ ।

‘डिजल/पेट्रोलको मूल्यवृद्धिले साउथ अमेरिकादेखि कलकत्ता र नेपालका उद्योग परिसरसम्म हुने ढुवानी भाडामा समेत वृद्धि भएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘सहायक कच्चा पदार्थ र प्याकिङ सामग्रीमा प्रयोग हुने वस्तु तथा सामानको मूल्यसमेत बढेको छ । बैंकहररुको ब्याजदरमा भएको वृद्धिले मूल्य करिब ३ प्रतिशत बढेको छ ।’ यस्तै, विनिमय दर उच्चतम विन्दुमा पुगेकाले पनि मूल्यमा प्रत्यक्ष प्रभाव परेको जनाइएको छ ।

प्रकाशित : फाल्गुन २८, २०७८ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?