व्यापार र लगानीका अवसर विस्तार गर्न नेपाल र टर्की सहमत
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — अन्तालिया कूटनीतिक मञ्चमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हाल टर्कीको अन्तालियामा रहेका परराष्ट्रमन्त्री नारायण खड्का र गणतन्त्र टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुसँग बिहीबार द्विपक्षीय भेटवार्ता भएको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![व्यापार र लगानीका अवसर विस्तार गर्न नेपाल र टर्की सहमत](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2022/third-party/img0027-1132022121323-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
त्यस अवसरमा दुवै देशका परराष्ट्रमन्त्रीले द्विपक्षीय सम्बन्ध र आपसी सहयोगका महत्वपूर्ण पक्षहरुको समीक्षा गर्नाका साथै दुई मुलुकबीच व्यापार र लगानीका अवसरलाई थप विस्तार गर्न सहमति जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।परराष्ट्रमन्त्री खड्काले युक्रेन र रसियाका विदेशमन्त्रीलाई वार्ताको टेबुलमा ल्याउन टर्कीले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै कूटनीति र वार्ताको माध्यमबाट नै जारी द्वन्द्वलाई दिगोरुपमा समाधान गर्न सकिने विश्वास व्यक्त गरे । विदेशमन्त्री काभुसोग्लुले नेपाल र टर्कीबीच पारस्परिक लाभका क्षेत्रमा परिणाममुखी साझेदारी अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरे ।
बिहीबार नै परराष्ट्रमन्त्री खड्काले बहराइन अधिराज्यका विदेशमन्त्री अब्दुललातिफ बिन रसिद अल जायनीसँग भेटवार्ता गरे । त्यस अवसरमा उनले बहराइनमा रहेका नेपाली आप्रवासी कामदारको रक्षा गरेकामा बहराइन सरकारको सराहना गरे । उनीहरूबीच आर्थिक सहयोग विस्तार तथा जनता–जनताबीचको सम्पर्क र पर्यटन प्रवर्द्धन, विशेषगरी पर्वतारोहण क्षेत्रलगायत विषयमा विचार आदानप्रदान भएको पनि उक्त मन्त्रालयले जनाएको छ ।
त्यसअघि परराष्ट्रमन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई विभिन्न क्षेत्रका टर्कीका उद्यमीहरूको समूहले छलफलका लागि स्वागत गरेको थियो ।छलफलमा भाग लिँदै नेपाली प्रतिनिधिमण्डलले दुई देशबीचका सम्भावित व्यापारमा सहकार्यका लागि व्यवसायीहरूसँग आग्रह गरेको थियो । विशेष गरी मन्त्री खड्काले टर्कीका व्यापारी समुदायलाई नेपालमा लगानी भएको क्षेत्रमा व्यापारका अवसर पहिल्याउन उनीहरुलाई आमन्त्रण गरेका थिए ।
आजदेखि फागुन २९ गतेसम्म आयोजना हुने अन्तालिया कूटनीतिक मञ्चलाई मन्त्री खड्काले भोलि सम्बोधन गर्ने कार्यक्रम छ । मञ्चमा ५० भन्दा बढी देशका परराष्ट्रमन्त्री र नीति निर्माता तथा विज्ञहरूको सहभागितामा ‘लोकतान्त्रिक शासन र सुरक्षा’ तथा ‘दिगो क्षेत्रीय विकासको लागि नयाँ एशिया’ विषयमा हुने दुई बेग्लाबेग्लै सत्रलाई मन्त्री खड्काले सम्बोधन गर्नेछन् । मञ्चमा विद्यमान क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरू र तिनको समाधानमा केन्द्रित भएर छलफल हुनेछ ।
नेपाल र टर्कीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६०औँ वर्ष प्रवेशको सन्दर्भमा भएको परराष्ट्रमन्त्रीको यो भ्रमण द्विपक्षीय सम्बन्ध अझ प्रगाढ तुल्याउन फलदायी हुने विश्वास गरिएको छ । भ्रमणबाट द्विपक्षीय व्यापार, लगानी, पर्यटन, वैदेशिक रोजगारी तथा जनस्तरको सम्बन्ध अभिवृद्धिमा योगदान पुग्ने अपेक्षा पनि गरिएको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)